१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा

बिनु सुवेदी

काठमाडौँ — सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो । 

त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा

भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगे । तर महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपालि ती महिलाको कोठामा नगएको जिकिर गरे । त्यसपछि सोधपुछका लागि अध्यक्ष दाहाल आफैं गए । ‘महराले त्यही कुरा दोहोर्‍याउनुभयो,’ स्रोतले भन्यो, ‘तर दाहालले यस्तो टालटुले जवाफले हुँदैन भन्नुभएपछि उहाँले थप जवाफ दिनुभएन ।’


महरासँग छोटो कुराकानीपछि दाहाल परामर्शका लागि प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवास पुगे । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पहिल्यै त्यहाँ पुगिसकेका थिए । तीनै जना भेला भएपछि ओलीले महरालाई फोन गरे । महराको बोली फेरियो । स्रोतका अनुसार ओलीसँगको फोनमा महराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन ।’


दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएका घटनाका सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने । त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु ।’ लगत्तै फोन काटियो ।


अध्यक्षद्वयले तुरुन्तै सचिवालय बैठक बोलाउने निधो गरे । बिहान ११ बजे बसेको सचिवालय बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय भयो । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई निर्णयको जानकारी गराए ।

‘सचिवालय बैठकले महरा आइतबार साँझ ती महिलाको डेरामा गएकै हुन् भन्ने निष्कर्ष निकालेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सुरक्षा स्रोतबाट प्रधानमन्त्रीलाई भएको रिपोर्टिङमा पनि त्यही ब्रिफिङ छ ।’ सचिवालयले निर्णय गरेको करिब आधा घण्टापछि महराले सभामुख पदबाट राजीनामा दिए ।


आइतबार के भयो ?

ती महिलाका अनुसार आइतबार साँझ तीनकुनेस्थित उनको डेरामा पुगेर महराले यौनहिंसा गरेका थिए ।


उनीमाथि हातपात र लछारपछार पनि भएको थियो । उनलाई चोट लाग्यो, महराको चस्मा फुट्यो । उनकै अनुसार ‘प्रहरी बोलाउँछु’ भनेपछि महरा केही हच्किए र कोठाबाट हतारमै निस्किए ।

करिब ९ बजेतिर महिलाले प्रहरीलाई फोन गरिन् । त्यसपछि पूर्वसभामुख ओनसरी घर्ती मगर र नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई पनि फोनबाटै जानकारी गराइन् ।


महरा र महिलाको पारिवारिक सम्बन्धबारे जानकार घर्तीले केही प्रतिक्रिया दिइनन् । तर सोमबारै केही पत्रकारलाई घटनाबारे बताएकी रेग्मीले मंगलबार चितवनमा पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी दिइन् । ‘११ बजेतिर फोन आयो । अरू दिन त म सुत्छु, संयोगवश त्यो दिन सुतेको रहेनछु,’ रेग्मीले भनिन्, ‘कसले गर्‍यो, अर्जेन्ट नै पो हो कि भनेर फोन उठाएँ । अनि उहाँले रुँदै घटनाबारे बताउनुभयो ।’


ती महिलाले आफूलाई महराले यौन दुर्व्यवहार गरेको भनेर विभिन्न अनलाइन पत्रिकामा अन्तर्वार्ता दिएकी थिइन् । सोमबार साँझ कान्तिपुरसँगको कुराकानीमा भने उनले महराले आफूलाई हात हालेको र उनको कुटाइबाट हात र अनुहारमा चोट लागेको प्रतिक्रिया दिइन् । उनले महराले आफूलाई यसअघि पनि बारम्बार सताउने गरेको पूर्व माओवादीका महिला नेताहरूलाई भन्दै आएको सुनाइन् ।


फेरिए बयान

सोमबार साँझदेखि मंगलबार साँझसम्म आइपुग्दा महरा र पीडित महिलाको बयान बारम्बार फेरिएको छ । सोमबार महराबाट बलात्कार प्रयास नै भएको बताएकी महिलाले मंगलबार साँझ आफूलाई उनले केही पनि नभनेको र उनी आफ्नो कोठामा आउँदा पनि नआएको अन्तर्वार्ता एक अनलाइनलाई दिएकी छन् ।


उनले सोमबार ‘हाम्राकुरा डट कम’लाई महराले आफूलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन् । उनीसँग भिडियो अन्तर्वार्ता भइरहँदा महराले गरेको टेलिफोन नम्बर पनि उनको मोबाइलमा देखिएको थियो । मंगलबार नागरिकखबरसँगको भिडियो कुराकानीमा भने उनले सभामुख महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको बताएकी छन् । ‘आइतबार साँझ मेरो कोठामा कोही पनि आएको थिएन, उहाँसँग सिंहदरबारमा कहिलेकाहीं मात्रै भेट हुन्छ, उनले पछिल्लो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले त धेरै भयो भेट पनि भएको छैन ।’


उता ती महिलाको कोठामा जाँदै नगएको भनेर सुरुवाती वक्तव्य निकालेका महराले पछि आफू त्यहाँ पुगेको भनेर दिएको अन्तर्वार्ता अनलाइनमा सार्वजनिक भएका थिए ।


पारिवारिक सम्बन्ध पुरानै

ती महिलाका जाजरकोट स्थायी घर भएका श्रीमान् जागिरको सिलसिलामा २०४६ तिर रोल्पा गएका थिए । त्यही बेला उनको महरासँग सामीप्यता बढ्यो । धनुषाकी ती महिला आफ्ना बुवाआमासित दाङ गइन् । दाङतिरै उनीहरूको चिनजान भयो, प्रेम बस्यो र बिहे गरे । उनका श्रीमान्का अनुसार बिहे ०४७ सालमा महराले नै गराइदिएका थिए । ‘राजनीतिक हिसाबले उहाँ मेरो गुरु हो, हामी ०४७ सालदेखि २ वर्ष उहाँकै घरमा बसेका थियौं, अहिले घटना सुनेर पत्याउनै सकिरहेको छैन,’ उनका श्रीमान्ले कान्तिपुरसँग भने । तनहुँबाट मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका उनका श्रीमान्ले घटनाबारे कसरी अघि बढ्ने भन्ने कुरा श्रीमतीसँग छलफल गरेपछि मात्रै निर्णय गर्न सकिने बताए ।


‘उहाँ त हाम्रो अभिभावक जस्तो मान्छे हो, बेलाबेला डेरामा आउजाउ पनि गर्नुहुन्थ्यो,’ उनले भने, ‘किन त्यसो गर्नुभयो भनेर मैले महरा सरलाई पनि सोधें, उहाँले त्यस्तो होइन आउनुस् बसेर कुरा गरौं भन्नुभएको छ, हेरौं के हुन्छ ।’

८ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकी ती महिलाले गत पुसमा आत्महत्याको प्रयास गरेकी थिइन् । उनले औषधि धेरै खाएपछि १५ दिनसम्म सिभिल अस्पतालमा राखेर उपचार गराइएको थियो । त्यतिखेर पनि उनका श्रीमान् काठमाडौं बाहिर थिए । उनले आत्महत्या प्रयास गरेको खबर आएपछि महराको सचिवालयका एक सदस्य उनलाई भेट्न अस्पताल नै पुगेका थिए । उनका श्रीमान्ले पनि आफ्नी श्रीमती लामो समयदेखि डिप्रेसनको बिरामी भएकाले बेलाबेला अस्वाभाविक व्यवहार देखाउने गरेको बताए ।


०७४ कात्तिक ५ गतेको सचिवस्तरको निर्णयले ती महिलालाई जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट संसद् सचिवालय पठाउने निर्णय गरेको थियो । उनी कात्तिक ६ गते नै सचिवालयमा हाजिर भएकी थिइन् । त्यतिखेर सभामुख ओनसरी घर्ती थिइन् । महराकै जोडबलमा ती महिलालाई संसद् सचिवालय ल्याइएको स्रोतको दाबी छ । सचिवालयमा आएपछि उनले महरासँगको निकटताको प्रभाव देखाउने गरेको सचिवालयका कर्मचारीहरू बताउँछन् । ‘केही भन्यो कि महराजीसँग सीधा सम्बन्ध छ, तिमीहरूको जागिर उडाइदिन्छु भन्नुहुन्थ्यो,’ एक कर्मचारीले भने । संसद् सचिवालयकै रेकर्डअनुसार ती महिला यतिखेर जाजरकोटमा हुनुपर्ने हो । उनले असोज १२ देखि १८ गतेसम्म जाजरकोटमा सरकारी काममा खटिने भनेर काज स्वीकृत गराएकी छन् । तर आइतबार साँझ महरा ती महिलाको काठमाडौंमा रहेको कोठामा पुगे, घटना भयो ।


प्रकाशित : आश्विन १५, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?