‘त्योहार मजा बन्गिल’

ठाकुरसिंह थारू

(बर्दिया) — बिहानै चौकीदारले खबर फैलाए– सबै ज्येष्ठ नागरिक वडा कार्यालय आउनू । खबरसँगै गाउँमा खुसी फैलियो । ७७ वर्षीया पेरिया थारू लट्ठी टेक्दै वडा कार्यालय पुगिन् । तीन किलोमिटर हिँड्दा पनि उनमा थकान थिएन । सामाजिक सुरक्षा भत्ता मिल्ने खबरले ऊर्जा दिएको थियो ।

दसैंको मुखमा चार महिनाको एकमुष्ट १२ हजार रुपैयाँ बुझिन् । ‘त्योहार मजा बन्गिल (चाडपर्व राम्रो बन्यो) । अब त सामान किन्ने पैसा पनि भयो,’ बढैयाताल गाउँपालिका–५ की उनले खुसी हुँदै भनिन्, ‘नातिका लागि एक जोर कपडा किन्छु । अरू बचाएर राख्छु । औषधिलाई खाँचो पर्छ ।’ उक्त वडामा झन्डै पाँच सय ज्येष्ठ नागरिक छन् ।

सरकारले ७० वर्ष कटेकालाई मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउँछ । यसले उनीहरूलाई आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्न सहज भएको छ । सामान्य औषधि उपचारमा टेवा पुगेको छ । ‘अब पसलमा खाएको केही रकम तिर्न बाँकी छ, त्यो तिर्छु,’ पेरियाले भनिन्, ‘सरकारले दिने भत्ताले हाम्रो जीवन खुसी बनेको छ, निकै ठूलो राहत मिलेको छ ।’ उनका अनुसार केही खान मन लाग्यो भने कसैको मुख ताक्नु पर्दैन । भत्ता पाउने भएकै कारण उनीहरूलाई गाउँका पसलेले उधारो पत्याउँछन् ।

यहाँका धेरै वृद्धवृद्धाले घरको काममा छोराबुहारीलाई सघाउँदै आएका छन् । पहिलेजस्तो थोरै पैसाले दसैं मनाउन सम्भव छैन । त्यसैले पर्वका बेला भत्ताले पनि उनीहरूलाई भरथेग गर्छ । बढैया गाउँकी ८० वर्षीया पुनिया थारूसँग कुनै बेला पाँच पैसाले उपभोग्य वस्तु किनमेल गरेको अनुभव छ । ‘कुनै बेला एक रुपैयाँ अहिलेको एक लाखजस्तै थियो । एक हजार रुपैयाँमा घरखेत किन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘एक सय रुपैयाँ कमैले देख्न पाउँथे । अहिले पैसा कमजोर छ ।’ आफूले पाएको भत्तामध्ये केही दसैंमा खर्च गर्ने र बाँकी सम्हालेर राख्ने उनले बताइन् । ‘खाँचै पर्‍यो भने छोराबुहारीलाई सहयोग गर्छु,’ उनले भनिन् । गाउँपालिकाले चौमासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ । उक्त रकमले चार महिना पुर्‍याउनुपर्ने भएकाले उनीहरू जोगाएर राख्छन् । अधिकांशले औषधि–उपचारका लागि साँच्छन् । ‘भत्ता पाउन थालेपछि मन लागेको चिज किनेर खान पाइएको छ । छोराबुहारीसँग पैसा माग्नु परेको छैन,’ ७९ वर्षीया फकिया थारूले भनिन्, ‘केही पर्‍यो कि हात पसार्नुपर्थ्यो । अब सानातिना कुराका लागि कसैको टाउको दुखाउनुपरेको छैन ।’

भत्ताले ज्येष्ठ नागरिकलाई आत्मसम्मान मिलेको छ । ‘आज हो कि भोलि हाम्रो ठेगान छैन । तर यो अवस्थामा पनि परिवारलाई सहयोग गर्न पाएकामा खुसी लाग्छ,’ फकियाले भनिन्, ‘छोराछोरी पनि राम्रो मान्छन् । नातिहरू खानेकुरा पाएर दंग पर्छन् ।’ ज्येष्ठ नागरिकका व्यक्तिगत रुचि छैनन् । परिवारकै बारेमा बढी चिन्ता व्यक्त गर्छन् । परिवारले माया देओस् भन्ने चाहन्छन् । बिरामी परेका बेला अस्पताल पुर्‍याउन साथ खोज्छन् । मीठो वचन र सम्मान खोज्छन् । तर, कतिपय छोराबुहारीले भने उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँदा बढी दु:खी हुन्छन् । कतिपय छोराबुहारीले भत्ताको रकम पाउने आसले आमाबुबालाई माया गरेको पाइन्छ ।

तर, यस्ता पारिवारिक कुरा उनीहरू व्यक्त गर्न चाहँदैनन् । ‘यो समयमा हामीलाई बढी सहयोगको आवश्यकता पर्छ । उठाइदिने, नुहाइदिने, समयमै खान दिने मान्छे चाहिन्छ,’ पहाडी थारूले भने, ‘अरू हामीलाई केही चाहिन्न । छोराछोरीले माया गरिदिऊन् भन्ने आस लाग्छ ।’ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकका लागि थुप्रै अधिकार ग्यारेन्टी गरेको छ । ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुने कानुनी व्यवस्था छ । त्यस्तै अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ग्यारेन्टी गरिएको छ ।

उनीहरूको इच्छाविपरीत परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नपाइने भनिएको छ । कुनै पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न कानुनले रोक लगाएको छ । ज्येष्ठ नागरिकको अधिकार हनन गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ घरमा पर्व

कान्तिपुर संवाददाता

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–१२ का झुलेन्द्र केसीले चारवटा दसैं निकै कष्टपूर्वक मनाए । पाहुना आउँदा राख्ने ठाउँसम्म थिएन । भूकम्पले भत्काइदिएको घर बनाउन सकेका थिएनन् तर यसपालि उनी ढुक्क छन् । ठिक्क दसैंको मुखमा नयाँ घर तयार भएको छ । 

‘यसपालिको दसैं नयाँ घरमा मनाउँदै छौं,’ झुलेन्द्रले भने, ‘यसपालि पाहुना आए पनि चिन्ता छैन । चार वर्षपछि फेरि उस्तै खुसीले केटाकेटी रमाएका छन् ।’ सिनपा–९ का सुवास खड्का पनि यसपालि नयाँ घरमा दसैं मनाउने तयारीमा छन् । रंगरोगन सकिएको छ । ‘सरकारी अनुदान र आफूले ऋणपान गरेर भए पनि घर निर्माण सकियो,’ खड्काले भने, ‘अब दशैं–तिहार आउँदा पनि घर झिलिमिली पार्न पाइने भो ।’

पुनर्निर्माण गरिएका निजी निवासको संख्या थपिएसँगै यसपालि १८ हजारभन्दा बढीले नयाँ घरमा दसैं मनाउने भएका छन् । लाभग्राही सूचीमा छुटेको भन्दै पछिल्लोपटक थप १० हजार १ सय १२ वटा गुनासो दर्ता भएका छन् । तीमध्ये कति सम्बोधन हुन्छन्, टुंगो लागिसकेको छैन । यीबाहेक धेरैजसो निजी निवास पुनर्निर्माण पूरा भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । जिल्लामा कुल लाभग्राहीमध्ये हालसम्म ८४.७४ प्रतिशत निजी निवास निर्माण सम्पन्न भइसकेको छ । यहाँ २१ हजार ३ सय ६७ जना लाभग्राही सूचीमा छन् । तीमध्ये ९६.३३ प्रतिशतले पहिलो किस्ता र ९०.४४ प्रतिशतले दोस्रो किस्तासमेत लिएका छन् ।

अब प्रबलीकरणको कामले गति लिए ६ महिनादेखि एक वर्षसम्म सबै पुनर्निर्माण पूरा हुने आयोजना कार्यान्वयन एकाइले दावी गरेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्