कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बँदेल रोक्न गाउँभरि तारजाली

डीआर पन्त

(डडेलधुरा) — अजयमेरु २ का किसान वीरबहादुर ऐर ७ वर्षपछि बर्खे बाली भित्र्याउन पाउने आशामा छन् । बँदेलको बाटो छेक्न घेराबार लगाएपछि उब्जनी भित्र्याउन पाउने आशा पलाएको हो ।

वर्षभर परिश्रम गरी उब्जाएको बाली काट्ने बेला बँदेलको झुन्डले नाश गरिदिन थालेपछि अजयमेरुका किसानको आधा जमिन बाँझै थियो । उनीहरूले यस वर्ष ७ किलोमिटर खेतबारीलाई ग्याबिन तारले घेरबार गरेका छन् ।


गाउँपालिकाको सहयोगमा स्थानीयले आफैं तारजाली बुनेर ३ गाउँको ७ किलोमिटर क्षेत्रमा घेराबार लगाएका छन् । ‘खेती लगायो, भित्र्याउने बेला बँदेलले सखाप पार्थ्यो,’ वीरबहादुरले भने, ‘अब भने उब्जनी पाइएला कि भन्ने छ ।’ बँदेलले बर्सेनि उब्जनी नष्ट गर्न थालेपछि गाउँले धेरैको जमिन बाँझो थियो । ‘गाउँपालिकाले स्थानीयलाई नै ग्याबिन जाली बुन्न लगाएर खेतीयोग्य जमिनमा बार लगाएको छ,’ अजयमेरु २ का अध्यक्ष शिवराज भट्टले भने, ‘बँदेल नियन्त्रण नहुँदासम्म यस क्षेत्रमा खेतीपाती गर्नु भनेको कृषकले वर्षभरको परिश्रम खेर फाल्नु हो ।’


मकै, भटमास पकेट संरक्षण क्षेत्रको ७ लाख, अजयमेरु गाउँपालिकाको नमुना बस्ती निर्माणको क्रमागत रकम ३ लाख र स्थानीयको श्रमदानले तारजाली गरिएको पनि उनले बताए । किसानले बर्सेनि ठूलो क्षति बेहोर्नुपरे पनि स्थानीय प्रशासन र सरोकारवाला निकायले चासोसमेत नराखेको यहाँका किसानले बताए । यस विषयमा गाउँपालिकाका पदाधिकारीसँग छलफल गरेपछि तारजालीले खेतबारी घेर्ने निर्णय गरिएको हो । अजयमेरु गाउँपालिका जस्तै अन्य स्थानीय तहमा पनि बँदेल नियन्त्रणका लागि आवश्यक काम गर्न जनप्रतिनिधिलाई निकै दबाब परेको छ ।


अजयमेरुमा सुरु गरिएको तारजाली कार्यक्रम अन्य क्षेत्रका पीडित कृषकले अवलम्बन गर्न थालेका छन् । भागेश्वर गाउँपालिकामा पनि बर्सेनि ठूलो मात्रामा मकै, धान, आलु र भटमासलगायत उब्जनी वन्यजन्तुले सखाप पार्दै आएका छन् ।


प्रकाशित : आश्विन १४, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?