१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आफ्नै गाउँ फर्की आएँ...

कञ्चनपुरको गड्डाचौकी र धनगढीको त्रिनगर नाकामा केही दिनयता दसैंतिहारका लागि घर फर्किनेको भीड 

(कञ्चनपुर) र (धनगढी) — पिठ्युँमा ठूलो झोला । हात र काँधमा झिटिगुन्टा । सोमबार बिहान ७/८ जनाको समूह कञ्चनपुरको गड्डाचौकी नाकाबाट हतार गर्दै अघि बढ्यो । त्यही टोलीमा थिए बैतडीका केशव विश्वकर्मा । ‘डेढ वर्षपछि घर फर्कंदै छु । कति बेला घर पुगूँ जस्तो भएको छ,’ भारत उत्तराखण्डको बद्रीनाथमा मजदुरी गरेर फर्केका उनले भने । 

आफ्नै गाउँ फर्की आएँ...

बेलौरीका पुन्टु चौधरी भने गत असारमा भारत छिरेका थिए । ‘रोपाइँ सकेर काम खोज्न गएका हौं, अब दसैं पनि आयो, धान भित्र्याउने बेला पनि भयो,’ उनले भने, ‘फुर्सदको समयमा भारत गए थोरैतिनो घर खर्च जुटाउन सकिन्छ ।’ उनी आइतबार बद्रीनाथबाट हिँडेका थिए । सोमबार बिहानै सीमावर्ती बजार वनबसाबाट पदैल गड्डाचौकी पुगेको उनले सुनाए ।


पश्चिम तराईको कञ्चनपुरको गड्डाचौकी र धनगढीको त्रिनगर नाकामा केही दिनयता दसैंतिहारका लागि घर फर्किनेको भीड बढेको छ । खेतीपाती सकेर कामको खोजीमा भारत पसेका तथा लामो समयदेखि भारतमै काम गरिरहेकाहरू चाँडवाडको मौका पारेर धमाधम घर फर्कंदै छन् । सोह्र श्राद्ध सुरु भएदेखि नै घर फर्किनेहरूको संख्या बढे पनि घटस्थापनादेखि भीड बढेको हो ।


दिल्लीमा काम गर्ने अछामका रामबहादुर बोहरा पनि सोमबार महेन्द्रनगर पुगेका छन् । ‘दसैंमा सधैं घर फर्किन्छौं,’ बाल्यकालदेखि कामको खोजीमा भारत जाने गरेका ५५ वर्षीय बोहराले भने, ‘दसैंतिहार आफ्नै गाउँठाउँमा रमाइलो हुन्छ, साथीभाइसँग भेटघाट पनि हुन्छ ।’


सीमा क्षेत्रमा चल्ने विद्युतीय रिक्सा तथा टाँगादेखि महेन्द्रनगर–दिल्लीसम्म चल्ने बसमा केही दिनयता यात्रु भरिभराउ छन् । सीमा क्षेत्रमा पैदलै हिँडेर आउनेको संख्या पनि बाक्लै छ । गड्डाचौकीसँगै ब्रह्मदेव नाका भएर भित्रिनेको संख्या पनि बढेको छ । टनकपुर ब्यारेज हुँदै ब्रह्मदेव नाकाबाट पैदल यात्रा गरी दैनिक डेढ/दुई हजार नेपाली कामदार भित्रिइरहेका छन् । गड्डाचौकी नाका हुँदै दैनिक २/३ हजार नेपाली आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई पदम बुढामगरले बताए । उनका अनुसार पैदल यात्रा गरेर आउनेभन्दा पनि ठूला तथा साना सवारी साधनमा आउनेको संख्या बढी छ । ‘मैत्री बस सेवाका कारण यात्रुलाई सहज भएको छ,’ उनले भने ।


असारे खेती लगाएर सुदूरपश्चिमका अधिकांश बेरोजगार युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । कोही भने उता सधैं काम गर्ने र दसैंको मौका पारेर फर्कनेहरू पनि हुन्छन् । लामो यात्रा कष्टकर भए पनि घर फर्कंदाको खुसी उनीहरूको अनुहारमा झल्किरहेको देखिन्छ । वर्ष दिनअघि काम खोज्दै भारतको उत्तराखण्ड गएका अछामका दिलबहादुर खन्नी पनि दसैं मनाउन घर फर्किएका छन् । सोमबार बिहान त्रिनगर नाकामा रिक्सा खोज्दै गर्दा भेटिएका उनले भने, ‘श्रीमती, छोराछोरी सबै घरमै छन् । यसपालिको दसैं छोराछोरीसँग मनाउने भनेर आएको हुँ ।’ उनले गत बर्षको दसैंमा घर फर्किन पाएनन् । दसैंका बेला घर फर्किंदा हरेक वर्ष सीमानाकामा भारतीय प्रहरीको सास्ती हुन्थ्यो । यस वर्ष सास्ती कम भएको फर्कनेहरूको भनाइ छ । ‘कमाएर ल्याएको पैसा घर नपुग्दै लुटिने आशंका हुन्थ्यो । यस वर्ष त्यो दुःख भएन,’ कञ्चनपुरका जगदीश बलायरले भने ।


सीमामा संयुक्त सहायता कक्ष

दसैंतिहारमा घर फर्किनेहरूलाई लक्षित गरेर कञ्चनपुरको गड्डाचौकीनजिकै नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीले संयुक्त सहायता कक्ष स्थापना गरेका छन् । गत सातादेखि सञ्चालन भएको सहायता कक्षले सवारी साधनबाट बढी भाडा लिएर हुने ठगी र सीमा क्षेत्रमा हुने लुटपाटका घटना नियन्त्रणमा जोड दिएको जनाएको छ । ‘सवारी साधनले लिने भाडा तथा बाटोमा हुने लुटपाटका घटना नियन्त्रण गर्न संयुक्त रूपमा सहायता कक्ष स्थापना गरिएको हो,’ गड्डाचौकीस्थित सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मका डीएसपी राजकुमार कँडेलले भने, ‘दुवैतर्फका सुरक्षाकर्मीले संयुक्त रूपमै ड्युटी गरिरहेका छन् ।’ गत वर्ष पनि संयुक्त सहायता कक्षा स्थापना गरिएको थियो ।


सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नेपाली कामदारमाथि हुने दुर्व्यवहार र ठगीका घटना नियन्त्रणका लागि शनिबार सरोकारवालासंँग छलफल पनि गरेको छ । छलफलमा भारतीय तथा नेपाली सुरक्षाकर्मी, भन्सार कार्यालयका प्रतिनिधिसँगै गैरसरकारी संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।


त्रिनगर सीमानाकामा जिल्ला प्रशासन कार्यालयले सीमा सहायता कक्ष स्थापना गरेको छ । कैलालीका प्रमुख यज्ञराज बोहराले दसैंमा भारतबाट फर्किरहेकाहरूलाई कठिनाइ नहोस् भनेर सहायता कक्ष स्थापना गरिएको बताए । चाडवाडलाई लक्षित गरेर स्थापना गरिएको भए पनि सहायता कक्षको प्रभावकारिता हेरेर यसलाई वर्षभरि सञ्चालन गर्ने योजना रहेको उनले बताए ।


रोकिएन लुटपाट

सुरक्षा निकायका विभिन्न प्रयास र सक्रियताको बाबजुद पनि भारतमा मजदुरी गरेर घर फर्किने कामदारलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लुट्नेक्रम भने रोकिएको छैन । भारतमै यात्राका क्रममा होस् वा सीमा क्षेत्रमा लुटेर अलपत्र भएको अवस्थामा पछिल्ला दुई सातामा ५ जनाको उद्धार गरिएको छ । उनीहरूमध्ये कतिपयलाई भारतमै यात्राका क्रममा बेहोस बनाई लुटिएको हो । एक जनालाई सीमा क्षेत्रमा लुटेर बेहोस बनाई छाडेको अवस्थामा फेला पारिएको हो । उद्धार गरिएका पाँचै जनालाई उपचारपछि घर पठाइएको छ । अधिकांश नेपालीबाटै लुटिएका छन् । उनीहरूलाई काम गर्ने ठाउँबाटै पिछा गरेर आउने र मौका पाउने बित्तिक्कै चिया, बिस्कुट वा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुट्ने गरिएको छ ।


म्याग्दी– गाउँमा मान्छेको चहलपहल बढिसकेको छ । विदेश र स्वेदशका सहर पसेकाहरू दसैंको मौकामा गाउँ फर्किरहेका छन् । अध्ययनका लागि सहर झरेका विद्यार्थी र तिनका अभिभावक विद्यालय तथा कलेज बिदा भएपछि धमाधम गाउँ फर्कन थालेका छन् । गाउँ–गाउँमा स्थानीयस्तरका खेलकुद प्रतियोगिता सहित मनोरन्जनपूर्ण मेलाको आयोजना गरिएका छन् । पोखराबाट पुर्ख्यौली थलो शिख उक्लने बेनी आइपुगेकी सीता पुनले भनिन्, ‘दसैं गाउँघरमा रहेका आफन्तसँग भेटघाट गर्ने र बालापन बिताएको थलोको कलेस मेट्ने अवसर पनि हो ।’






प्रकाशित : आश्विन १५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?