जागरण अभियानले पार्टी सुदृढीकरणमा सहयोग : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले दोस्रो चरणको जागरण अभियानले पार्टीमा उत्साह र क्रियाशीलता बढाएको बताएको छ । भदौ २४ देखि असोज ७ सम्म देशभर चलेको जागरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १५ दिनमा वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजार भन्दा बढी कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

जागरण अभियानले पार्टी सुदृढीकरणमा सहयोग : कांग्रेस

‘बोल्ने कम, सुन्ने बढी’ पूर्व निर्धारित अवधारणाका कारण देशभरिबाट हजारौंको सल्लाह, सुझाव, आलोचना र महत्वपूर्ण विचार पार्टीलाई प्राप्त भएका छन’ शर्माले भने,‘आगामी दिनमा थप परिस्कृत ढंगले अघि बढ्न प्राप्त सबै भावनाले पार्टीलाई उर्जा प्रदान गरेको छ र पार्टीले ती सबै भावनालाई सम्पतिका रुपमा ग्रहण गरेको छ ।’


‘सत्तामा संरिक्षत नवमण्डले प्रवृत्ति चरित्र’

कांग्रेसले जागरण अभियानका क्रममा भएको बाँके र पछिल्लो पटक तनहूँमा भएको घटनालाई नवमण्डले प्रवृत्ति भनी चित्रण गरेको छ ।


‘बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहूँमा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो’ कांग्रेसले भनेको छ,‘यसबीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवामाथि गरिएको सांघातिक हमलापनि निन्दनीय छ ।’


कांग्रेसले पछिल्लो समयमा समाजमा व्याप्त असन्तुष्टी र वितृष्णा सरकारको डेढ वर्षे कृयाकलपाको उपज रहेको बताएको छ । ‘अव्यवस्थाको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभइ प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ’ कांग्रेसले भनेको छ ।


उसले रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डेलकरणको दिशामा नधकेल्न नेकपा नेतृत्वको सरकारलाई अपिल समेत गरेको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?