भरिँदै गाउँघर

ठाकुरसिंह थारू

बर्दिया — बाँसगढी नगरपालिकाका सुरेश सुनार दसैं मनाउन घर फर्किएका छन् । उनी एक वर्षदेखि भारतको चण्डीगढमा मजदुरी गरिरहेका थिए ।

ZenTravel

दसैंतिहार मनाएर फेरि मजदुरी गर्न उतै फर्किने सोचमा छन् । गाउँमै रोजगारी नभएकाले परदेश जाने गरेको उनले बताए । चाडपर्वका बेला प्रत्येक वर्ष गाउँ फर्किन्छन् ।

Meroghar


वर्षभरिको थकान मेटेर र साथीभाइ भेटेर उनी कर्मथलो फर्किन्छन् । गाउँका उनी जस्ता थुप्रै युवा कामका लागि मजदुरी गर्न स्वदेश तथा विदेश गएका छन् । चाडपर्वमा भने उनीहरू घर फर्किन्छन् । युवा फर्किने क्रम बढेपछि गाउँको रौनक फेरिएको छ । चहलपहल बढेको छ । ‘परिवारसँग भेट गर्न घर फर्किन्छौं । अरू बेला काम गर्छौं,’ उनले भने, ‘घर बसेर मात्र के गर्नु ? भारतमा मजदुरी गरेर परिवार पाल्नुपर्छ ।’

बढैयाताल गाउँपालिकास्थित मैनापोखरका अजय चौधरी पनि ६ महिनापछि भारतको राजधानी दिल्लीबाट फर्किए । त्यहाँको एउटा होटलमा वेटरको काम गर्दै आएका उनी खाडी मुलुक जाने प्रयासमा बिराम लागेपछि भारत पसेका थिए । गाउँमा उद्योग छैन । मजदुरीका लागि नेपालगन्ज जानुपर्छ । त्यहाँको भन्दा राम्रो कमाइ हुने भएकाले आफू भारत गएको उनको भनाइ छ । ‘तिहारसम्म कहीँ जान्नँ । साथीभाइसँग रमाउँछु । त्यसपछि सोच्नुपर्ला,’ उनले भने, ‘यतै काम पाए भारत जाने कसको रहर हुन्छ र ?’

सुरेश र अजय जस्तै भारतमा रहेका हजारौं नेपाली युवा अहिले दसैं मनाउन धमाधम गाउँ फर्किरहेका छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्लाबाहिर गएका पनि फर्किंदै छन् । धेरैजसो फूलपातीसम्म घर आइपुग्छन् ।

बसले छतमा समेत यात्रु राखी ओसारिरहेका छन् । गाउँघर गुलजार छन् । युवाहरू फर्केपछि गाउँमा सांस्कृतिक एवं खेलकुद कार्यक्रम आयोजना गरिन्छन् । मित्र मिलन र शुभकामना साटासाट गरिन्छ । चाडपर्वभन्दा अन्य समय गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै भेटिन्छन् । ‘दसैंतिहार सकिएपछि गाउँ फेरि सुनसान हुन्छ,’ बढैयाताल गाउँपालिकाका सन्तोष चौधरीले भने, ‘यहाँका युवा रोजगारी खोज्दै गाउँ छाड्न बाध्य छन् ।’

चाडपर्वका बेला सबै फर्किंदा गाउँमा खुसियाली छाउने गरेको छ । प्रदेश ५ का सबैजसो र कर्णालीका रुकुम, रोल्पा, सल्यान, जाजरकोटलगायत जिल्लाका युवा मजदुरीका लागि पारि जाने र चाडपर्वका बेला फर्किने परम्परा नै बनेको छ । अधिकांश युवा पैसा कमाउन भन्दै भारतको कालापहाड, सिम्ला, गुजरातलगायत स्थानमा जाने गरेका हुन् ।

प्रकाशित : आश्विन १६, २०७६ २०:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘त्योहार मजा बन्गिल’

ठाकुरसिंह थारू

(बर्दिया) — बिहानै चौकीदारले खबर फैलाए– सबै ज्येष्ठ नागरिक वडा कार्यालय आउनू । खबरसँगै गाउँमा खुसी फैलियो । ७७ वर्षीया पेरिया थारू लट्ठी टेक्दै वडा कार्यालय पुगिन् । तीन किलोमिटर हिँड्दा पनि उनमा थकान थिएन । सामाजिक सुरक्षा भत्ता मिल्ने खबरले ऊर्जा दिएको थियो ।

दसैंको मुखमा चार महिनाको एकमुष्ट १२ हजार रुपैयाँ बुझिन् । ‘त्योहार मजा बन्गिल (चाडपर्व राम्रो बन्यो) । अब त सामान किन्ने पैसा पनि भयो,’ बढैयाताल गाउँपालिका–५ की उनले खुसी हुँदै भनिन्, ‘नातिका लागि एक जोर कपडा किन्छु । अरू बचाएर राख्छु । औषधिलाई खाँचो पर्छ ।’ उक्त वडामा झन्डै पाँच सय ज्येष्ठ नागरिक छन् ।

सरकारले ७० वर्ष कटेकालाई मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउँछ । यसले उनीहरूलाई आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्न सहज भएको छ । सामान्य औषधि उपचारमा टेवा पुगेको छ । ‘अब पसलमा खाएको केही रकम तिर्न बाँकी छ, त्यो तिर्छु,’ पेरियाले भनिन्, ‘सरकारले दिने भत्ताले हाम्रो जीवन खुसी बनेको छ, निकै ठूलो राहत मिलेको छ ।’ उनका अनुसार केही खान मन लाग्यो भने कसैको मुख ताक्नु पर्दैन । भत्ता पाउने भएकै कारण उनीहरूलाई गाउँका पसलेले उधारो पत्याउँछन् ।

यहाँका धेरै वृद्धवृद्धाले घरको काममा छोराबुहारीलाई सघाउँदै आएका छन् । पहिलेजस्तो थोरै पैसाले दसैं मनाउन सम्भव छैन । त्यसैले पर्वका बेला भत्ताले पनि उनीहरूलाई भरथेग गर्छ । बढैया गाउँकी ८० वर्षीया पुनिया थारूसँग कुनै बेला पाँच पैसाले उपभोग्य वस्तु किनमेल गरेको अनुभव छ । ‘कुनै बेला एक रुपैयाँ अहिलेको एक लाखजस्तै थियो । एक हजार रुपैयाँमा घरखेत किन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘एक सय रुपैयाँ कमैले देख्न पाउँथे । अहिले पैसा कमजोर छ ।’ आफूले पाएको भत्तामध्ये केही दसैंमा खर्च गर्ने र बाँकी सम्हालेर राख्ने उनले बताइन् । ‘खाँचै पर्‍यो भने छोराबुहारीलाई सहयोग गर्छु,’ उनले भनिन् । गाउँपालिकाले चौमासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ । उक्त रकमले चार महिना पुर्‍याउनुपर्ने भएकाले उनीहरू जोगाएर राख्छन् । अधिकांशले औषधि–उपचारका लागि साँच्छन् । ‘भत्ता पाउन थालेपछि मन लागेको चिज किनेर खान पाइएको छ । छोराबुहारीसँग पैसा माग्नु परेको छैन,’ ७९ वर्षीया फकिया थारूले भनिन्, ‘केही पर्‍यो कि हात पसार्नुपर्थ्यो । अब सानातिना कुराका लागि कसैको टाउको दुखाउनुपरेको छैन ।’

भत्ताले ज्येष्ठ नागरिकलाई आत्मसम्मान मिलेको छ । ‘आज हो कि भोलि हाम्रो ठेगान छैन । तर यो अवस्थामा पनि परिवारलाई सहयोग गर्न पाएकामा खुसी लाग्छ,’ फकियाले भनिन्, ‘छोराछोरी पनि राम्रो मान्छन् । नातिहरू खानेकुरा पाएर दंग पर्छन् ।’ ज्येष्ठ नागरिकका व्यक्तिगत रुचि छैनन् । परिवारकै बारेमा बढी चिन्ता व्यक्त गर्छन् । परिवारले माया देओस् भन्ने चाहन्छन् । बिरामी परेका बेला अस्पताल पुर्‍याउन साथ खोज्छन् । मीठो वचन र सम्मान खोज्छन् । तर, कतिपय छोराबुहारीले भने उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँदा बढी दु:खी हुन्छन् । कतिपय छोराबुहारीले भत्ताको रकम पाउने आसले आमाबुबालाई माया गरेको पाइन्छ ।

तर, यस्ता पारिवारिक कुरा उनीहरू व्यक्त गर्न चाहँदैनन् । ‘यो समयमा हामीलाई बढी सहयोगको आवश्यकता पर्छ । उठाइदिने, नुहाइदिने, समयमै खान दिने मान्छे चाहिन्छ,’ पहाडी थारूले भने, ‘अरू हामीलाई केही चाहिन्न । छोराछोरीले माया गरिदिऊन् भन्ने आस लाग्छ ।’ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकका लागि थुप्रै अधिकार ग्यारेन्टी गरेको छ । ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुने कानुनी व्यवस्था छ । त्यस्तै अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ग्यारेन्टी गरिएको छ ।

उनीहरूको इच्छाविपरीत परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नपाइने भनिएको छ । कुनै पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न कानुनले रोक लगाएको छ । ज्येष्ठ नागरिकको अधिकार हनन गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×