२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निगमको ओसाका उडानमा यात्रु बढे

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंतिहार एवं पर्यटकीय मौसम सुरु भएसँगै नेपाल वायुसेवा निगमको काठमाडौं–ओसाका उडानमा यात्रु बढेका छन् । दसैंतिहार पर्ने असोज–कात्तिकमा दुईतर्फी टिकट बिक्री ‘फुल’ हुन थालेको निगमका जापान प्रतिनिधि सन्तोष पाण्डेले जानकारी दिए ।

निगमको ओसाका उडानमा यात्रु बढे

२ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा दसैंतिहार बीचमा नेपाल आउन र जापान जान टिकट खरिद गर्ने यात्रुको संख्या २ सय ३५ नाघेको छ ।


‘यो एक महिनाको अवधिको बुकिङमा प्रत्येक उडानमा कम्तीमा २ सय ३५ यात्रु नाघेको देखिन्छ,’ निगमका सहायक प्रवक्ता सुलेश मिश्रले भने, ‘ओसाकाबाट काठमाडौं फर्किने उडानमा बिजनेस श्रेणीका १८ सिट बिक्री भइसकेका छन् ।’


निगमले यात्रु संख्या बढेपछि टिकटको मूल्य पनि बढाएको छ । निगमले सुरुको एक महिना एकतर्फी भाडा ३७ हजार हाराहारी मूल्य तोकेको थियो । ‘अक्टोबरमा इकोनमी टिकट १ लाख १० हजार र बिजनेस श्रेणीको टिकटको मूल्य १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको छ,’ पाण्डेले भने ।


टिकट बिक्री बढेपछि निगमले सातामा दुइटा मात्रै गर्दै आएको उडानलाई तीन पुर्‍याइएको मिश्रको भनाइ छ । निगमले भदौ १३ देखि जापानको ओसाका उडान थालेको हो । पहिलो उडानकै क्रममा यात्रुको संख्या अत्यधिक न्यून भएपछि एउटा उडान कटौती गरेको थियो । तर असोज ७ देखि निगमले पुन: सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन दिन उडान थालेको थियो । निगमले भाइटीकाको दिन हुने उडान भने स्थगन गरेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?