१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पढाइदिने लोभमा छोराछोरी बालगृहमा

छपाल लामा

(हुम्ला) — सर्केगाड गाउँपालिका–२, रिपगाउँकी ललिता बडुवालले छोरीलाई काठमाडौंको बोर्डिङ स्कुलमा पढाइदिने प्रस्ताव नकार्न सकिनन् । उनले ३० हजार रुपैयाँ ऋण काढेर गाउँमै बच्चा लिन आएको व्यक्तिसँग एक वर्षअघि छोरीलाई सुम्पिइन् । 

‘मान्यताप्राप्त बालगृहमा राखेर पढाउने भनेपछि पठाएकी हुँ,’ उनले भनिन्, ‘काठमाडौं लगेर कहाँ राखे, के गरे भन्ने त हामीलाई के थाहा ?’ हुम्लामा उनीजस्ता केही अभिभावकले यसरी नै आफ्ना बालबच्चालाई जानीजानी बालगृहमा पठाउने गरेका छन् । उनीहरू आफ्ना सन्तानले राम्रो शिक्षादीक्षा पाउने र पालनपोषण हुने प्रलोभनमा फस्छन् । बालगृहमा लगिएका बालबालिकाले दुःख पाएर उद्धार गरिएपछि यस्तो रहस्य खुलेको हो । यही साता उद्धार गरेर ल्याइएका १० मध्ये एक बालक मात्र अनाथ भेटिएका छन् ।


अन्य बालबालिकाका बुबाआमा छन् । रिपगाउँकै कुगा फडेराले ५० हजार रुपैयाँसहित छोरीलाई दलालको जिम्मा लगाए । उनले छोरीलाई राम्रोसँग पढाइदिने प्रलोभन दिएपछि बुवा–आमा नभएको कागज बनाई जिम्मा लगाएको बताए । ‘बालगृह त नर्कजस्तो रहेछ, छोरीले धेरै दुःख पाएको थाहा पाएपछि अहिले मन भक्कानिन्छ,’ उनले भने, ‘बरु गाउँमै ठीक, अरूको कुरा सुनेर बाहिर पठाउनु गलत रहेछ ।’ उनका अनुसार दलालले एकपटक दिएपछि फेरि दिनुनपर्ने भन्दै पैसा असुल्ने गरेका छन् ।


पछिल्लोचोटि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित सौडल महिला समाजको बालगृहबाट बालबालिकाको उद्धार गरिएको हो । उनीहरूलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने भनेर लगिएको हुम्लास्थित हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए । ‘आफ्ना बालबालिकालाई जहाज चढाएर काठमाडौं पठाउँदा अभिभावकले इज्जत बढेको ठान्ने प्रचलन छ,’ उनले भने, ‘यसले गर्दा पनि बालबालिका अवैध रूपमा बालगृह पुग्ने गरेका छन् ।’ अभिभावकलाई झूटो प्रलोभन दिई बालबालिका बालगृहमा पठाउने सर्केगाड–२ की कल्पना बुढा प्रहरी हिरासतमा रहेको उनले बताए । अभिभावकले बालबालिकालाई प्रक्रिया नपुर्‍याएरै वा किर्ते कागजात तयार गरी पठाउने गर्छन् । सर्केगाड–२ का वडाध्यक्ष बलवीर थापाले गाउँपालिकाबाट कुनै पनि सिफारिस नगरिएको बताए । ‘अभिभावकलाई फकाइफुलाइ गरेर कसले कहाँबाट कसरी लैजान्छन् भन्ने कुरा हामीलाई थाहै हुँदैन,’ उनले भने, ‘अभिभावकले समेत सहयोग गर्दा बर्सेनि हुम्लाबाट बालबालिका अवैध रूपमा बालगृहमा गइरहेका छन् ।’


असारयता तीन महिनामा हुम्लाका ४० बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ । यसले पनि बालगृह लगिने बालबालिकाको संख्या कति धेरै छ भन्ने स्पष्ट हुन्छ । हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले अभिभावक प्रलोभनमा पर्दा बालबालिकाको अवैध ओसारपसार चुनौतीपूर्ण बन्दै गएको बताइन् । ‘अब त अभिभावकलाई नै कारबाही गर्नुपर्ने अवस्था आइसक्यो,’ उनले भनिन्, ‘उनीहरूकै कारण बालबालिका जोखिममा पर्ने क्रम बढेको छ ।’ पुनर्मिलनपछि अभिभावकले यसरी बालबालिका पठाउनु गलत भएको भन्दै पश्चाताप व्यक्त गरेका छन् । उनीहरूले आधा पेट खुवाएरै भए पनि गाउँमै पढाउने प्रतिबद्धता व्यक्त गरे । छोरीसँग पुनर्मिलन भएपछि सर्केगाडकी दीप फडेराले आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने बताइन् ।


छोरीलाई बालगृहमा पठाएका सोही गाउँका गगन थापाले राम्रोसँग पढाइदिने भनेपछि खुसीसाथ पठाएको बताए । बालगृहमा छोरीमाथि श्रमशोषण र यौन दुर्व्यवहार भएको सुनेपछि उद्धारका लागि आग्रह गरेको उनको भनाइ छ । ‘कुनै पनि अभिभावकलाई छोराछोरीलाई बोझ ठानेर बालगृहमा नपठाउन आग्रह गर्दछु,’ उनले भने, ‘बरु सुख–दुःख गरेर आफ्नै गाउँघरमा पढाऔं, पालनपोषण गरौं ।’

प्रकाशित : आश्विन १५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?