१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दसैंले घर सम्झाउँछ 

मधु शाही

बाँके — वर्षभरी भारतमै बिताएका कालीकोटका धनबहादुर घर्तीलाई दसैं तिहारमा भने घरकै याद आउँछ । खरले छाएको झुप्रो उनका लागि दसैंमा महल जस्तै लाग्छ ।

दसैंले घर सम्झाउँछ 

वर्षभरि काम गरेर कमाएको रुपैयाँ दसैंमा मन फुकाएर खर्च गर्छन् । यतिबेला नातिनातिना, छोरा बुहारी लगायत सबै परिवारले घरै आउने इच्छा राख्छन् । उमेरले ५० नाघेका घर्ती जन्मथलो सम्झीदै बुधबार भारतबाट नेपाल फर्किए । ‘दशैंभर थकाई मेट्न आएको,’ उनी भन्छन्, ‘दुई चार दिन बसेर फेरि कालापार(भारत) आउनु छ ।’

त्यस्तै बुधबार नेपालगन्ज–रुपैडिया नाका हुँदै घर फर्किने नेपालीको घुइँचो थियो । यो लस्कर एक सातादेखि ह्वात्तै बढेको छ । मजदुरी गर्न भारत पसेका नेपाली घर सम्झेर दसैं मनाउन आउने गर्छन् ।


सल्यानका मोहनबहादुर बुढाले सिम्लामा दुई महिना बसेर टन्नै स्याउ टिप्ने काम गरे । त्यही स्याउको पेटी कसेर यतिबेला उनले दसैं खर्च भरेर ल्याएका छन् । बुधबार नेपालगन्ज–रुपैडिया(भारत) नाका हुँदै घर आउने क्रममा उनको मुहार हसिलो देखिन्थ्यो । ‘दसैं मनाउन घर सम्झेर आया हो’, उनले भने, ‘खर्च नि उतै बाट ल्यायाछु ।’

तरकारीमा हाल्ने जीरा, मरमसलादेखि शरीरमा लगाउने लुगा समेत भारतदेखि ल्याएको उनले बताए । ‘यहाँ किन्ने भनेको खसी मात्रै हो’, उनी भन्छन्, ‘त्यहि किन्ने पैसा जुटाउन भारत जानु पर्छ ।’ दुई छोरा बुहारी र पत्नी समेत भारत बस्दै आएका छन् । तर, घरमा दसैंको जमरा राख्नुपर्ने हुँदा घटस्थापनाका दिन जहान(पत्नी) आइपुगेको उनले सुनाए । ‘कमाउन भारत गएपनि दसैंले घर सम्झाउँछ ’

दैलेखका अमर सिंहले दसैंका लागि भारतबाट ओड्ने ओछ्याउनेदेखि घरयासी सामाग्री बोकेर ल्याए । नेपालमा किन्न साह्रै महंगो पर्ने हुँदा उतैबाट खरिद गरेको उनले बताए । ‘तीन महिना मजदुरी गरेर दसैं खर्च जुटाए’, उनले भने, ‘तिहारसम्म पुग्छ । फेरि भारत पस्नुपर्छ ।’ ६० वर्षे सिंह प्रत्येक वर्ष यसरी नै दसैं मनाउन आउँछन् ।

भत्किन लागेको घर लिपपोत गरेर चिटिक्क पार्छन् । बसुन्जेल रमाइलो गर्छन् । फेरि त्यस्तै घर एक्लै छाडेर भारत जान्छन् । पुर्खौली जमिन भएकाले चट्क्कै बिर्सन नसकिने उनको धारणा छ । वर्षमा जग्गा जमिन रेखदेख गरेर घर लिपपोत गरेर सुरक्षित राख्नुपनि उनको दायित्वभित्र पर्छ । उनी भन्छन्, ‘अब नातिनातिनाले के गर्छन्, थाहा छैन, आफू बाँचुन्जेल दसैंमा घरै आउने गर्याछु ।’

प्रकाशित : आश्विन १६, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?