१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वन्यजन्तुलाई ‘क्यानोपी ब्रिज’ 

अब्दुल्लाह मियाँ

काठमाडौँ — राजमार्गमा चल्ने सवारीले किचेर वन्यजन्तु मर्नेक्रम बढेपछि बाँके निकुञ्जले पहिलो पटक क्यानोपी ब्रिज (पुल) बनाएको छ । जुट, रेशमको डोरी र काठ प्रयोग गरेर राजमार्गमाथि ६ वटा क्यानोपी पुल बनाइएको हो । 

वन्यजन्तुलाई ‘क्यानोपी ब्रिज’ 

बाँदर, लाखर्के, न्याउरीमुसा, गोहोरो र निर बिरालो धेरै मरेको पाइएपछि दायाँबायाँ रुखमा डोरी टाँगेर पुल बनाइएको हो । निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले अधिकांस समय रुखमा बस्ने बाँदर, लोखर्केले ओहोर दोहोर गर्न उक्त पुलको प्रयोग गर्ने भएकाले सडक दुर्घटनाबाट मर्ने वन्यजन्तुको संख्या घट्ने विश्वास व्यक्त गरे ।


निकुञ्जखण्डको पूर्व–पश्चिम राजमार्गको अगैयादेखि ओभरी खण्डमा ३ र रत्नमार्गको चिसापानी खण्डको २ ठाउँ गरी ६ वटा क्यानोपी पुल बनाइएको हो । ‘यसलाई परीक्षणको रुपमा सुरु गरिएको छ’ थपलियाले भने, ‘कुन वन्यजन्तुले कति प्रयोग गर्छन् भन्ने सूचनाका लागि ९ वटा क्यामेरा ट्रयाप जडान गरिएको छ ।’ ६ महिना क्यामेराबाट अनुगमन गरिनेछ ।


राजमार्गको खैरीमा २५, मुगुवामा २४, मुगवामै २२, चिसापानीमा १७ र चिसापानीमै १४ मिटर लम्बाईका क्यानोपी पुल बनाइएको हो । सबै पुलको उचाईँ ८ मिटर छ भने चौडाई आधा मिटर छ ।


आर्थिक वर्ष ०७१/७२ देखि २०७६/७७ को भदौसम्म पूर्व–पश्चिम र रत्न राजमार्ग खण्डमा सवारी साधनले किचेर २ सय ८० वन्यजन्तु मरेका थिए । सबभन्दा बढी बाँदर, लोखर्के, मनसाप्रो, गोहोरो, न्याउरी मुसा र नीर बिरालो मरेका छन् ।


बाँके निकुञ्ज पूर्व–पश्चिम राजमार्गको शिवखोलादेखि पश्चिमको कोहलपुरसम्म ७२ किमि क्षेत्रमा फैलिएको छ । वीरेन्द्रनगर जोडिने रत्नराजमार्गको कोहलपुरदेखि बबईसम्मको ३० किमि क्षेत्रमा पनि बाँके र बर्दिया निकुञ्जमा फैलिएको छ । धेरै भाग राजमार्गमा पर्ने भएकाले वन्यजन्तु सवारी साधनको मारमा पर्ने गरेका छन् ।


निकुञ्जले राजमार्गमा पर्ने निकुञ्जको भागमा सवारी साधनको गति ४० किमि प्रतिघण्टा तोके पनि त्यो भन्दा बढी गतिमा सवारी साधन गुड्ने गरेका छन् ।

प्रकाशित : आश्विन १४, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?