अस्ट्रेलिया उडानको बाटो खुल्यो

नेपालले तोकेका वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थमा सातामा ७ वटासम्म उडान गर्न पाउनेछन् ।
सुरज कुँवर

काठमाडौँ — अन्तर्राष्ट्रिय उडान अनुमतिप्राप्त नेपाली वायुसेवा कम्पनीका लागि अब अस्ट्रेलियाका लागि सिधा उडानको बाटो खुलेको छ ।

ZenTravel

क्यानडाको मन्ट्रियलमा नेपाल र अस्ट्रेलियाका प्रतिनिधिमण्डलले मंगलबार हवाई सेवा सम्झौता गरेका छन् । अस्ट्रेलियासँग भएको समझदारीपछि नेपालले हवाई सम्झौता गरेका मुलुकको सूची ४० पुगेको छ ।

Meroghar


दुवै मुलुकका अधिकारीबीच भएको समझदारीपत्रअनुसार नेपालले तोकेका वायुसेवा कम्पनीले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थमा सातामा ७ वटासम्म उडान गर्न पाउने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । अस्ट्रेलियाले यी ठूला चार सहरबाहेकका अरू सहरमा पनि नेपाली वायुसेवालाई असीमिति उडान गर्न दिने भएको छ ।

अस्ट्रेलिया सरकारले तोकेका अस्ट्रेलियन वायुसेवा कम्पनीलाई नेपालले सातामा ३५ उडान अनुमति दिएको छ । जसमा काठमाडौंमा सातामा ७ वटा उडान गर्न पाइनेछ । बाँकी २८ वटा उडान भने अब सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछन् ।

दुवै मुलुकका वायुसेवा कम्पनीलाई फिफ्थ फ्रिडम (पाँचौं ट्राफिक अधिकार) उपयोग गर्न पाउने बाटो पनि खुलेको छ । यो अधिकार प्रयोग गर्नेहरूले दुई गन्तव्य बिन्दुबाहेक उडानका क्रममा थप तेस्रो हवाई (मध्यवर्ती) बिन्दु हुँदै यात्रु सेवा तथा कार्गोको व्यापार गर्न पाउँछन् ।

नेपालले अस्ट्रेलियन वायुसेवालाई दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वी एसियाका कुनै दुई बिन्दु पाँचौं ट्राफिक अधिकारका आधारमा उपयोग गर्न छुट दिएको छ । अस्ट्रेलियन पक्षका वायुसेवाले नेपालका गन्तव्य बिन्दुभन्दा पर (वियोन्ड प्वाइन्ट) का रूपमा अन्य दुई बिन्दु प्रयोग गर्न पाउनेछन् तर भारतको दिल्ली भने रोज्न पाउने छैनन् ।

अर्थात् काठमाडौंबाट उड्दा भारतको दिल्ली प्रयोग गर्न पाउने छैनन् । उता अस्ट्रेलियाले नेपाली वायुसेवालाई गन्तव्य बिन्दुभन्दा पर (वियोन्ड प्वान्ट) का रूपमा न्युजिल्यान्डका दुइटा गन्तव्य प्रयोग गर्न दिएको छ । यसअनुसार अब नेपाली वायुसेवा कम्पनीले अस्ट्रेलियाबाहेक न्युजिल्यान्डबाट पनि यात्रु तथा कार्गो बोक्न पाउनेछन् ।

दुवै मुलुकका अन्तर्राष्ट्रिय एयरलाइन्सले थर्ड पार्टी कोड सेयरको अधिकार पनि पाउने समझदारीपत्रमा उल्लेख छ । यो अधिकारले दुवै मुलुकका एयरलाइन्सले कुनै तेस्रो एयरलाइन्ससँग यात्रु/कार्गो व्यापारमा साझेदारी गर्न पाउनेछन् । तेस्रो पक्षको कोड सेयरमा दुवै मुलुकले आन्तरिक वायुसेवा कम्पनीसँग पनि व्यापार साझेदारी गर्न छुट पाउने पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

दुवै मुलुकले कार्गो उडानमा सीमा तोकेका छैनन् । ‘दुवै पक्षका डेजिगनेटेड (तोकिएका) एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आआफूले निर्धारण गरेको उडान संख्या वा क्षमताका आधारमा कार्गो उडान गर्न पाउनेछन्,’ नेपाली पक्षले क्यानडाबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनमा सहभागी दुवै मुलुकका प्रतिनिधिमण्डलले ‘साइडलाइन’ बैठकमा समझदारीपत्रमा हस्ताक्षर गरेको सचिव अधिकारीले बताए । यसपछि दुवै मुलुकका अधिकारीबीच अन्तिम सम्झौता हुने उनको भनाइ छ ।

आईकाओको मुख्यालयमा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अस्ट्रेलियाका तर्फबाट संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका निर्देशक जिम वल्फ नेतृत्वको टोली थियो । नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य थिए । नेपाली प्रतिनिधिमण्डलमा कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा र पर्यटन मन्त्रालयका उपसचिव नेपाल थिए ।

प्रकाशित : आश्विन १४, २०७६ २१:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न जेष्ठ नागरिकलाई मात्रै विमान चढ्दा ५० प्रतिशत छुट

सुरज कुँवर

काठमाडौँ — वायुसेवा संचालक संघ (आवन) मा आवद्ध सातवटा एयरलाइन्स (बुद्ध, यति, तारा, समिट, सिता, सिम्रिक र सौर्य) ले ७० वर्षदेखि माथीका जेष्ठ नागरिकलाई सर्तसहित हवाई भाडामा ५० प्रतिशत छुट दिन सहमत भएका छन् ।


यो सुविधा सबै जेष्ठ नागरिकलाई भने खुला गरिएको छैन। आफुलाई विपन्न भनेर स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई मात्रै एयरलाइन्सहरुले यो छुट उपलब्ध गराउने भएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको २६ औं दिन भदौं ९ गते मन्त्री योगेश भट्टराईले १ सय ४१ वटा कार्ययोजनासहितको एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम ल्याएका थिए। तर, वायुसेवा संचालक संघको शुक्रबार बसेको बैठकले सबै जेष्ठ नागरिक नभई विपन्न जेष्ठ नागरिकलाई मात्रै हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

यो निर्णय आइतबारदेखि लागू हुने छ। ‘७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालयमा आई स्वयंले आफु विपन्न भएको व्यहोरा स्वघोषणा गर्नु पर्नेछ,’ आवनको निर्णयमा उल्लेख छ।

यो सुविधा ‘अपर लिमिट’ सबभन्दा मंहँगो भाडा दरमा मात्रै लागु हुने छ। वायुसेवा कम्पनीले छुटको सिट भने सिमितमात्र तोकेका छन्। सुगम रुटमा एउटा एयरलाइन्सले प्रति दिन दुई जनालाई मात्रै छुट दिने छ भने दुर्गम पहाडी रुटमा प्रति सेक्टर एक जना विपन्न यात्रुले मात्रै छुट पाउने छन्।

यसअघि आवनले मन्त्रीले आफुहरुसँग छलफल नै नगरी यो कार्यक्रम ल्याएको भन्दै तत्कालिन अध्यक्ष पवित्रकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले भदौं १० गते (भोलीपल्ट) नै असहमती पत्र लेखेको थियो।

पर्यटन मन्त्रीको यो कार्यक्रममा समर्थन जनाउदै राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र आवनको सदस्यता नलिएको निजी क्षेत्रको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई छुट दिने प्याकेज सार्वजनिक गरिसकेका छन्।

श्रीकै काउन्टरबाट टिकट खरिद गर्ने दुई जनालाई छुट दिने भनेको छ भने निगमले असोज १ गते ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट लागू गरिसकेको छ।

प्रकाशित : आश्विन १०, २०७६ २०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×