३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खुला शौच ‘रोगको घर’

अतुल मिश्र

काठमाडौँ — पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र १ सय परजीवीका अन्डा हुन सक्छन् । यसैले तपाईंको गाउँ, टोल, छरछिमेकमा खुला शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पर्ने, हेपाटाइटिस, ट्रकोमा आदि थुप्रै रोग निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् ।

खुला शौच ‘रोगको घर’

रोग निम्त्याउन मात्र नभई खुला स्थानमा शौच गर्नु पर्यावरणका लागि समेत हानिकारक छ ।


खुला शौचले पानीसँगै कृषि उत्पादनसमेत प्रदूषित हुन्छ । ‘मुलुकमा खुला स्थानमा शौच बस्ने अवस्था मात्र अन्त्य गरे थुप्रे रोग, संक्रमण आदिबाट बच्न सकिने जनस्वास्थ्यको क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. रुना झाले भनिन् । खुला स्थानमा गरिएको दिसाले पानी, हावा, झिँगा आदिको माध्यमले प्रसार भएर मानव स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । विभिन्न तथ्यांकअनुसार हजारदेखि १२ सय जनसंख्या भएको एउटा गाउँ, बस्तीमा दैनिक औसत रूपमा ३ सय किलो मानव मल निस्किन्छ । यस्तो मलले भूमि, पानी आदिमा अवशोषित भएर वरपरको वातावरण मात्र नभई त्यहाँको पानीलाई समेत प्रदूषित गर्छ ।


‘संक्रमण फैलाउने कीटाणु मलदेखि मुखसम्म पुग्छन्,’ एनपीएचएलकै सहप्रमुख वरिष्ठ माइक्रोबायोलोजिस्ट विष्णु उपाध्यायले भने । संक्रमित व्यक्तिको मलमा हजारौंको संख्यामा हुने कीटाणु, कीरा, फुल आदि फोहोर हात, औंला वा प्रदूषित भोजन एवं पानीका माध्यमले मानिसमा पुग्ने र त्यसले बिरामी बनाउने उनको भनाइ छ ।


सन् २००० तिर ५ वर्षमुनिका बालबालिकाको मृत्युदर १० हजारभन्दा बढी थियो तर हाल वार्षिक मृत्युदर १२ सयमा झरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले बताए । ‘यो सकारात्मक परिवर्तन शौचालयको प्रयोग र साबुनपानीले हात धुने जस्ता स्वच्छता अभ्यासले आएको हो,’ उनले भने ।


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वका करिब १० प्रतिशत मानिसले फोहोर पानीबाट सिञ्चित खाद्यपदार्थ उपभोग गर्दै आएका छन् । साथै अपर्याप्त सरसफाइका कारण झाडापखालाले बर्सेनि ४ लाख ३२ हजार जनाको मृत्यु हुने डब्ल्यूएचओको तथ्यांक छ । यसले कुपोषणसमेत बढाएको छ । स्वच्छ पानी र सरसफाइको राम्रो व्यवस्था गर्दा बर्सेनि ५ वर्षमुनिका २ लाख ९७ हजार बालबालिकाको मृत्यु रोक्न सकिने विज्ञहरू बताउँछन् ।


डब्ल्यूएचओकै अनुसार विश्वमा अझै २ अर्ब व्यक्तिलाई शौचालयको उचित सुविधा उपलब्ध छैन । त्यसमध्ये ६७ करोड ३० लाख व्यक्तिले झाडी, रोड छेउमा, नदी, पोखरी किनार आदि खुला स्थानमा शौच गर्दै आएका छन् ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?