कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सडक नै आँगन

मधु शाही

बाँके — काँक्राको चिराजस्तै सर्लक्क परेको एघार हात जग्गामा छाप्रो छ। त्यही छाप्रो छोएर चिल्ला गाडी गुड्छन् । सडक निर्माण भएपछि धूलो उड्न छोड्यो तर जमिन खोसियो ।

सडक नै आँगन

नेपालगन्ज १४ की सम्धुरा कोरीको घरको ढोकै फुटपाथसँग जोडिएको छ । त्यसमुनि नाला छ। फुटपाथ होस् या नाला, ३५ वर्षीय कोरीका लागि भने त्यो आँगनसरह छ ।


बच्चा फुटपाथमै खेल्छन् । ‘बच्चे लोग नहीं मानतें,’उनले आफ्नै लबजमा भनिन्, गाडी से डर लगता है।’ उपमहानगरको भित्री बस्तीमा सडक बनेपछि अलि व्यवस्थित भएका छन् । यहाँ थोरै जमिन हुनेका लागि भने सडकै आँगन बनेका हुन् । उनीहरू घरका आधा काम सडक पेटीमै गर्छन् । थोरै जमिन भएको हुँदा बाध्यताले सडक पेटी प्रयोग गर्नुपरेको उनीहरूको तर्क छ ।


सडकमै खटिया ओछ्याएर सुत्ने, अन्न सुकाउने, भाँडा माझ्ने र यहाँसम्म कि नुहाउने सबै यही गरिन्छ । नेपालगन्ज १४ बस्ने ६० वर्षीया रब्बुल राईको घर नालासँगै जोडिएको छ । बिहान उठ्नेबित्तिकै पाइला टेक्ने भनेकै मूल सडकमै हो । छाप्रोभित्र छोरा–बुहारी सुत्छन् । उनी सडक पेटीमै ओछ्यान लगाउँछिन् । १० हातमा बनेको छाप्रोमा उनको ८ जनाको परिवार अट्दैन । पानी नपर्दा उनीहरू सडकमै सुत्छन् । ‘हामीलाई पानी नपरेकै जाति,’ वडा ७ की मीना बर्माले भनिन्, ‘घरभित्र सुत्ने थलो पुग्दैन ।’


रेहमान अन्सारीको दैनिकी मात्रै होइन, व्यवसायसमेत सकडमै छ । मासु व्यवसाय गर्ने उनले सडकपेटी मिचेरै ठेला राखेका छन् । घरसँगै जोडिएको फुटपाथ बाहेक उनको एक धुर जमिन छैन । जीविकोपार्जन गर्ने आधार नभएपछि उनले फुटपाथमै पसल खोल्न बाध्य भएको बताए। सडक पिच भएपछि धूलोधूवा खानु परेको छैन । तर, जमिन काटिंदा सडकमै व्यवसाय गर्न बाध्य भएको उनले सुनाए ।


दसैं लागेपछि खसीको व्यापारमा जोड दिएका अहमान महम्मदले सडकमै बजार लगाएका छन् । दैनिक ३/४ खसी बेच्न उनी सडकमै राख्छन् । त्यहाँ घाँस खुवाउनेदेखि बाँधेर राख्नेसमेतको काम हुन्छ । नेपालगन्ज १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रका अनुसार गाउँका भित्री भागमा सडक पुगे पनि त्यसको प्रयोग कसरी गर्ने भन्ने जनताले बुझेका छैनन् । सडकलाई व्यक्तिगत सम्पत्तिसरह उपयोग गर्दै आएको उनले सुनाए ।


सडक व्यवस्थित राख्न धेरैपटक गाउँघरमा पुगेको समेत उनले बताए । तर, यस्तो बेला ‘अर्कोपटक भोट दिंदैनौं, प्रधानले धेरै नियम लगाए’ भन्दै जनगुनासो आउन थालेको उनले सुनाए । ‘गाउँले जनतालाई बुझाउनै गाह्रो छ,’ उनले भने, ‘सडक निजी सम्पत्तिसरह बनाएर गोठसमेत राखेको पाएँ। खाली गर्नुभन्दा अर्कोपटक भोट दिन्नौं भन्दै धम्की दिए ।’


सडकलाई आँगन बनाउँदा एकातिर पैदल हिंड्डुल गर्ने यात्रुको अधिकार खोसिएको छ भने अर्कोतर्फ प्रयोगकर्ता आफैं दुर्घटनाको सिकार हुनुपर्ने अवस्था आएको उनले बताए। ‘जनचेतना फैलाएर सेचत बनाउने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘हेरौं कत्तिको सफल हुन्छौं !’

प्रकाशित : आश्विन १५, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?