कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यावारिधिपछि हिउँचितुवा विज्ञको जागिर गयो

अब्दुल्लाह मियाँ

काठमाडौँ — आफैंले विद्यावारिधि गर्न पठाएका एकजना वन्यजन्तु विशेषज्ञलाई फर्केर आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले जागिरबाट बर्खास्त गरेको छ।

विद्यावारिधिपछि हिउँचितुवा विज्ञको जागिर गयो

नर्वे सरकारको कोटामा नेपालका हिउँचितुवाको घनत्वबारे विद्यावारिधि गरेर फर्केका मधु क्षत्रीलाई कोषले असोज पहिलो साता जागिरबाट हटाएको हो ।


कोष पूर्वस्वीकृत लिएर गएको तीनवर्षे अध्ययन बिदाको अवधिमा विद्यावारिधि नसकिएपछि क्षत्रीले थप समय मागेका थिए । उक्त अवधिमा बिरामी परेपछि उनले त्यसको जानकारी कोषलाई गराएका थिए । त्यसपछि उनले कोर्स पूरा गर्न थप समय आवश्यक पर्ने भन्दै कोषलाई जानकारी गराएका थिए । तर कोषका अधिकारीहरूले तीन वर्षभन्दा बढीको बिदा स्वीकृति नभएको कारण देखाउँदै जागिरलाई निरन्तरता दिन नसक्ने जानकारी क्षत्रीलाई गराएका छन् ।


क्षत्री पूर्वस्वीकृत अवधिभन्दा ६ महिना बढी विदेशमा बसेका थिए । कोषले संस्थागत रूपमा सम्झौता गरेर नर्वेस्थित इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अपलाइड साइन्सेजमा विद्यावारिधि गर्न सन् २०१५ मा उनलाई सहमति दिएको थियो ।


यो अवधिमा उनले अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रमा हिउँचितुवाको घनत्वलाई मूल विषय बनाएर विद्यावारिधि पूरा गरे । उक्त विषयमा विद्यावारिधि गर्ने उनी पहिलो नेपाली हुन् । हिउँचितुवाबारे मात्र विद्यावारिधि गरेका सोम आले अमेरिका बसेर काम गर्छन् । क्षत्री नर्वेमा अध्ययनरत रहँदा कोषका सदस्यसचिव गोविन्द गजुरेलको ५ वर्षे कार्यकाल सकिएपछि कोष नेतृत्वविहीन थियो ।


अर्का सदस्यसचिवको नियुक्तिपछि उनको थप बिदा मिलान गरिने सहमतिअनुसार उनले नर्वेमा अध्ययनलाई निरन्तरता दिएका थिए । क्षत्रीका अनुसार कोषका अधिकारीले बिदा मिलान हुने आश्वासन दिएपछि उनी ढुक्क थिए । फर्किएपछि भने लिखित सहमति नभएकाले जागिरलाई निरन्तरता दिन नसक्ने कोषले जिकिर गरेको छ ।


क्षत्री सन् २०१८ को डिसेम्बरमा विद्यावारिधि सकेर नर्वेबाट काठमाडौं आए । काठमाडौं आएर खुमलटारस्थित कोषको कार्यालयमा फर्किंदा भने उनी चकित परे । उनलाई प्रशासनले हाजिर गर्न दिएन । ‘कार्यालयलाई जानकारी नदिई धेरै समय विदेश बसेको आरोप लगाएर मलाई हाजिर गर्नबाट रोक लगाइयो,’ उनले बुधबार कान्तिपुरसित भने, ‘अस्ति असोज १ गतेदेखि त जागिरबाटै हटाइएको जानकारी पाएको छु ।’


क्षत्रीले तोकिएको समयमा अध्ययन पूरा नभएकाले थप समय नर्वेमा बस्नुपरेको र त्यही बेलामा बिरामी परेको जानकारी कोषसमक्ष पहिले नै जानकारी गराएको बताए पनि प्रशासनले त्यसलाई अस्वीकार गर्दै आएको छ । ‘बिरामी हुँदाका सबै प्रमाण पनि बुझाएँ,’ उनले भने, ‘कार्यालयले लिखित सहमति छैन, त्यसैले हाजिर गर्न दिन सकिन्न भनेर प्रश्न उठायो ।’


कोषले स्पष्टीकरण सोध्यो, उनले त्यसको जवाफ पनि दिए । विद्यावारिधि गरिसकेपछि कोषमै आएर काम गर्नुपर्ने सम्झौताअनुसार उनी पढ्न गएका थिए । त्यही सम्झौताअनुसार नै काममा फर्किएका पनि थिए । कोषका कार्यकारी निर्देशकसमेत रहेका प्रशासन प्रमुख दीपक सिंहले क्षत्रीलाई हटाइएको बारे प्रतिक्रिया दिन मानेनन् । ‘त्यो विषयमा उहाँ (क्षत्री) लाई नै सोध्नुस्,’ उनले भने, ‘त्यसबारे म केही बोल्दिन ।’ क्षत्री भने दसैंपछि कानुनी उपचारमा जाने योजनामा छन् ।


यसअघि कोषमा कार्यरत रवीन कडरिया, पारसविक्रम सिंह र बाबुराम लामिछानेलगायतले पनि कोषकै नियमअनुसारको बिदामा बसेर विद्यावारिधि गरेका थिए । उनीहरू काममा फर्किसकेका छन् । अशोक सुवेदीले पनि हिउँचितुवामै विद्यावारिधि गरिरहेका छन् । उनले भने पढाइका लागि बिदा लिएका छन् । कोषमा करार सेवामै रहेका मोहनराज पन्तलाई भने ६ महिनाभन्दा बढी अध्ययन बिदा दिइएको थिएन । बिदा नपाएपछि उनले कोषबाट राजीनामा दिएका थिए ।


क्षत्रीले सन् २०१३ मा इन्ल्यान्ड नर्वे युनिभर्सिटी अफ अपलाइड साइन्सेजमा पढ्ने अवसर पाएका थिए । सन् २०१३ देखि सन् २०१५ सम्म उनले अन्नपूर्ण र मनास्लु क्षेत्रमा हिउँचितुवाको स्थलगत अध्ययन गरेका थिए । अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रका हिउँचितुवाको संख्याको घनत्व उनको विषय हो । विद्यावारिधि गर्नुअघि उनले लामो समय अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका हिउँचितुवा पाइने स्थानमा बसेर काम गरेका थिए ।


सरकारले पछिल्ला वर्षहरूमा हिउँचितुवाको वैज्ञानिक अध्ययनमा जोड दिइरहेको छ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रपछि अहिले निकुञ्ज विभागले शे–फोक्सुन्डो निकुञ्जका हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर जोडेर तिनको ओहोरदोहोर र आनीबानी अनुगमन गर्न लागेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?