कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

३२ जिल्लाका मुख्य सहरमा टेलिकमको फोजी

परीक्षणको क्रममा फोजीको स्पिड २ सय एमबीपीएसभन्दा बढी देखिएको छ
विजय तिमल्सिना

काठमाडौँ — नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा आज बुधबार फोजी सेवा सुरु गर्ने भएको छ । फोजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् ।

३२ जिल्लाका मुख्य सहरमा टेलिकमको फोजी

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु हुने जानकारी दिइन् ।

देशैभर फोजी सेवा सुरु गर्नको लागि गत माघ २० मा टेलिकमले ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा देशैभर फोजी विस्तार गर्ने टेलिकमको योजना थियो ।


फोजी सेवा विस्तारका लागि टेलिकमले कोर नेटवर्क विस्तारको जिम्मा चीनको जेडटीई कर्पोरेसनलाई दिएको थियो । यस्तै हङकङको सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तारको जिम्मा पाएको छ । काम सुरु भएको ८ महिनापछि टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु गर्न लागेको हो । टेलिकमले काठमाडौंबाहेकका सबै महानगर, उपमहानगर, धेरै जनसंख्या भएका नगरपालिकाहरूमा फोजी सेवा सुरु गर्न लागेको हो ।


पहिलो चरणमा दमक, बिर्तामोड, धरान, धनकुटा, विराटनगर, जनकपुर, इटहरी, वीरगन्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत, रौतहट, महोत्तरी, सर्लाही र धनगढीमा सेवा सुरु हुने टेलिकमले जनाएको छ । यस्तै रुकुम, धनकुटा, पर्वत, पाल्पा, बागलुङ, दाङ, बर्दियाका मुख्य सहरमा पनि सेवा सुरु हुने टेलिकमले जनाएको छ ।

टेलिकमले फोजी सुरुवात गर्नका लागि आन्तरिक रूपमा परीक्षण गरिसकेको छ । परीक्षणको क्रममा फोजीको स्पिड २ सय एमबीपीएसभन्दा बढी देखिएको जनाइएको छ ।


२०७३ पुस १३ गते टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोजी/एलटीई सेवाको सुरुवात गरेको थियो । दुई ठाउँमा फोजी सेवा सुरु गरी परीक्षणपश्चात अन्यत्र विस्तार गर्ने टेलिकमको योजना लामो समय रोकिएको थियो ।

समयमै फोजी विस्तार गर्न नसक्दा टेलिकमले फोजीका उपभोक्ताका साथै आम्दानी पनि गुमाइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमका फोजीका ग्राहक ८ लाख छन् ।


टेलिकमले भन्दा पछि नेपालमा फोजी भित्र्याएको अर्को टेलिकम सेवा प्रदायक एनसेलका फोजी ग्राहक ३१ लाखभन्दा बढी छन् । एनसेलले दुई दर्जनभन्दा बढी सहरमा फोजी सेवा पुर्‍याइसकेको छ ।

टेलिकमले देशैभर फोजी सेवा विस्तारसँगै उसको सेवा र आम्दानीमा सुधार हुने अपेक्षा गरिएको छ । पछिल्लोपटक प्रकाशित आर्थिक प्रतिवेदनले टेलिकमले आम्दानी गुमाउँदै गएको देखाएको छ ।


टेलिकमको नाफा गर्त वर्ष ४२ प्रतिशतले भन्दा कम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गत वर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमायो ।

टेलिकम सेवा प्रदायकले विदेशमा हुने कलको दर घट्दा आम्दानी र नाफा कम भएको दाबी गर्ने गरेका छन् । यस्तै इन्टरनेटमा आधारित विभिन्न एपमार्फत हुने कुराकानीले पनि टेलिकमहरूको आम्दानीलाई प्रभावित पारिरहेको छ ।


नेपाल टेलिकमलको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले उक्त वर्ष डाटा सेवातर्फ ७ अर्ब ६० करोड आम्दानी गरेको थियो । उक्त वर्ष इन्टरनेट सेवातर्फको ग्राहक करिब ३० प्रतिशतले बढेको टेलिकमको तथ्यांक छ ।


गत वर्ष टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले कूल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घट्दो अवस्थामा छ ।


गत वर्ष टेलिकमले सेवा बेचेर मात्रै ३६ अर्ब ७८ करोड आम्दानी गरेको थियो । जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा सवा २ अर्बले कम हो । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा सेवाबापत ३९ अर्ब आम्दानी गरेको थियो ।


अहिले ८ सय मेगाहर्ज ब्यान्डमार्फत फोजी सेवा सुरु गरिने टेलिकमले जनाएको छ । यो ब्यान्ड घना बस्ती नभएका दुर्गम स्थानमा उपयोगी हुने ठानिन्छ । ८ सय मेगाहर्ज ब्यान्डबाट सेवा दिंदा एउटै बीटीएस टावरले धेरै क्षेत्र ओगट्न सक्छ । सहरी क्षेत्रका लागि १८ सय मेगाहर्ज ब्यान्डलाई उपयुक्त मानिन्छ । अहिले टेलिकमले काठमाडौं र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमार्फत फोजी सेवा दिइरहेको छ ।


८ सय र १८ सय मेगाहर्ज ब्यान्डलाई एकीकृत गरिने टेलिकमले जनाएको छ । जसका कारण कुनै एउटा ब्यान्ड मार्त्र सपोर्ट गर्ने मोबाइलमा पनि फोजी सेवा प्रयोग गर्न सकिनेछ ।


फोजीसहित थ्रीजी र टुजी

टेलिकमले देशैभर फोजी विस्तार गरे पनि टेलिकमका प्रयोगकर्ताले फोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन । उनीहरूले आफ्नो आवश्यकता हेरी टुजी, थ्रीजी पनि प्रयोग गर्न सक्नेछन् ।

स्पिड

टेलिकमले विस्तार गर्न लागेको फोजी नेटवर्कमा अधिकतम स्पिड १३० एमबीपीएस हुनेछ । थ्रीजी अपग्रेड गरी फोजी बनाउँदा अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हुन्छ । अहिले काठमाडौं र पोखरामा सीमित टेलिकमको फोजी सेवाको अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हो । यसैले टेलिकमले विस्तार गर्न लागेको फोजीको स्पिड धेरै हुनेछ ।


भीओएलटीई

भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बनाउनेछ । डाटाको गतिजत्तिकै भ्वाइस (आवाज) को गति पनि बढ्नेछ । यसले फोन लाग्ने समय पनि घट्नेछ । साथै यो सुविधामा भिडियो कल गर्नका लागि तेस्रो एपको आवश्यकता पनि पर्दैन ।


भीओआईपी

यसमा हुने सुविधा भ्वाइस ओभर वाइफाई अर्थात् भीओवाइफाई पनि हो । भीओवाइफाई भीओएलटीईकै विस्तारित रूप हो । यसको सबैभन्दा ठूलो सुविधा भनेको मोबाइलको नेटवर्क बिना पनि वाइफाईको सहयोगमा फोन लाग्नु हो । कुनै स्थानमा मोबाइल नेटवर्क कम छ वा छँदै छैन तर वाइफाईमा मोबाइल कनेक्ट छ भने वाइफाईकै सहयोगमा अर्को मोबाइल नम्बरमा फोन गर्न सक्नु यसको विशेषता हो । अहिलेका चल्तीमा रहेका २० हजार मूल्य माथिका अधिकांश स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छन् । भारतमा पनि जियोसहितका केही मोबाइल सेवा प्रदायकहरूले भर्खरै यो प्रविधि परीक्षणका रूपमा सुरु गरेका छन् ।


सेल्फ अर्गनाइजिङ नेटवर्क

टेलिकमको फोजी नेटवर्कमा पूर्ण रूपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहनेछ । यसको अर्थ हो कुनै बीटीएस टावरमा कुनै समस्या आएर नेटवर्कमा गडबडी भए त्योभन्दा पर रहेको अर्को बीटीएस टावरले त्यो समस्या बुझेर आफ्नो क्षेत्र बाहिरको मोबाइललाई नेटवर्क प्रदान गर्नेछ । यो पूर्ण रूपमा स्वचालित प्रविधि हुने टेलिकमले जनाएको छ ।


टावर

फोजी विस्तारको क्रममा घना बस्ती र ठूला घरहरू भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब ६ हजार साना टावर राखिने टेलिकमले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा यस्ता साना खालका टावर हुनेछन् । यस्ता टावरले नेटवर्कलाई बलियो बनाउन सघाउनेछन् । घरको भूमिगत तलामा फोन नलाग्ने, धेरै भीड हुने स्थानमा फोन राम्ररी नसुनिने समस्या समाधानका लागि यसो गर्न लागिएको हो ।


फाइभजी रेडिनेस

देशैभर टेलिकमले विस्तार गर्ने फोजीको नेटवर्क पछि फाइभजी विस्तार गर्नका लागि पनि उपयुक्त हुनेछ । देशैभर फोजी विस्तार पछि टेलिकमले परीक्षणको रूपमा काठमाडौंसहित पोखरा, नेपालगन्ज र विराटनगरमा फाइभी नेटवर्कको परीक्षण गर्नेछ । फाइभजी नेटवर्क अहिले पनि परीक्षणको चरणमा छ ।

प्रकाशित : आश्विन १४, २०७६ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?