२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अस्ट्रेलिया उडानको बाटो खुल्यो

नेपालले तोकेका वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थमा सातामा ७ वटासम्म उडान गर्न पाउनेछन् ।
सुरज कुँवर

काठमाडौँ — अन्तर्राष्ट्रिय उडान अनुमतिप्राप्त नेपाली वायुसेवा कम्पनीका लागि अब अस्ट्रेलियाका लागि सिधा उडानको बाटो खुलेको छ ।

अस्ट्रेलिया उडानको बाटो खुल्यो

क्यानडाको मन्ट्रियलमा नेपाल र अस्ट्रेलियाका प्रतिनिधिमण्डलले मंगलबार हवाई सेवा सम्झौता गरेका छन् । अस्ट्रेलियासँग भएको समझदारीपछि नेपालले हवाई सम्झौता गरेका मुलुकको सूची ४० पुगेको छ ।


दुवै मुलुकका अधिकारीबीच भएको समझदारीपत्रअनुसार नेपालले तोकेका वायुसेवा कम्पनीले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थमा सातामा ७ वटासम्म उडान गर्न पाउने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । अस्ट्रेलियाले यी ठूला चार सहरबाहेकका अरू सहरमा पनि नेपाली वायुसेवालाई असीमिति उडान गर्न दिने भएको छ ।


अस्ट्रेलिया सरकारले तोकेका अस्ट्रेलियन वायुसेवा कम्पनीलाई नेपालले सातामा ३५ उडान अनुमति दिएको छ । जसमा काठमाडौंमा सातामा ७ वटा उडान गर्न पाइनेछ । बाँकी २८ वटा उडान भने अब सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछन् ।


दुवै मुलुकका वायुसेवा कम्पनीलाई फिफ्थ फ्रिडम (पाँचौं ट्राफिक अधिकार) उपयोग गर्न पाउने बाटो पनि खुलेको छ । यो अधिकार प्रयोग गर्नेहरूले दुई गन्तव्य बिन्दुबाहेक उडानका क्रममा थप तेस्रो हवाई (मध्यवर्ती) बिन्दु हुँदै यात्रु सेवा तथा कार्गोको व्यापार गर्न पाउँछन् ।


नेपालले अस्ट्रेलियन वायुसेवालाई दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वी एसियाका कुनै दुई बिन्दु पाँचौं ट्राफिक अधिकारका आधारमा उपयोग गर्न छुट दिएको छ । अस्ट्रेलियन पक्षका वायुसेवाले नेपालका गन्तव्य बिन्दुभन्दा पर (वियोन्ड प्वाइन्ट) का रूपमा अन्य दुई बिन्दु प्रयोग गर्न पाउनेछन् तर भारतको दिल्ली भने रोज्न पाउने छैनन् ।


अर्थात् काठमाडौंबाट उड्दा भारतको दिल्ली प्रयोग गर्न पाउने छैनन् । उता अस्ट्रेलियाले नेपाली वायुसेवालाई गन्तव्य बिन्दुभन्दा पर (वियोन्ड प्वान्ट) का रूपमा न्युजिल्यान्डका दुइटा गन्तव्य प्रयोग गर्न दिएको छ । यसअनुसार अब नेपाली वायुसेवा कम्पनीले अस्ट्रेलियाबाहेक न्युजिल्यान्डबाट पनि यात्रु तथा कार्गो बोक्न पाउनेछन् ।


दुवै मुलुकका अन्तर्राष्ट्रिय एयरलाइन्सले थर्ड पार्टी कोड सेयरको अधिकार पनि पाउने समझदारीपत्रमा उल्लेख छ । यो अधिकारले दुवै मुलुकका एयरलाइन्सले कुनै तेस्रो एयरलाइन्ससँग यात्रु/कार्गो व्यापारमा साझेदारी गर्न पाउनेछन् । तेस्रो पक्षको कोड सेयरमा दुवै मुलुकले आन्तरिक वायुसेवा कम्पनीसँग पनि व्यापार साझेदारी गर्न छुट पाउने पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।


दुवै मुलुकले कार्गो उडानमा सीमा तोकेका छैनन् । ‘दुवै पक्षका डेजिगनेटेड (तोकिएका) एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आआफूले निर्धारण गरेको उडान संख्या वा क्षमताका आधारमा कार्गो उडान गर्न पाउनेछन्,’ नेपाली पक्षले क्यानडाबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनमा सहभागी दुवै मुलुकका प्रतिनिधिमण्डलले ‘साइडलाइन’ बैठकमा समझदारीपत्रमा हस्ताक्षर गरेको सचिव अधिकारीले बताए । यसपछि दुवै मुलुकका अधिकारीबीच अन्तिम सम्झौता हुने उनको भनाइ छ ।


आईकाओको मुख्यालयमा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अस्ट्रेलियाका तर्फबाट संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका निर्देशक जिम वल्फ नेतृत्वको टोली थियो । नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य थिए । नेपाली प्रतिनिधिमण्डलमा कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा र पर्यटन मन्त्रालयका उपसचिव नेपाल थिए ।

प्रकाशित : आश्विन १४, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?