२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम

सुदीप कैनी

काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र (२०७७) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ ।

जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम

राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो । विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ । कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य र कक्षा १२ मा नेपाली, अंग्रेजी सहित जीवनउपयोगी शिक्षा अनिवार्य विषय रहने केन्द्रले जनाएको छ ।


अनिवार्य बाहेक दुवै कक्षामा विद्यार्थीले थप ३ ऐच्छिक विषय अध्ययन गर्न पाउने छन् । ऐच्छिक विषयहरु विद्यार्थीले आफूले रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

‘अहिलेको जस्तो संकाय हुँदैन, विद्यार्थीले उच्चशिक्षामा कुन क्षेत्र रोज्ने त्यही अनुसार विषय छानेर पढ्न पाउँछन्,’ उनले भने, ‘उदाहरणका लागि विज्ञान ऐच्छिक रोज्ने विद्यार्थीले अन्य क्षेत्रको जुन कुनै विषय पनि रोज्न सक्छ, सबै ऐच्छिक विषय विज्ञान नै पढ्छु भनेपनि पाउँछ ।’


नयाँ पाठ्यक्रम प्रारुपअनुसार केन्द्रले ७० वटा विषयको पाठ्यक्रम निर्माण गर्ने काम गरिरहेको छ । चालुवर्षभित्र पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छपाएर आउँदो वर्षको शैक्षित्रसत्र देखि कार्यान्वयनमा जान लागिएको हो । यहि वर्ष केहि विद्यालयमा नयाँ पाठ्यक्रम नमुना परीक्षण गर्ने योजना भएपनि परीक्षामा हुने समस्याले केन्द्रपछि हटेको हो ।

कक्षा ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रियस्तरको परीक्षा सञ्चालन गर्छ । केहि विद्यालयमा मात्र नयाँ पाठ्यक्रम परीक्षणका रुपमा लागू गर्दा परीक्षामा प्रश्नपत्र बनाउने लगायत काममा झन्झट हुने भट्टराईले जनाए ।


उनले भने, ‘२०७७ सालदेखि देशभर नयाँ पाठ्यक्रम पनि लागू गर्ने र विद्यालयहरुमा केही पाठ र एकाइहरुको नमुना परीक्षण पनि गर्दै जाने तयारी गरिएको छ ।’ त्यसका लागि पाठ्यक्रमले पूर्णता पाएका विषयहरुको किताब लेखाउने काम भइरहेको छ । परीक्षण र लागू एकैसाथ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।


विद्यालय शिक्षा पूरा गर्दा विद्यार्थीलाई कुनै न कुनै उपयोगी सिप सिकाउने उद्देश्यले जीवनउपयोगी शिक्षा लागू गर्न लागिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । पाठ्यक्रमको मस्यौदा मा कक्षा ९ देखि नै जीवनउपयोगी शिक्षा अनिवार्य गर्दै कक्षा ११ र १२ मा ७ वटा विषय राखिएको थियो । हालसम्म विद्यार्थीले ५ विषय मात्र अध्ययन गर्दै आएका छन् ।

७ विषय पठनपाठनको प्रावधानको विरोध हुन थालेपछि कक्षा ११ बाट जीवनउपयोगी शिक्षा हटाएर ६ विषय मात्र कायम गरिएको हो । जीवनमा उपयोगी हुने सिप सिकाउन उक्त विषय समावेश गरिएको भट्टराईले दाबी गरे । विद्यार्थीलाई सिप सिकाउने गरी पाठ्यक्रम निर्माण गरिने उनले जनाए ।


शिक्षाविद् विनय कुसियतले भने अनिवार्य विषयका रुपमा जीवनउपयोगी शिक्षा समावेश गर्ने कुरामा असन्तुष्टि जनाए । ‘सबै विषय कामकाजमा उपयोगी हुनुपर्छ, जीवनउपयोगी विषय राखेर मात्र विद्यार्थीले सिप सिक्छन भन्ने छैन,’ उनले भने । छुट्टै विषयका रुपमा राख्दा कार्यन्वयनमा चुनौतिपूर्ण हुने कुसियतको तर्क छ ।

‘विद्यार्थीलाई अन्य विषय पठनपाठन गराउँदा पनि सिपसँग जोड्न सकिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘तयारी बिनै नयाँ विषय लागू गर्दा समस्या आउन सक्छ ।’ जीवनउपयोगी शिक्षा प्रयोगात्मक परीक्षामा नम्बर दिने विषय मात्र हुनसक्नेमा उनले आंशका गरे । विद्यालय तहमै अनिवार्य र ऐच्छिक विषयको संख्या बराबर राखेकोमा समेत उनले आपत्ति जनाए । ‘विद्यालय तहमै विद्यार्थीलाई धेरै विषय छान्न दिएर विशिष्टिकृत गर्दा विद्यालय शिक्षाको मर्म नै मर्न सक्छ,’ उनले भने ।


कक्षा १–१२ लाई विद्यालय तहमा समाहित गरेपछि सरकारले राष्ट्रिय पाठ्यक्रम पारुप तयार पारेको थियो । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम चालू शैक्षिकसत्र देखि मूलूकभरका एक सय ३ विद्यालयमा नमुना परीक्षण भइरहेको छ ।


२०७७ वैशाखदेखि कक्षा १ मा नयाँ पाठ्यक्रम पूर्ण रुपमा कार्यान्वयन गरिने उनले बताए । कक्षा १ को पुस्तक छपाइ सकिसकेको छ । कक्षा ४ देखि ८ र कक्षा ९–१० को पाठ्यक्रम पनि स्वीकृत पारुपअनुसार परिमार्जनको काम भइरहेको केन्द्रले जनाएको छ ।

कक्षा ९ देखि नै विद्यार्थीले प्राकृतिक चिकित्सा, योग र आयुर्वेद विषयमा पठन पाउने प्रबन्ध गरिएको छ । यी विषयको पनि पाठ्यक्रम स्वीकृत भइसकेको हो । देशको बारेमा अधिकतम जानकारी दिने उद्देश्यले नयाँ पाठ्यक्रममा सामाजिक अध्ययनलाई पनि जोड दिइएको छ ।

प्रकाशित : आश्विन १५, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?