फेरियो शैली, गाउँघर सुनसान

पहिले घटस्थापनादेखि नै दसैंको माहोलले छोप्थ्यो । अहिले अष्टमीपछि मात्र अलिअलि रौनक देखिन्छ । ९ दिन दुर्गा पूजा गर्ने, सेलरोटी पकाउने, टोलटोलमा पिङ हाल्ने चलन घटेको छ ।
वीरेन्द्र केसी, माधव अर्याल

(अर्घाखाँची) र (पाल्पा) — कुटानीपिसानी गर्ने मिल थिएनन् । महिना दिनअगावै धान जोहो गरेर ओखलमा कुटिन्थ्यो । सेलरोटी पकाउन चामल जाँतोमा पिसिन्थ्यो । सबैका घरमा जाँतो र ओखल थिए । ‘रातभर जाग्राम बसेर र ठकने रोटी, भट्ट, दालको बटुक, गहुँको फिनी बनाइन्थ्यो,’ मालारानी गाउँपालिका–५ की ७८ वर्षीया मनकला खड्काले भनिन्, ‘काँक्रो, गिठ्ठा, पिँडालु, झुसे करेलालगायत दसथरी अचार बनाउँथ्यौं ।’ 

खड्काका अनुसार दसैंमा दसपटक खानुपर्छ भन्थे । जुन घरमा गयो, त्यही घरमा टीका लगाएर रोटीका परिकार दिन्थे । ‘घरमा एक सोली रोटी हुन्थे,’ उनले भनिन्, ‘महिनाभर खाइन्थ्यो ।’ दिनभर गाउँ डुलेर ५० घरमा टीका थापेको उनलाई सम्झना छ । खड्काको बुझाइमा पहिलेजस्तो मानसम्मान, आदर अहिले छैन । घरबाहेक गाउँमा टीका थाप्न कोही जाँदैनन् । पहिले सामूहिक भावना थियो । अहिले एकांगी बनेका छन् ।

दसैंमा बाल्यकालदेखि खेलेका साथीसित भेटघाट र रमाइलो हुने गरेको ६५ वर्षीय दिलबहादुर खड्काले बताए । ‘गाउँमा सबैभन्दा पाका उमेरका वृद्धवृद्धाको हातको टीका लगाए वर्षदिन राम्रो हुन्छ,’ उनले भने, ‘घरघरै गएर आशीर्वाद थाप्ने चलन थियो ।’

अहिले एक सय वर्षका व्यक्ति भए पनि नातेदारबाहेक कोही टीका लगाउन नजाने उनले बताए । चाडपर्व मनाउने संस्कृतिसमेत फेरिएको छ । गरिब परिवारलाई दसैं मनाउने घिउ, चामल, गहुँ दिने परम्परा थियो । ‘अहिले धनीले फजुल खर्च गर्छन्,’ उनले भने, ‘गरिब परिवारलाई कसैले वास्ता गर्दैन ।’ फजुल खर्च गरेर ऋणको भारी बोक्ने र मदिरा खाएर होहल्ला गर्ने विकृति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे । घरमा उतिबेलाको जस्ता धेरै प्रकारका रोटीका परिकार, अचार अहिले बनाउन छाडियो । ‘दसैंका दिन मात्रै अड्कलेर रोटी पाक्छन्,’ उनले भने, ‘खानपिनको संस्कार पनि हराउँदै गयो । अहिले त सेलरोटीको सट्टा स्याउ पो दिन थाले ।’

पहिले टीका लगाएपछि पिङ खेल्ने चलन थियो । बाबियोको पिङ बाट्ने र केही ठाउँमा काठे पिङ हालिन्थ्यो । ‘गाउँभरि पिङ हुन्थे,’ स्थानीय धनमाया विकले भनिन्, ‘अहिले एउटा पनि देखिंदैन ।’ ज्येष्ठ नागरिकसँग संस्कृति, परम्परा सिक्ने नयाँ पुस्तालाई फुर्सद छैन । २२ वर्षीय श्याम घिमिरेको दसैं मनाउने तरिका अभिभावकसित मिल्दैन । बुबाआमाबाट टीका थाप्ने र ससुराली जाने योजना उनले सुनाए । अष्टमीको दिन दुर्गा पूजा गरिन्छ । सेलरोटी घरमा पाक्दैन । चिल्लो धेरै खान हुँदैन । ‘काठे पिङ थिए भन्ने मात्रै सुनें,’ उनले भने, ‘अहिले कतै छैनन् । खरको पिङ बाट्ने चलन हरायो ।’

संस्कृति लोप हुँदै जानुको मुख्य कारण गाउँमा युवा शक्ति छैन । दसैंमा दुई–चार दिन बस्न आउँछन् । ‘पुरानो संस्कार नयाँ पुस्ताले सिक्नै पाएनन्,’ बाँगीका ४५ वर्षीय टीकाराम कुँवरले भने । उनका अनुसार १६ वर्षको उमेर पुगेपछि विदेश गइहाल्छन् । श्रीमती र छोराछोरी सहर राख्छन् । सहरबाट टीकाको एक–दुई दिनअघि मात्र घरमा आउँछन् । ‘गाउँमा बुढाबुढी मात्रै भेटिन्छन्,’ उनले भने, ‘दसैं नातेदार, इष्टमित्र र साथीभाइसँग भेटघाटको अवसर पनि हो । संस्कृति र परम्परा लोप हुनु चिन्ताको विषय हो ।’

एकादशीदेखि पूर्णिमासम्म जिल्लाका दुर्गा भगवती मन्दिरमा सराय नाच हुन्थे । त्यहाँ खुब रमाइलो हुन्थ्यो । तर अहिले धेरै मन्दिरमा पूजापाठ मात्रै हुन्छ । हतियार नचाएर सराय नाच्ने युवा कम भए । नयाँ पुस्ताले सराय भनेको के हो, यो कसरी नाच्ने, कस्ता भजन गाउने र संस्कृति जगेर्ना गर्नेबारे बिर्सिसकेको कुँवरले बताए । ‘संस्कृतिसमेत विस्थापित हुन थाल्यो,’ उनले भने । जिल्लाका चर्चित अर्घा, मालारानी, राँगामारे, ठाडा, खाँचीमा यो नाच हुन्छ । अर्घा मन्दिरबाट सराय निकाली करिब तीन किमिसम्म नाचेर पुन: मन्दिरमा ल्याई विसर्जन गरिन्छ । पछिल्लो समय यो नाचतिर युवा पंक्तिको रुचि कम हुँदै गएको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए ।

गाउँघर सुनसान
पाल्पाको पूर्वखोला गाउँपालिका–४, देवीनगर गाउँका अधिकांश खेतबारी बाँझै छन् । यहाँका धेरै घरपरिवार बजारतिर सरेका छन् । गाउँकै भित्री भागबाट सडक पुगेका ठाउँमा बसोबास गर्ने धेरै भए । सडक छेउमा घर बनाउने, सानो पसल गर्ने, परिवारसहित बस्ने । कतिपय बिदेसिएका छन् । कतिपय अन्यत्रै पढाइ वा रोजगारीका कारण हिँडेका छन् । गाउँमा भएका पुराना ऐतिहासिक महत्त्व बोकेका घर पनि भत्किन थाले । उनीहरूको बारी झाडी बनेको छ । खेतमा पनि सिरु पलाएका छन् । त्यसैले होला दसैंको रौनक गाउँघरमा अझै बढ्न सकेको छैन । अधिकांश ग्रामीण बस्तीमा बूढाबूढी, केटाकेटी र महिलामात्रै छन् ।

‘गाउँका खेतबारीमा उब्जनी गराउन पनि गाह्रो छ,’ वडाध्यक्ष रिमप्रसाद श्रेष्ठले भने, ‘त्यसैले तराई र बजार रोजेर हिंड्दा गाउँ सुनसानजस्तै बनेको छ ।’ उनका अनुसार दसैंको चहलपहल बढ्न नसक्नु यो पनि कारण हो । १५ वर्षअघिसम्म विदेश जाने खासै प्रचलन थिएन । घटस्थापनादेखि नै गाउँमा बाटो खन्ने, पिङ बाट्ने, रोटे पिङ राख्ने तयारी हुन्थ्यो । अहिले गाउँमा बसेकाहरूमा पनि खासै रौनक देखिंदैन । पहिला रातो, सेतो माटोले घर टलक्क टल्किन्थ्यो । दसैंमा पूरै घर लिप्ने चलन पनि अहिले हट्दै छ । घर भत्किन लागेका छन् । ‘पहिलाजस्तो अहिले दसैं–तिहारको रौनक ग्रामीण भेगमा भेटिंदैन,’ श्रेष्ठले भने । अर्मपर्मबाट नै दाउरा काट्ने गर्थे । दसैंका लागि खसीबोकाको जोहो गर्ने गरिन्थ्यो । यहाँमात्र होइन, जिल्लाका अधिकांश ग्रामीण बस्तीको अवस्था उस्तै हो । गाउँमा दसैंको रौनक अष्टमीपछि मात्र अलिअलि देखिन्छ ।

‘अहिले चहलपहल बढ्ने भनेको अष्टमीपछि मात्रै हो,’ देवीनगरकै भुवन सिंजालीले भने, ‘पैसा कमाएपछि गाउँमा बस्न छाडेपछि चहलपहल पनि नहुने रहेछ ।’ उनका अनुसार अहिलेसम्म दसैं आएजस्तै भएको छैन । गाउँघरमा बस्ने थोरै छन् । अझ ग्रामीण भेगमा बालबालिका र बुढाबुढी बढी छन् । दसैंमा टोलटोलमा पिङ राख्ने चलन बिस्तारै हट्दै गयो । चोकचोकमा रोटे पिङ हालिथ्यो । नवरात्रमा कोटघर जाने, देवीको पूजा गर्ने, साथीभाइसँग रमाउन व्यस्त हुन पनि छाडिसकेको उनको अनुभव छ । दसैं र तिहारमा रौनक बढ्नेभन्दा घट्दै गएको जल्पाका नीरबहादुर सारूले बताए । उनका अनुसार वर्षदिनमा एकपटक चाड मनाउन आउने पनि भेटिन छाडेका छन् । नेपाल र भारतमा बस्नेहरू फर्किने गरे पनि तेस्रो मुलुक जानेहरू कमैमात्र फर्किने गरेका छन् ।

खसीबोका खरिद गर्ने, लिंगे पिङ, रोटे पिङ बनाउने, साथीभाइ जम्मा भएर रमाइलो गर्ने चलन पनि हराउन थालिसकेको उनले सुनाए । ‘वर्षदिनमा एकपटक आउने दसैं मनाउने पनि भेटिन छाडेजस्तै भएको छ,’ जल्पाकै कल्पना घर्तीले भनिन् ।

ग्रामीण भेगका घरहरू रातो र सेतो माटोले टलक्क टल्किन छाडेका छन् । कामका लागि तेस्रो मुलुक गएकाहरू पनि कम मात्र फर्किएका छन् । बजारमा पनि चलहपहल अझै बढेको छैन । ‘गाउँघरमै पसल खुले पनि व्यापार सुनसान छ,’ उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका व्यापारी शैलेन्द्र भट्टराईले भने, ‘यस वर्ष वर्षा पनि रोकिएको छैन । त्यसैले अझै बजारमा चहलपहल बढेको छैन ।’

प्रकाशित : आश्विन १६, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

‘त्योहार मजा बन्गिल’

ठाकुरसिंह थारू

(बर्दिया) — बिहानै चौकीदारले खबर फैलाए– सबै ज्येष्ठ नागरिक वडा कार्यालय आउनू । खबरसँगै गाउँमा खुसी फैलियो । ७७ वर्षीया पेरिया थारू लट्ठी टेक्दै वडा कार्यालय पुगिन् । तीन किलोमिटर हिँड्दा पनि उनमा थकान थिएन । सामाजिक सुरक्षा भत्ता मिल्ने खबरले ऊर्जा दिएको थियो ।

दसैंको मुखमा चार महिनाको एकमुष्ट १२ हजार रुपैयाँ बुझिन् । ‘त्योहार मजा बन्गिल (चाडपर्व राम्रो बन्यो) । अब त सामान किन्ने पैसा पनि भयो,’ बढैयाताल गाउँपालिका–५ की उनले खुसी हुँदै भनिन्, ‘नातिका लागि एक जोर कपडा किन्छु । अरू बचाएर राख्छु । औषधिलाई खाँचो पर्छ ।’ उक्त वडामा झन्डै पाँच सय ज्येष्ठ नागरिक छन् ।

सरकारले ७० वर्ष कटेकालाई मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउँछ । यसले उनीहरूलाई आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्न सहज भएको छ । सामान्य औषधि उपचारमा टेवा पुगेको छ । ‘अब पसलमा खाएको केही रकम तिर्न बाँकी छ, त्यो तिर्छु,’ पेरियाले भनिन्, ‘सरकारले दिने भत्ताले हाम्रो जीवन खुसी बनेको छ, निकै ठूलो राहत मिलेको छ ।’ उनका अनुसार केही खान मन लाग्यो भने कसैको मुख ताक्नु पर्दैन । भत्ता पाउने भएकै कारण उनीहरूलाई गाउँका पसलेले उधारो पत्याउँछन् ।

यहाँका धेरै वृद्धवृद्धाले घरको काममा छोराबुहारीलाई सघाउँदै आएका छन् । पहिलेजस्तो थोरै पैसाले दसैं मनाउन सम्भव छैन । त्यसैले पर्वका बेला भत्ताले पनि उनीहरूलाई भरथेग गर्छ । बढैया गाउँकी ८० वर्षीया पुनिया थारूसँग कुनै बेला पाँच पैसाले उपभोग्य वस्तु किनमेल गरेको अनुभव छ । ‘कुनै बेला एक रुपैयाँ अहिलेको एक लाखजस्तै थियो । एक हजार रुपैयाँमा घरखेत किन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘एक सय रुपैयाँ कमैले देख्न पाउँथे । अहिले पैसा कमजोर छ ।’ आफूले पाएको भत्तामध्ये केही दसैंमा खर्च गर्ने र बाँकी सम्हालेर राख्ने उनले बताइन् । ‘खाँचै पर्‍यो भने छोराबुहारीलाई सहयोग गर्छु,’ उनले भनिन् । गाउँपालिकाले चौमासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ । उक्त रकमले चार महिना पुर्‍याउनुपर्ने भएकाले उनीहरू जोगाएर राख्छन् । अधिकांशले औषधि–उपचारका लागि साँच्छन् । ‘भत्ता पाउन थालेपछि मन लागेको चिज किनेर खान पाइएको छ । छोराबुहारीसँग पैसा माग्नु परेको छैन,’ ७९ वर्षीया फकिया थारूले भनिन्, ‘केही पर्‍यो कि हात पसार्नुपर्थ्यो । अब सानातिना कुराका लागि कसैको टाउको दुखाउनुपरेको छैन ।’

भत्ताले ज्येष्ठ नागरिकलाई आत्मसम्मान मिलेको छ । ‘आज हो कि भोलि हाम्रो ठेगान छैन । तर यो अवस्थामा पनि परिवारलाई सहयोग गर्न पाएकामा खुसी लाग्छ,’ फकियाले भनिन्, ‘छोराछोरी पनि राम्रो मान्छन् । नातिहरू खानेकुरा पाएर दंग पर्छन् ।’ ज्येष्ठ नागरिकका व्यक्तिगत रुचि छैनन् । परिवारकै बारेमा बढी चिन्ता व्यक्त गर्छन् । परिवारले माया देओस् भन्ने चाहन्छन् । बिरामी परेका बेला अस्पताल पुर्‍याउन साथ खोज्छन् । मीठो वचन र सम्मान खोज्छन् । तर, कतिपय छोराबुहारीले भने उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँदा बढी दु:खी हुन्छन् । कतिपय छोराबुहारीले भत्ताको रकम पाउने आसले आमाबुबालाई माया गरेको पाइन्छ ।

तर, यस्ता पारिवारिक कुरा उनीहरू व्यक्त गर्न चाहँदैनन् । ‘यो समयमा हामीलाई बढी सहयोगको आवश्यकता पर्छ । उठाइदिने, नुहाइदिने, समयमै खान दिने मान्छे चाहिन्छ,’ पहाडी थारूले भने, ‘अरू हामीलाई केही चाहिन्न । छोराछोरीले माया गरिदिऊन् भन्ने आस लाग्छ ।’ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकका लागि थुप्रै अधिकार ग्यारेन्टी गरेको छ । ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुने कानुनी व्यवस्था छ । त्यस्तै अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ग्यारेन्टी गरिएको छ ।

उनीहरूको इच्छाविपरीत परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नपाइने भनिएको छ । कुनै पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न कानुनले रोक लगाएको छ । ज्येष्ठ नागरिकको अधिकार हनन गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्