१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कथा लापरबाहीको

शल्यक्रियाबाट जन्मेका १५ महिने रिहान पहिले २१ र पछि ६७ दिन अस्पतालमा रहे । पाँचपटक टाउकाको शल्यक्रिया भयो । उनको टाउको अस्वाभाविक रुपमा ठूलो हुँदै जानु र ज्यान प्रतिक्रियाविहीन बन्नु अस्पतालको लापरबाहीको पराकाष्ठा हो तर चिकित्सक दोष स्वीकार्न तयार छैनन् । अभिभावक, अस्पताल र मेडिकल काउन्सिलबीच दाबी–विरोध र प्रस्टीकरणका सिलसिला चलिरहे पनि उत्तर नभेटिएको प्रश्न हो, अब उनको के हुन्छ ?

काठमाडौँ — लैनचौरस्थित बेलायती राजदूतावासको ठीक पछाडि पर्ने कपुरधाराको एक घरको तेस्रो तलामा एउटा बालक झ्यालतर्फ कोल्टे फर्किएर लडिरहेका छन् । अस्वाभाविक रूपमा ठूलो टाउको । जीउ सुकेको छ । हात, गोडा सग्ला छन्, तर तिनमा चलमलाउने ऊर्जा सञ्चार नभएको धेरै भइसक्यो भनेर ठम्याउन गाह्रो पर्दैन । टाउको ठूलो भएकैले तन्किएर आँखा चिम्सा भएका छन् ।

कथा लापरबाहीको

ती आँखाले एकटकसँग झ्याल बाहिर नियालिरहन्छन् । आवाजका प्रतिक्रिया नदिने भएकाले कानको पनि श्रवण शक्ति छ–छैन भन्ने अनुमान गर्न गाह्रो छ ।


कोठाभित्र ग्वारग्वार्ती मान्छे प्रवेश गर्दा पनि उनलाई कुनै चासो छैन । आफ्नै शून्यतामा डुबेका छन् । घर ल्याइएयताका पाँच महिनायता उनको दिनचर्या भनेकै बिउँझिनु, खानु र फेरि निदाउनु मात्रै हो ।


यो अवस्थामा पुग्नुमा भने उनको दोष छैन, न अभिभावकहरूकै दोष छ । दोष छ त केवल उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको, अस्पतालको र सायद आफ्नै भाग्यको ।


...


२०७५ असार १२ मंगलबार । एकताले ती बालकलाई जन्म दिइन् । गर्भ रहेदेखि नै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा देखाएका एकता र सञ्जीवले बच्चाको जन्म पनि सुविधा सम्पन्न अस्पतालमा नै गराउने निधो गरेका थिए । उनीहरूको एटेन्डिङ कन्सल्टेन्ट थिइन् डा. आभा श्रेष्ठ शाक्य । उनकै निर्देशनमा निरन्तरको फलोअप र जाँचपछि ३६ हप्ता १ दिनको दिन उनले २.८५ केजी तौल भएको बालकलाई जन्म दिएकी थिइन् ।


१५ महिनाको हुँदासम्म त्यो अबोध बालकको पहिचान भनेको ‘बी/ओ (बेबी अफ) एकता अधिकारी’ हो । तर, उनलाई बुवा सञ्जीव न्यौपाने र आमा एकता घिमिरेले दिएको नाम भने ‘रिहान’ हो । ‘रिहान’ को अर्थ ‘दुश्मनहरूलाई परास्त गर्न सक्षम’ हुन्छ ।


त्यो नाम र नामवाहकको अवस्था भने ठीकविपरीत देखिन्छ । तर, त्यो देखिने सत्य मात्रै हो, पूर्ण सत्य भने होइन ।


पूर्ण सत्य त के हो भने, पाँच पटक मस्तिष्कको शल्यक्रिया गरेपश्चात् पनि ऊ जीवित छ । अस्पतालजन्य गम्भीर संक्रमणलाई पनि पराजित गरेर जीवनका लागि संघर्ष गरिरहेको छ । चिकित्सकहरूको लापरबाहीका कारण पाएको पारासिटामोलको ओभरडोज पनि पचाएर सास फेरिरहेको छ । १०ः२५ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएसँगै रिहानको जीवन संघर्ष सुरु भएको थियो । जन्मिएको केही समयमा नै श्वासप्रश्वासमा समस्या देखिएकाले एनआईसीयूमा राखियो । सुधार नदेखिएपछि मेकानिकल भेन्टिलेटरमै सारियो । जन्मजात निमोनियाँको संक्रमण लिएर जन्मिएका थिए रिहान । तर, भेन्टिलेटरमा राखेसँगै उसको जीवनको महादशा सुरु भयो ।


उनलाई ‘क्लेबसियला’ नामक ब्याक्टेरियाका कारण गम्भीर प्रकृतिको संक्रमण भयो । संक्रमण यति गम्भीर सावित भयो कि जीवन अन्धकार र शून्यतातर्फ धकेलियो ।


...


गर्भ रहेको ३६ हप्ता १ दिनको दिन छोरा जन्मिँदा न्यौपाने दम्पती निकै खुसी थिए । छोरालाई एनआईसीयूमा लगेर भेन्टिलेटरमै राख्दा पनि छिटै स्वस्थ लिएर घर फिर्ने आशा थियो ।

स्वस्थ छोरा चाहने भएकैले उनीहरूले मुलुकमा कहलिएको र राम्रो दाबी गरिएमध्येको ग्रान्डी अस्पतालमा बच्चा जन्माउने निर्णय गरेका थिए । उक्त अस्पतालको सुविधा र त्यहाँ रहेका विज्ञहरू बीच नवजात शिशुमा देखिएको स्वास्थ्य समस्या ठूलो होइन भन्ने उनीहरूको ठम्याइ थियो ।


जब एकपछि अर्को गर्दै अबोध शिशुमा गम्भीर समस्याहरू थपिन थालेपछि भने उनीहरूको हतासा बढ्न थाल्यो । उनीहरू हार मान्ने पक्षमा भने थिएनन् । अस्पतालको बसाइँ लम्बिँदै गएसँगै धेरै पैसा खर्च भयो । ‘म त अप्रेसन गरेपछि तीन दिनमै डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगें । तर, छोरा नलिई के घर आउनु भनी डाक्टरलाई आइतबारसम्म डिस्चार्ज नगरिदिन आग्रह गरेर अस्पताल मै बसेँ,’ बोत्तलबाट एक औंस दूध रिहानलाई खुवाउने कोसिस गर्दै एकताले भनिन् ।


हिन्दुहरूको संस्कारमा शिशु जन्मिएको छैटौं दिनको निकै ठूलो महत्त्व छ । साँझ दियो बालेर कलम र कापी शिशुको सिरानमा राखिदिने चलन छ । रिहानको छैठीको दिन आमा एकता त अस्पतालबाट डिस्चार्ज भइन् तर उनको अस्पताल बसाइँ भने लम्बिएको थियो । ‘भेन्टिलेटरबाट निकालेपछि सायद चाँडै छोरा दिन्छ होला भन्ने मलाई आशा लागेको थियो,’ छेउमै बसेका सञ्जीवले भने, ‘केको छोरा दिनु, अर्को कम्प्लिकेसन थपिएको जानकारी पो दिए ।’


केही दिन भेन्टिलेटरमा राखिएको रिहानमा क्लेबसियला ब्याक्टेरियाका कारण हुने अस्पतालजन्य संक्रमण देखियो । यो सूचना सुरुमा सञ्जीवलाई मात्रै दिइयो । अप्रेसनबाट तंग्रिँदै गरेकी एकता र परिवारका अरूले थाहा पाए तनाव बढ्ने भन्दै उनले चिकित्सकहरूले यो कुरा अरूलाई नभन्न आग्रह गरे । अहिले रिहानको जे अवस्था छ त्यसको मुख्य दोषी त्यही क्लेबसियाला ब्याक्टेरियाको संक्रमणबाट नै सुरु भएको हो ।


उक्त संक्रमण नियन्त्रण गर्न रिहानलाई अर्को १४ दिनसम्म विशेष प्रकारको एन्टिबायोटिक दिनुपर्ने हुन्थ्यो । त्यसका लागि उसलाई एनआईसीयूबाट निकाल्न मिल्दैनथ्यो । सञ्जीव र एकता आफ्नो नाबालक छोरालाई चिकित्सक र नर्सको जिम्मा लगाएर घर फर्कन बाध्य भए ।


हरेक बिहान पुगेर छोराको अवस्था सोधखोज गर्ने, दिनभर अस्पतालमै बिताउने र राति घर फिर्ने उनीहरूको दैनिकी बन्यो । ११ औं दिन अस्पतालमै रिहानको न्वारन गरियो । जन्मिएको २१ औं दिन बिताएर अनगिन्ती परीक्षण र थरीथरीका औषधि खाएपछि बल्ल उनलाई डिस्चार्ज दिइयो । बाहिर विश्वकप फुटबलको फाइनलको रौनक थियो । त्यसै दिन छोरालाई घर भित्र्याउन पाउँदा सञ्जीव र एकता दुवै निकै हर्षित थिए ।


पहिलो सन्तान, त्यसमा पनि लामो अस्पताल बसाइँपछि बल्ल घर आइपुगेको । दुई दिन राम्रैसँग बित्यो । तेस्रो दिन रिहानलाई ज्वरो आयो । एकता र सञ्जीव अतालिए । डाक्टरलाई फोन गरे । अस्पतालमै ल्याउन सल्लाह दिएपछि छोरो बोकेर पुगे ।


सामान्य परीक्षणपछि २४ घण्टे अब्जरभेसनका लागि रिहानलाई फेरि भर्ना गरियो । ज्वरोको कारण खुट्याउन थालियो । यस पटक भने ज्वरोको कारण खुटिँदा सञ्जीवको पैंताला मुनिको जमिन नै हल्लियो ।


‘सुरुमा मेनेन्जाइटिसको शंका गर्दा त्यति डर लागेको थिएन । तर, जब हो कि होइन भनेर ढाडबाट पानी निकाल्दा पीप निस्किएको देखें, म आतंकित भएँ,’ उनले भने, ‘तैपनि समयमै अस्पताल ल्याइएछ भनेर चित्त बुझाएँ ।’


ज्वरोको कारण निर्क्योल भएसँगै चिकित्सकहरूले औषधि सुरु गरिसकेका थिए । एकपछि अर्को नयाँ नयाँ औषधिको नाम सञ्जीवको भोक्याब्लरीमा दर्ज हुँदै थियो । मुलुकमै पाइने, नपाइने, सस्तो, महँगो चिकित्सकले भनेका सबै औषधि उनले खोज्दै ल्याएर दिन थाले ।


मेनेन्जाइटिससँगै रिहानको अस्पताल बसाइँ अब थोरैमा पनि ४२ दिनका लागि लम्बिएको थियो । टाउकोमा कुनै असर परे/नपरेको थाहा पाउन अल्ट्रासाउन्ड गरियो । रेडियोलोजिस्टले दिमागमा पनि पीप जमेको हुन सक्ने रिपोर्ट दिए । तर, सुरुको केही समय एन्टिबायोटिक मात्रै दिएर रेडियोलोजिस्टको रिपोर्टलाई खासै महत्त्व दिइएन । सुधार नदेखिएपछि एमआरआई गरियो । त्यतिबेलासम्म रिहानको अस्पताल बसाइँ लगभग ४० दिन पुगिसकेको थियो ।


एमआरआई गरेकै दिन बेलुका दिमागमा पीप जमेकाले त्यो झिक्न शल्यक्रिया गरेर पाइप राख्नुपर्ने बताइयो । यो सबै प्रक्रियाका लागि ग्रान्डीका न्युरोसर्जन डा. अमित थापाले जिम्मा लिए । ‘एमआरआईको रिपोर्ट बेलुका ५ बजे तिर आउनेबित्तिकै अमित डाक्सबले बाबुको दिमागमा पीप छ तुरुन्तै झिक्नुपर्छ । म अहिल्यै अपरेसन गरिहाल्छु भन्नुभयो,’ सञ्जीवले भने, ‘हामीले हुन्छ भन्नुबाहेक अरू उपाय थिएन ।’


पहिलो शल्यक्रियाको लगभग ५ दिनपछि पीप निकाल्न टाउकोभित्र राखिएको पाइप टालिएको भनेर फेरि शल्यक्रिया गर्नुपर्ने जानकारी डा. अमित र उनको टोलीले सञ्जीवलाई दियो । अप्रेसन गरेर बाहिर निस्केपछि डा. अमितले भनेको कुरा आफूलाई स्पष्ट याद भएको बताउँदै सञ्जीवले भने, ‘धेरै पीप छ । सकेसम्म सबै निकाल्ने प्लान थियो । निकाल्न सकिएन । ढिक्का भएर बसेको रहेछ, हल्लाएर छोडिदिएको छु । सबै ड्रेन हुन्छ ।’


छोरो जन्मिएको ५० दिन पनि नबित्दैमा दुईपल्ट दिमागकै शल्यक्रिया गर्नुपरेकोमा सञ्जीव विक्षिप्त जस्तै थिए । भदौ ६ मा अचानक बुवा बित्दा उनको पीडा दोब्बर भयो । ‘एकतिर अप्रेसन गरेर सुत्केरी भएको श्रीमती, अर्कोतर्फ दुई–दुईपटक अप्रेसन गरेर मृत्युसँग लडिरहेको छोरा र त्यसमाथि बुवा बित्नु । मेरो हालत के भयो होला ?,’ उनले आफ्नो गहमा आइपुगेको आँसुलाई लुकाउन खोज्दै भने, ‘म बुवाको किरिया नै बसिनँ । कसरी बस्नु ?’


दोस्रो पटकको शल्यक्रियाको दुई हप्तापछि पुनः पीप ड्रेन हुन नसकेको भन्दै रिहानलाई तेस्रो पटक अप्रेसन थिएटरभित्र छिराइयो । त्यसको ठीक दुई सातामा चौथो पटक शल्यक्रिया गरियो । चौथो शल्यक्रिया गर्नुअघि दिमागमा भरिएको पीप निकाल्नका लागि दुईवटा ड्रेन गर्ने पाइप राखिएको थियो । चौथो शल्यक्रियाबाट ती पाइप निकालेर भित्रैबाट राख्ने काम भयो ।


‘भीपी सन्टिङ’ (दिमागबाट पाइप राखेर पेटसम्म पुर्‍याउने कार्य) गरेपछि रिहानको अवस्थामा केही सुधार देखियो । दोस्रो पटक अस्पताल भर्ना भएको ६७ दिनमा असोज २३ गते रिहान घर फर्किए । जन्मिएको चार महिनासम्म अस्पतालमै बसेका रिहानलाई घर फिरेपछि ‘एड्जस्ट’ हुन निकै समय लाग्यो ।


‘उता एसीमा एउटै तापक्रममा बसिरहेको केटो, घर आएपछि छट्पटाएको छट्पटाई गर्थ्यो । कहिलेकाहीं त फेरि अस्पताल नै लगेर राखौं कि भन्ने पनि सोच आउँथ्यो,’ एकताले भनिन् । लामो अस्पताल बसाइँ, संक्रमण, शल्यक्रिया र त्यसको प्रभावका बारेमा विभिन्न टीकाटिप्पणी र गुगलका आर्टिकलहरूबाट उनीहरूले छोरा भविष्यमा पूर्ण रूपमा सबल नहुने थाहा पाइसकेका थिए । तैपनि छोराले बिस्तारै आवाजहरू सुनेर देखाउन थालेको प्रतिक्रियाले उनीहरूमा केही आशा जगाउँथ्यो ।


रिहानको आँखा र कानको अवस्थाको पनि उनीहरूले बाहिरै जाँच गराए । कानको जाँच शिक्षण अस्पतालमा गरियो । जुन सामान्य आयो । आँखाको जाँच तिलगंगामा गरियो । ‘आँखाको बाहिरी अवस्था ठीक थियो । भित्र आँखासँग जोडिएका नसाहरूको अवस्थाका बारेमा भने एक वर्ष नपुगी केही भन्न नसकिने जानकारी पाइएको थियो,’ सञ्जीवले भने, ‘हामीलाई त्योबेला कुनै एक अंगभन्दा पनि छोरा पूर्ण रूपमा स्वस्थ भइदियोस् भन्ने थियो ।’


सञ्जीव र एकता छोरा तंग्रिन थालेको देखेर दंग थिए । छोरोको शारीरिक हाउभाउमा केही कमी भए पनि फिजियोथेरापीका माध्यमबाट त्यसलाई सुधार गर्ने प्रयत्न गर्दै थिए ।


रिहानको अहिलेको अवस्था (दायाँ) । रिहान ५ महिनाको हुँदाको अवस्था (बायाँ) ।


‘सुरुमा घर ल्याउँदा उसको टाउको सानो थियो । हेर्न आउने मान्छेहरू पनि डराएर धेरैबेर बस्दैनथे । मन कटक्क हुन्थ्यो,’ एकताले भनिन्, ‘तर हामीलाई भने छोरा निको हुँदै छ भन्ने कुराले सन्तुष्टि दिन्थ्यो ।’ नियमित औषधि, फिजियोथेरापी लगायत सञ्जीवले हरेक दिन छोराको टाउकोको नाप लिन्थे । चिकित्सकले उनलाई टाउकोको नाप लिइरहन सुझाएका थिए । त्यससँगै हरेक महिना चिकित्सकलाई भेट्नु र स्वास्थ्य परीक्षण गराउनु पर्थ्यो ।

४ महिनाको हुँदादेखि ६ महिनाको हुँदासम्म रिहानको टाउकोको नाप ठीक थियो । ७ महिनामा एक्कासि बढेको जस्तो देखियो । नियमित अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिस्टले पनि भित्र लगभग ८.२ सीएम लामो र १ सीएम चौडा हाइड्रोसेफालस (सामान्य भाषामा भन्दा पानी जमेको) देखिएको बताएका थिए । तर, रिहानको शल्यक्रियामा संलग्न प्रमुख चिकित्सक डा. अमित थापाले सबै हेरेर त्यो ८ सीएम नभएर ८ एमएम हुनुपर्ने बताए ।


‘रेडियोलोजिस्टले ८ सीएमभन्दा हाम्रो मनमा चिसो पसेको थियो,’ सञ्जीवले भने, ‘तर डा. अमितलाई देखाउँदा त्यो हुनै नसक्ने र त्यो सीएम नभएर एमएम भएको बताउनुभयो । उहाँले भनेपछि होला भनेर हामीले केही पनि भनेनौं ।’ त्यसपछि रिहानको टाउकोको साइज हरेक महिना बढ्न थाल्यो । ९ महिनाको हुँदा रिहानको फेरि एमआरआई गर्न भनियो र त्यसको रिपोर्टको आधारमा भीपी सन्टिङ जाम भएको हुन सक्ने पनि देखिएपछि पाँचौंप टक शल्यक्रिया भयो ।


‘सुरुमा हाइड्रोसेफालस सानो छ भनियो, पछि एमआरआई गर्न भनियो,’ सञ्जीवले भने, ‘त्यसपछि हाइड्रोसेफालस ठूलो छ भनेर अपरेसन नै गर्नुपर्ने बताइयो । हामीले त्यसमा पनि कुनै नाइनास्ती गरेनौं । हामीलाई बच्चालाई जे गर्दा सहज हुन्छ त्यही गर्नुपर्छ भन्ने लाग्यो ।’ सञ्जीवका अनुसार शल्यक्रिया गरेर बाहिर निस्केपछि डा. अमितले उनलाई ‘ब्लडलेस सर्जरी’ (रगतविहीन सर्जरी) भएको बताउँदै सन्टको मुख टालिएकाले त्यसलाई खोलिएको जानकारी दिएका थिए ।


त्यसपछि रिहानलाई पीआईसीयूमा राखिएको थियो र केही घण्टापछि अभिभावकलाई नै दिइएको थियो । अभिभावकलाई जिम्मा दिइसकेपछि नर्सले औषधि दिन आउँदा ६६ एमएल पारासिटामोल दिन लागेपछि भने अस्पताल र सञ्जीवबीच असमझदारीको सुरुआत भएको थियो ।


‘हामीलाई बच्चा दिइसकेपछि हामीसँगै क्याबिनमा थियौं । एकजना नर्स औषधि दिन भनेर आउनुभयो । ब्लडलेस सर्जरी भएकाले खासै केही औषधि नदिएको डाक्टरले बताउनुभएको थियो,’ सञ्जीवले भने, ‘हामीले नर्सलाई के औषधि दिन लागेको भनेर सोध्यौं । उहाँले पारासिटामोल भन्नुभयो । तर त्यो दिनका लागि ठूलो सीसीबाट औषधि तानेको देखेर कति एमएल दिन लागेको भनेर सोध्यौं । उहाँले ६६ एमएल भन्नुभयो । त्यसपछि त्यति धेरै त हुनुनपर्ने जस्तो लागेर उहाँलाई डाक्टरलाई पुनः सोध्न भन्यौं । उहाँ रिसाउँदै डाक्टरलाई सोध्न जानुभयो र पछि आएर होइन रहेछ भनेर डोज घटाएर दिनुभयो ।’


सञ्जीवका अनुसार त्यति हुँदासम्म पनि उनीहरूलाई चिकित्सकको कामकारबाहीप्रति कुनै शंका लागेको थिएन ।


‘पछि पीआईसीयूमा बस्दा पनि ६६ एमएल नै त पायो होला नि भनेर थाहा पाएपछि झस्याङ भयौं,’ उनले भने, ‘हामी आत्तिनुभन्दा अगाडि नै यो कुरा अस्पतालका चिकित्सकमाझ फैलिसकेको रहेछ । प्रायः सबै विषयका डाक्टरहरू एकपछि अर्को गर्दै बाबुलाई हेर्न आउनुभयो । हामी अक्क न बक्क थियौं ।’


उनका अनुसार त्यस दिन बेलुका अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे आफैं रिहानको स्वास्थ्य अवस्था बुझ्न पुगेका थिए । त्यतिबेला डा. पाण्डेले प्यारासिटामोल ओभरडोज भएको स्वीकार्दै त्यसको जिम्मेवारी अस्पतालले लिने बताएका थिए । ‘यसले बाबुलाई पुर्‍याउन सक्ने हानि रोक्न हामी सबै काम गर्छौं । तपाईंहरू नआत्तिनुस् भनेर उनले ढाडस दिएका थिए,’ सञ्जीवले भने ।

अस्पतालले ओभरडोजलाई रिभर्स गर्ने प्रक्रिया अपनाउँदै गर्दा रिहानमा पिसाबको संक्रमण देखियो । त्यसले झन् तनाव थप्यो ।


एकातर्फ संक्रमणले ज्वरा बढ्दै थियो अर्कोतर्फ पहिले नै धेरै सिटोमोल दिइएकोले ज्वरो घटाउन थप सिटामोल दिन सकिने अवस्था थिएन । त्यसपछि सञ्जीव र एकताले रातभर रिहानलाई पानी पट्टी दिएर बस्नुपर्ने बाध्यता भयो ।


‘हन्हन्ती जरो आएको छ । डाक्टरलाई कम गर्ने उपाय सोध्यो पानीपट्टीबाहेक केही छैन भन्छन्,’ एकताले भनिन्, ‘हामीले रातभर पानीपट्टी दियौं । सहयोगका लागि नर्ससमेत आएनन् ।’


बिहान भएपछि अस्पताल प्रशासनसँग निकै विवाद भयो । त्यसपछि पुनः रिहानलाई पीआईसीयूकै एक कोठामा राख्ने व्यवस्था गरियो । विवाद बढ्दै गएपछि सञ्जीवले ग्रान्डी बाहिरका चिकित्सकहरूलाई लगेर रिपोर्ट देखाए । सबैले अब रिहानको अवस्था राम्रो हुन नसक्ने र उसलाई थप दुःख दिन नहुने सुझाव दिएपछि उनीहरूले ग्रान्डीमा थप उपचार नगराउने निर्णय गरे ।


त्यसको केही समयपछि उनले रिहानको उपचारमा संलग्न चिकित्सक र अस्पतालले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।


काउन्सिलद्वारा अस्पतालसँग जवाफ माग  

सञ्जीव न्यौपानेले ग्रान्डी अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूविरुद्ध उजुरी दर्ता गराएसँगै नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले त्यसको छानबिनका लागि विज्ञहरूको तीन सदस्यीय समिति बनाएको थियो । प्राडा गणेश राईको संयोजकत्वमा प्राडा गोपालरमण शर्मा र प्राडा गणेश दंगाल सदस्य रहेको समितिले उक्त उजुरी उपर छानबिन गरी आफ्नो प्रतिवेदन बुझाएको छ ।


प्रतिवेदनका आधारमा काउन्सिलले रिहानको उपचारको क्रममा संलग्न चिकित्सकहरूबाट धेरै कमीकमजोरी भएको, पारासिटोमोलको डोज बढी दिएको, रेडियोलोजिस्ट तथा न्युरोसर्जनबीच बुझाइमा निकै अभाव देखिएको तथा उपचार प्रक्रियाका बारे बिरामीको परिवारले समयमा नै पाउनुपर्ने जानकारी र सल्लाह नदिएको बताउँदै ग्रान्डी अस्पतालसँग ७ दिनको जवाफ माग गरेको छ । विज्ञहरूको रायबमोजिम उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस गर्नुपर्ने देखिएकाले ग्रान्डीबाट जवाफ आएपछि त्यसबारे थप निर्णय लिने जानकारी काउन्सिलले दिएको छ ।


‘अस्पताललाई दोष दिन मिल्दैन’

ग्रान्डीका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले आफ्ना चिकित्सक तथा अस्पतालले सञ्जीव र एकताको १५ महिने छोरा रिहानको उपचारमा कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘हाम्रो अस्पतालमा बच्चा जन्मिएदेखि नै हामीले उसको राम्रोसँग उपचार गरेका छौं,’ उनले भने, ‘सुरुमा त बच्चालाई जन्मजात निमोनियाँ थियो । त्यसको उपचार गर्दा थप संक्रमण भएर केस जटिल बन्दै गयो । उपचारमा संलग्न चिकित्सकहरूले मेडिकल्ली जे जति गर्न सक्नुहुन्थ्यो सबै गर्नुभयो ।’


बच्चालाई अस्पतालमा मात्रै हुने क्लेबसियला ब्याक्टेरियाको कारण भएको संक्रमणमा अस्पताललाई दोष दिन नमिल्ने उनको तर्क छ । उनका अनुसार अस्पतालमा उपचार गर्न पुगेका जोकोहीलाई पनि क्लेबसियलाको संक्रमण हुने सम्भावना रहन्छ । ‘ग्रान्डी अस्पतालमा क्लेबसियला लगायत अन्य अस्पताल जन्य संक्रमण निकै न्यून छ,’ उनले भने, ‘हामी तथ्यांक नै देखाउन सक्छौं । तर, संक्रमण भएका एक–दुईजनालाई आधार बनाएर पुरै अस्पताललाई बदनाम गराउन केही मानिसहरू उद्यत छन् । हामी त्यसको विरोध गर्छौं ।’


डा. पाण्डेले काउन्सिलले बाहिर बसेर हेर्दा रेडियोलोजिस्ट र न्युरोसर्जनबीच बुझाइ र समन्वयको कमी देखिएको बताए पनि त्यसमा पूर्ण सत्यता नरहेको दाबी गरे । ‘त्यो बेला तत्काल के गर्नुपर्ने थियो भनेर हामीले अहिले आकलन मात्रै गर्न सक्छौं । यसो गरेको भए के हुन्थ्यो भनेर अहिले आकलन गरेर हुँदैन,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले धेरै कुरा हेरेर के गर्ने वा नगर्ने भनेर निर्णय लिन्छन् । र, मलाई लाग्दैन त्यो बच्चाको केसमा चिकित्सकहरूले कुनै गलत निर्णय गरे ।’ बच्चालाई पारासिटामोल ओभरडोज भएको विषयमा भने आफूले गम्भीर भएर हेरेको उनले बताए ।


‘मैले ओभरडोज कै कारण सो बच्चालाई केही नहोस् भनेर सम्पूर्ण परीक्षणहरू गराएर अवस्था के कस्तो छ निर्क्योल गरेको थिएँ,’ उनले भने, ‘पारासिटामोल ओभरडोज भएकोमा कुनै दुईमत छैन । हामीले सबै परीक्षण गरेर त्यसले केही असर नगरेको पनि निश्चित गरेका छौं । कहिलेकाहीं उपचार गर्दा त्रुटि हुन्छ । त्यो त्रुटि सच्याइसकेको अवस्थामा त्यसलाई ठूलो इस्यु बनाइरहनु उचित हुँदैन ।’


प्रकाशित : आश्विन १५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?