१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

यी हुन् मुद्दाले काम रोकिएका उपत्यकाका १३ सडक

मुआब्जा विवादका कारण उपत्यकामा विस्तार गर्न लागिएका १३ वटा सडक मुद्दामा अल्झिएका छन् । मुद्दाकै कारण विस्तार र पिच दुवै काम रोकिएको छ । 
मकर श्रेष्ठ

काठमाडौँ — पछिल्लो तीन दिन खासै पानी परेन । हिलाम्मे बौद्ध–जोरपाटी सडक पनि धुलाम्मे भयो । सडकपेटीका दसैं लक्षित पसलहरू धूलोबाट जोगाउन प्लास्टिकले छोपिए । धूलोले धेरै बिरामी नै परे । तिनैमध्येका हुन् प्रहरी निरीक्षक हृदयकुमार सापकोटा ।

यी हुन् मुद्दाले काम रोकिएका उपत्यकाका १३ सडक

‘धूलोले बोल्नै नसक्ने गरी घाँटी बसेको छ,’ बौद्ध–जोरपाटी सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका उनले भने, ‘पानी पर्दा हिलोमा गाडी फसेर निकाल्नै गाह्रो हुन्छ । घाम लागेपछि धूलोले सास फेर्नै मुस्किल छ ।’ वृत्तका अरू चार ट्राफिक प्रहरीको पनि उस्तै हालत छ । ‘सबैको समस्या घाँटी दुख्ने र रुघाखोकी छ,’ सापकोटाले भने ।


चुच्चेपाटी–जोरपाटी खण्ड सबैभन्दा बढी बिग्रिएको छ । काम बेलैमा सक्न स्थानीयले दबाब नदिएका होइनन् । कहिले बाटो बन्द गरे । कहिले सडकमै धान रोपे । तर काम ४० प्रतिशत पनि भएको छैन । ०७२ असोज १३ मा ठेकेदारसँगको सम्झौताअनुसार साढे १२ किमि यो सडक ०७५ वैशाखमै बनिसक्नुपर्थ्यो । मुआब्जा र सम्पत्ति सुरक्षाको माग राखेर सानु बिसंखेसमेत ५० जना, विष्णुप्रसाद श्रेष्ठसमेत ५८, श्रीमाया श्रेष्ठसहित तीन जना र गंगादेवी श्रेष्ठ धौगोडासहित २८ जनाले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पहिला सडकको जग्गा यकिन गर्ने र थप जग्गा लिनुपर्ने भए मुआब्जा दिनुपर्ने फैसला गरेको छ ।


‘सर्वोच्चमा मुआब्जाको मुद्दा परेकाले ढिलाइ भएको हो,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन आचार्यले भने, ‘अहिले विवाद नभएको ठाउँमा मात्र काम भइरहेको छ ।’


मुआब्जा र सम्पत्ति सुरक्षाको विवाद सर्वोच्च अदालत पुगेपछि काम रोकिएको सडक यो मात्र होइन । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा पनि यस्तै मुद्दा थियो । सानु श्रेष्ठसहित ४७ जना र गोपालकृष्ण नकर्मीसमेत ३८ जनाले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले सडकको आठ/आठ मिटरभन्दा बढी जग्गा लिनुपरे मुआब्जा दिनुपर्ने फैसला गरेको छ । उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजनाले भने सडकको निर्धारित मापदण्ड भन्दै धमाधम व्यक्तिको घर भत्काएर ११–११ मिटर बढाउन खोजेका थिए । अदालतको आदेशपछि विस्तार गर्न लागिएको र पिच हुन बाँकी सडक अधुरै छ । २०७४ पुसभित्रै सक्नुपर्ने यो सडकको काम ८० प्रतिशत मात्र सकिएको छ ।

जोरपाटी–सुन्दरीजल सडकमा पनि मुद्दा परेकै कारण निर्माण रोकिएको छ । आवासको हक हनन गर्ने गरी सडक विस्तार गर्न लागिएको भन्दै गंगादेवी महर्जनसहित २८ जनाले मुद्दा हालेका छन् । सर्वोच्चले काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।


यीसहित उपत्यकामा विस्तार गरिएका १३ वटा सडकमा मुद्दा छ । ‘विस्तार गरिएका सबैजसो सडक मुआब्जा र सम्पत्ति सुरक्षाको मुद्दाले जेलिए,’ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘मुद्दाकै कारण बिस्तार र पिच दुवै काम रोकियो ।’


ललितपुरको सातदोबाटो–गोदावरी सडकमा मात्रै ६ वटा मुद्दा छन् । मायादेवी महर्जनसमेत १ सय २० जना, सुशीला सिलवालसमेत ४४ जना, शत्रुधन श्रेष्ठसमेत ३४ जना, शारदा पोखरेलसहित ३७, रामकृष्ण महर्जनसमेत २५, जोगबहादुर महर्जनसहित ४७ र कृष्णबहादुर शाहीसहित ७१ जनाले दायर गरेको निवेदनमा सर्वोच्चले काम रोक्न अन्तरिम आदेश दिएको छ । ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले तिलेश्वर हुँदै सरस्वती कुण्डसम्मको १३ किमिमा पनि मुद्दाकै कारण काम अघि बढ्न सकेको छैन । सडक २० मिटर चौडा बनाउन लागिएकामा १७ दशमलव २० मिटर मात्र हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । नगरपालिकाले पनि स्थानीयको मागअनुसार विस्तार गर्न सडक कार्यालयलाई पत्राचार गरेको छ । ‘कुन सडकमा मुद्दा परेको छ भन्दा पनि कुनमा छैन भनेर खोज्दा सहज हुन्छ,’ आयोजनाप्रमुख आचार्यले भने, ‘अदालतले जग्गाको समेत मुआब्जा दिनुपर्ने आदेश गरेपछि काम अघि बढाउनै सकिएको छैन ।’


बढी जग्गा लिनुपरे मुआब्जा : सर्वोच्च

कलंकी–नागढुंगा सडकको बीचबाट दायाँबायाँ ११/११ मिटर विस्तार गर्न लागिएको हो । सर्वोच्चले आठ/आठ मिटर सडक फराकिलो बनाउन मुआब्जा दिनु नपर्ने र थप तीन/तीन मिटर लिएमा भने जग्गाको समेत मुआब्जा दिनुपर्ने फैसला गरेको छ । यो फैसलापछि अन्य सडक विस्तार गर्दा पनि जग्गाको मुआब्जा माग गरेर सडक निर्माणमा अवरोध हुन थालेको आयोजनाले जनाएको छ ।


काठमाडौं र ललितपुरमा जस्तै भक्तपुरको सडकमा पनि काम ठप्प छ । अरनिको राजमार्गको वैकल्पिक मार्ग पेप्सीकोला–सल्लाघारीसम्मको साढे चार किलोमिटर सडक २०७४ असार ३० मा निर्माण भइसक्नुपर्नेमा थिमिको बाहखा बजारमा परम्परागत बस्तीका घर भत्काउन नहुने भन्दै स्थानीय बासिन्दाले सर्वोच्चमा रिट हालेका थिए । अदालतको आदेशपछि यो सडकको काम पनि रोकिएको आयोजनाले जनाएको छ । सडक विस्तार रोकिएपछि निकोसेरामा टोलभरिको ढल सडकको खाडलमा जम्ने गरेको छ ।


निर्णय कार्यान्वयनमा ढिलाइ

मन्त्रिपरिषद्ले एक वर्षअघि कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडक खण्ड विस्तारमा मुआब्जा दिनु नपर्ने गरी काम सक्न निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । मन्त्रिपरिषद्को २०७५ साउन १० को निर्णयमा भनिएको छ, ‘हाललाई उपलब्ध चौडाइमा कालोपत्रे सडक निर्माण गरी ठेक्का फरफारक गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।’


चाबहिल–जोरपाटी–साँखु साढे १२ किलोमिटर सडकखण्ड ५ टुक्रा बनाएर ठेक्का लगाइएको छ । यसमध्ये लामा/समान्तर निर्माणले पाएको एक किलोमिटर र बज्रगुरु/बिरुवा/खानी जेभीले पाएको साढे दुई किलोमिटरको काम ४० प्रतिशत मात्रै सकिएको छ । अन्य तीन खण्डको काम पनि ६५ प्रतिशतभन्दा बढी भएको छैन । त्रिपुरेश्वर–नागढुंगासम्मको साढे १२ किलोमिटर सडकलाई पनि चार टुक्रा बनाएर ठेक्का दिइएको छ । यसको काम भने ७० देखि ८५ प्रतिशतसम्म पूरा भएको आयोजनाले जनाएको छ ।


मुद्दा परेर काम रोकिएका सडक


त्रिपुरेश्वर–कलंकी–नागढुंगा

चाबहिल–जोरपाटी–वाग्मती–साँखु

ढोलाहिटी–सुनाकोठी–चापागाउँ हुँदै सरस्वती कुण्ड

कर्मनासा खोला–हरिसिद्धि–गोदावरी कुण्ड

जोरपाटी–सुन्दरीजल

नक्खुखोला–भैंसेपाटी–बुङ्मती

पेप्सीकोला–सल्लाघारी

बाहखा बजार–बोडे

मनोहरा करिडोर

१० देवीनगर–मैतीदेवी जोड्ने पुल

११ ठमेल–गल्कोपाखा चक्रपथ

१२ गोंगबुबाट टोखा

१३ सीतापाइला–भीमढुंगा


प्रकाशित : आश्विन १६, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?