कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन् ।

'सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,' पत्रमा भनिएको छ ।

सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ थियो ।

त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन समेत गरेका थिए ।

यौन दुर्व्यवहार भोगेको बताउने महिलाले आफूलाई महराले कुटपिटसमेत गरेको आरोप लगाउँदै आफ्नो तीनकुनेस्थित भाडाको फ्ल्याटमा महराको चस्माको टुक्रा, जुत्ताको भाग आदि छुटेको दाबी गरेकी छन् । यसबाहेक सभामुखसँग त्यहाँ आउनुअघि र पछि पनि फोन र भाइबरमार्फत कुराकानी भएको उनको भनाइ छ ।

प्राविधिक छानबिनबाट यसको सत्यता बुझ्न गाह्रो हुन्न । तर प्रहरीले उजुरी नआएको बताउँदै यसबारे औपचारिक अनुसन्धान गरेको छैन ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट राजिनामा गर्न सुझाव दिने निर्णय गरेको थियो । त्यसपछि सभामुखको राजीनामा आएको हो ।

प्रकाशित : आश्विन १४, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?