२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अनि उनले संसार देखे

जनकराज सापकोटा

काठमाडौँ — २१ वर्षको उमेरसम्म उनले कालो रङ मात्रै चिनेका थिए । रंगीन संसारबारे सुनेका मात्र थिए । त्यो संसार कस्तो होला भनेर एकाधपल्ट कल्पना पनि गरेका थिए । जब त्यो दिन आयो अनि उनले थाहा पाए, संसार साँच्चै रंगीविरंगी पो रहेछ । कल्पनाभन्दा फरक, सोचेभन्दा अलग । 

अनि उनले संसार देखे

यो उमेरमा उनले पहिलोपल्ट आकाशको रङ चिने । त्यो नीलो थियो । बादलको रङ चिने । सेतो थियो । रूख हरियो हुन्छ भन्ने सुनेका थिए । तर एउटै रूखका पातहरूमा पनि कैयौं थरी हरियो रङ हुँदा रहेछन् भन्ने चिने । शनैः शनैः रातो, पहेँलो, खैरो, बैजनी, गुलाबी र अरू–अरू रङ पनि चिने । उनले देखे, संसार अनेकन रङहरूले पोतिएको रहेछ । यो सरकारी कागजातमा टोपप्रसाद शर्मा नाम भएका सल्यान दमाचौरका ४५ वर्षीय नरहरिको कथा हो । २१ वर्षअघि र पछि गरी दुई भागमा बाँडिएको उनको जिन्दगीको पहिलो भागमा दुःख, सास्ती र हैरानीको पल्ला छ भने दोस्रो भागमा खुसी, उत्साह र आत्मविश्वासको पल्ला । जोखेर उनले हेरेका छैनन्, जिन्दगीमा केको पल्ला भारी छ । तर उनको निष्कर्ष छ, ‘म संसारका विरलै भाग्यमानी मान्छेमध्ये एक हुँ ।’


जन्मँदै दृष्टि गुमाएका नरहरि बायाँ आँखाको चेपबाट मसिनो सेतो धर्कोजस्तो उज्यालो मात्रै देख्थे । मुस्किलले दिन र रात खुट्ट्याउँथे । उनको दृष्टिक्षमता अक्षर चिन्न, बाटो पहिल्याउन, रङहरू ठम्याउन, मान्छे चिन्नजस्ता कुनै पनि अत्यावश्यक कामका लागि पर्याप्त थिएन । चिना टिप्पन हेर्दै अरूको भाग्य र भविष्य बताउने ज्योतिषी मेघराज शर्मा आफ्ना छोराको भविष्यबारे जानकार थिएनन् । उनकी जेई अर्थात् आमा गुप्तीकुमारी भने साइँलो छोरालाई दैवले ठगेको ठान्थिन् । आँखा नदेख्ने भएकै कारण उनले आठ वर्षको उमेरमा मात्र घरदेखि आधा घण्टाको दूरीमा रहेको भानुभक्त मावि टेके । छोरालाई स्कुल जान सजिलो होस् भनेर बाले काइँलो भाइसँगै उनलाई विद्यालय हाल्दिएका थिए । साथीहरू बेफिक्री दौडिन्थे । उनी पनि त्यसैगरी दौडिन खोज्थे । साथीहरू पुराना कपडा मोजामा कोचेर बनाइएको गोला खेल्थे । उनी पनि खेल्न खोज्थे । तर, प्रत्येकपल्ट ठेस लागेर लड्थे । त्यति बेलै उनले थाहा पाए, म अरूभन्दा फरक छु ।


‘फरक छु भन्ने त महसुस थियो । तर कति फरक छु भन्ने पत्तो थिएन,’ उनले भने । सहपाठीहरू उनको शारीरिक क्षमतालाई गिज्याउने विषय बनाउँथे । उनले भने, ‘हिँड्ने बाटोमा सिस्नो राखिदिन्थे । मलाई पोलेपछि उनीहरू खितखिताउँदै हाँस्थे । म रुँदै–रुँदै बाटो लाग्थे । देख्न सक्दैन भनेर बाटोमा काँडा राखिदिन्थे । पैंतालामा बिझेपछि म मूर्छा पर्थें तर साथीहरू हाँस्दै गिल्ला गर्थे ।’


इष्टमित्र भने उनलाई दयाको भावले हेर्थे र भन्थे, ‘विचरा यसले कसरी गरिखाला ? ’ जेई भन्थिन्, ‘हामी मरेपछि यसलाई कसले हेर्ला ? कसले पाल्ला ? ’ उनलाई स्पष्ट सम्झना छ, यसो भनेपछि प्रत्येकपल्ट आमा रुन्थिन् । आमाको आँखाबाट आँसु कसरी गुल्टिन्छ भन्ने त उनलाई थाहा थिएन । तर आमा सुँकसुँकाएको उनी थाहा पाउँथे र लख काट्थे, आमा मेरै पीरले रोइरहेकी छिन् ।


९ वर्षको उमेरमा उनलाई बाले नेपालगन्जको भेरी अञ्चल अस्पताल पुर्‍याए । गाउँबाट नेपालगन्जसम्म पुग्नु उति सजिलो थिएन । उनले त्यो समय सम्झिँदै सुनाए, ‘कहिले बाको हात समातेर हिँड्दै, कहिले पिठ्युँमा चढ्दै साढे तीन दिनपछि अस्पताल पुग्यौं ।’ त्यहाँ एक विदेशी डाक्टरले उनको बायाँ आँखाको शल्यक्रिया गरे । त्यसपछि आँखाको ज्योति फर्किन्छ भन्नेमा बा ढुक्क थिए । तर सोचेभन्दा ठीक उल्टो नतिजा आयो । १४ दिनको उपचारपछि जब उनले आँखाको पट्टी खोले तब थाहा पाए, रात–दिन छुट्याउने पातलो धर्कोजस्तो उज्यालो पनि आँखाबाट गयो । निस्पट्ट अन्धकारले घेर्‍यो ।


शल्यक्रिया असफल भएपछि डाक्टरले बालाई सुनाएको कुरा उनले झलझली सम्झेका छन् । भनेका थिए, ‘तपाईंको छोराको आँखा सधैंका लागि नबन्ने भयो । हुनेसम्म प्रयास गरें । केही सीप लागेन । अब पैसा सिध्याउने काम नगर्नुस् ।’ उनले त्यो दिन सम्झिँदै सुनाए, ‘डाक्टरको कुरा सुनेपछि बा सुँक्क–सुँक्क गर्नुभयो । खुइँय गर्दै लामो सास फेर्नुभयो । अनि पीरले दुई–तीन छाकसम्म भातै खानु भएन ।’


अस्पतालबाट फर्केपछि पनि उनले स्कुल जाने हिम्मत हारेनन् । उनी पढाएको सुन्थे । कण्ठस्थ पार्ने प्रयास गर्थे । आँखानजिकै ठूलो वर्णमाला लगेर अक्षरको आकार ठम्याउन खोज्थे । दृष्टि नभएकै कारण उनले तल्ला कक्षामा सुनाइ–बोलाइकै आधारमा कक्षा चढ्ने सुविधा पाए । अलिक माथिल्ला कक्षा पुगेपछि भने अरूलाई तीन घण्टाको परीक्षा समय तोकिँदा उनलाई अरूको सहयोगमा जति घण्टा लगाए पनि हुने गरी छुट दिइन्थ्यो । बेलाबेला उनी सकी–नसकी कापीमा कलम धस्थे । अक्षरको आकार त आउँथ्यो तर न डिको हुन्थ्यो न लहर मिलेको हुन्थ्यो ।


अरूलाई जस्तै उनका बालाई पनि दृष्टि नभएकाले पढ्न सक्छन् भन्ने पत्यार थिएन । चार कक्षाको कुरा हो । एक दिन बासँग अनुरोध गरे, ‘बा, सबै साथीले किनिसके । मलाई पनि डिस्नेरी किन्दिनु न ।’ जवाफमा जे आयो, त्यसले उनलाई पिडालु चपाएजस्तो बनाइदियो । उनले बाको जवाफ जस्ताको त्यस्तै सुनाए, ‘मह नकाढ्ने मौरीको चिलाइ धेरै । यही भन्नुभएको थियो बाले ।’


कहिलेकाहीँ रेडियोमा आँखा शिविर बस्दै छ भन्ने सूचना बज्थ्यो । उनी दाइलाई भन्थे, ‘मलाई त्यहाँ लग्देओ न । तै उपचार भइहाल्छ कि ।’ जवाफमा दाइ हकार्दै भन्थे, ‘तेरो आँखा जाँ गए पनि बन्दैन । उपचारका नाममा यसले धन मात्रै सक्ने भयो ।’ नेपालगन्जका विदेशी डाक्टरको कुरा सुनेर बा र जेईले पनि छोराले अब कहिल्यै आँखा देख्दैन भनेर आशा मारिसकेका थिए ।


नौ छोराछोरी पाएपछि पनि उनकी जेई गर्भवती थिइन् । सुत्केरी हुनु केहीअघि नै अत्यधिक रक्तस्राव भयो । त्यही छटपटीमा जेई बितिन् । त्यति बेला उनी १६ वर्षका मात्रै थिए । लगत्तै बाले अर्को बिहे गरेपछि उनको मन घरमा अडिएन । सबैको हेपाइ सहँदै हुर्केका उनी माया गर्ने जेई बितेपछि विरक्तिए ।


जेई बितेको पाँच वर्षपछि एक दिन उनले काइँलो भाइलाई फकाए, ‘हिँड् जाम शिवरात्रिको मेला हेर्न ।’ भाइको हात पक्रेर निस्किएका उनको उद्देश्य अर्कै थियो । भाइलाई फकाएर सल्यानकै शंखमूल भन्ने ठाउँसम्म आइपुगे । त्यहाँसम्म जेनतेन गाडी आइपुग्थ्यो । उनले पहिलोपल्ट गाडीको आवाज सुने । भाइलाई भने, ‘म गाडीको आवाज सुन्दै गर्छु । तँ मेलामा नाचगान हेर्दै गर ।’ भाइ हिँडेपछि उनी खुसुक्क गाडीभित्र लुकेर बसे ।


त्यो गाडी दाङको तुल्सीपुर पुगेर रोकियो । उनले सुनेका थिए, दुःख परेकालाई पुलिसले सहयोग गर्छ । उनले रेडियोबाट थाहा पाएका थिए, काठमाडौंमा ठूलठूला डाक्टर बस्छन् । त्यही सोचेर सके उपचार गरौंला नत्र त्यतै मरौँला भन्दै उनी काठमाडौं जान सुरिए । पुलिसकै सहयोगले साझा बस चढेर काठमाडौं आइपुगे । बालाजुको बसपार्कमा झरे र बटुवाको सहयोगमा गौशाला पुगे ।


गाडीले उनलाई ठ्याक्कै धर्मशालाअघि ओरालिदिएछ । कसैले हात पक्रेर धर्मशालाभित्र छिराइदियो । उनी छामछाम छुमछुम गर्दै यताउता हिँडिरहेका थिए । धर्मशालाभित्र क्यान्टिन चलाएर बसेका बिहार, किसनगन्जका मुकुलकुमार सिन्हाले उनलाई देखे । सित्तैमा एकछाक खान दिए । धर्मशालामा टोलाएर बसिरहेका बेला कसैले उनलाई आँखाबारे सोध्यो । त्यसरी मायालु स्वरमा सोध्ने को थियो, उनलाई थाहा छैन । न उनले नाम सोधे न सोध्नेले नै बतायो । त्यही अपरिचितले उनलाई तिलगंगाको आँखा अस्पतालबारे बताएर त्यसको गेटसम्मै पुर्‍याइदियो ।


उनलाई स्पष्ट सम्झना छ, त्यो २०५३ असोज ५ गते थियो । उनी अस्पतालको प्रांगणमा टुक्रुक्क बसिरहे । के बोल्ने, के सोध्ने ? कसलाई भेट्ने ? केही थाहा थिएन । कसैले उनको हात पक्रेर एउटा कोठाभित्र छिरायो । मधुरो स्वरमा सोध्यो– तिमीलाई के भयो ? उनले बेलीबिस्तार लगाए । ती मान्छेले सुस्तरी हात पक्रे । केही जाँच गरे र भने, ‘तिम्रो एउटा आँखा त बिग्रिसक्यो । अर्को पनि सजिलै बन्लाजस्तो छैन ।’ सुनेर उनलाई आकाश खसेर थिचेजस्तो भयो । भासिएको स्वरमा भने, ‘त्यसो भए मेरो जीवन यत्तिकै भयो हैन त ? यसैगरी बाँच्नुको त अर्थै छैन ।’ जीवनदेखि हार खाएको कुरा सुनेपछि ती मान्छेले भने, ‘तैपनि एकचोटि विशेष परीक्षण गरेर हेरौं ।’


अस्पतालका एक कर्मचारीले उनलाई कोठा नम्बर ३ भित्र छिराए । डा. नवीनचन्द्र राईले उनको विशेष परीक्षण गरे । अरू डाक्टरले के–के गरे, उनले मेसो पाएनन् । तर केही गरिरहेका छन् भन्ने महसुसचाहिँ गरे । बेलुकीतिर परीक्षणको रिपोर्ट आयो । सुरुमा जाँच्ने तिनै मान्छेले उनलाई स्नेही स्वरमा सुनाए, ‘तिम्रो आँखा त थोरै खुल्लाजस्तो छ ।’ अब नरहरिलाई संसारै खुलेजस्तो भयो । सुस्तरी भने, ‘खुलेन भने त मेरो जीवन यत्तिकै भयो । खुल्छ भने थोरै भए पनि खोल्दिनुस् ।’


शल्यक्रिया हुने भयो । उनले सोधे, ‘कति पैसा लाग्छ होला नि सर ? ’

तिनले उल्टै सोधे, ‘तिम्लाई पैसा ठूलो कि जीवन ?’

भने, ‘जीवनै ठूलो सर ।’


केही दिनमै शल्यक्रिया हुने भयो । तर अस्पतालबाट फर्केर उनी जाने ठाउँ थिएन । तिनै स्नेहीले उनलाई धर्मशालासम्म पुर्‍याइदिए र बस्ने चाँजो मिलाइदिए । शल्यक्रिया गर्ने दिन उनी सोध्दै खोज्दै अस्पताल पुगे ।


शल्यक्रियाअघि संरक्षकको हस्ताक्षर गर्नुपर्ने कागजी प्रक्रिया बाँकी नै थियो । घरदेखि भागेर हिँडेको मान्छेको कहाँ संरक्षक खोज्नु ? उनले आफ्नो सबै कथा फेरि कर्मचारीलाई सुनाए अनि संरक्षक लेखिएको ठाउँमुनि आफ्नै हातले औंठाछाप लगाए । उनलाई शल्यक्रिया कक्षभित्र लगियो । उनले २३ वर्षअघिको त्यो क्षण सम्झिए, ‘भित्र लगेपछि के–के भयो मैले मेसो पाइनँ ।’ नरहरिको आँखामा जन्मजात मोतियाबिन्दु भएको रहेछ । स्नेही स्वरका तिनै डाक्टरले आँखाको लेन्सछेउ सानो प्वाल बनाए । अचुक तरिकाले केराउका दाना जत्रा मोतियाबिन्दु हटाए अनि प्लास्टिकका मसिना इन्ट्राकुलर लेन्स फिट गरिदिए ।


उनलाई सम्झना छ, शल्यक्रियामा डाक्टर नवीन र डाक्टर करुणा श्रेष्ठ पनि खटिएका थिए । शल्यक्रियापछि आँखामा पट्टी लगाइयो । अस्पताल बसुन्जेल कर्मचारी राधेश्याम शाहले उनलाई खाना र औषधिको प्रबन्ध मिलाइदिए । तेस्रो दिन पट्टी खोल्नुअघि स्नेही डाक्टरले सोधे, ‘आँखा देख्ने भयौ भने के गर्छौ ?’


उनले भने, ‘देख्ने मात्रै भए त कस्तो हुन्थ्यो ? कल्पनै गर्न सक्दिनँ ।’


सुस्तरी डाक्टरले उनको पट्टी खोलिदिए । त्यसपछि जे भयो, उनी शब्दमा वर्णन गर्न सक्दैनन् । उनी एकैचोटि आँखै तिरमिराउने उज्यालो संसारमा अवतरित भएका थिए । उनले आफ्ना अगाडि त्यही स्नेही स्वर भएको मान्छे देखे । उनी थिए, आँखाका प्रख्यात डाक्टर सन्दुक रुइत ।


उनले पहिलो पटक मान्छेको अनुहार देखे । त्यसपछि चारैतिर हेरे । स्पर्सबाट अनुमान लगाइएको वस्तुको आकार उनी आफ्नै आँखाले देखिरहेका थिए । प्रत्येक वस्तुका आ–आफ्नै रंग थिए । तर ती रंग उनले चिनेनन् । कुन रंगलाई के भनिन्छ, थाहा थिएन ।


उनले चारैतिर आँखा घुमाए तर केही बोल्न सकेनन् । त्यो पल सम्झिँदै उनले सुनाए, ‘एकैचोटि सोच्दै नसोचेको खुसी मिल्दा त बोल्ने शब्द पनि हराउँदो रै’छ ।’ नरहरिलाई आफू दोस्रोपल्ट जन्मेजस्तो महसुस भयो । पहिलोपल्ट आमाको कोखबाट । अर्कोचोटि डाक्टर सन्दुक नेतृत्वको शल्यक्रियाबाट । पहिलोपल्ट जन्मिँदा संसार अँध्यारो थियो । दोस्रोपल्ट जन्मिँदा उज्यालो ।


आँखामा नयाँ पट्टी राखियो । ११ दिनसम्म नियमित औषधि राख्नुपर्ने डाक्टरको सुझाव थियो । त्यतिन्जेल एउटै सुरुवाल र मैलो भइसकेको सर्ट देखेर अस्पतालले नै नयाँ कपडा किनिदियो । पट्टी खोलेपछि अस्पतालले उनलाई धुलो छेक्ने चस्मा लगाइदियो ।


आशा सकिएर निराशाको गर्तमा डुबेका नरहरि उपचार सकिएको २५औं दिन उत्साहको चुली टेक्दै हिँडिरहेको महसुस गर्दै थिए । उनी भर्खर संसार सिक्दै गरेको बालकझैं जिज्ञासु देखिन्थे । चारैतिर आँखा डुलाएको डुलायै गर्थे । प्रत्येक चिज अनौठो देख्थे । प्रत्येक दृश्य नयाँ लाग्थे । प्रत्येक मान्छे, तिनका हाउभाउ, तिनको अनुहारको भाव सबै–सबै नयाँ लाग्थे । अब उनी आफू जन्मेको, आफू हिँडेको, आफू लोटेको ठाउँ हेर्न चाहन्थे । बाको अनुहार हेर्न चाहन्थे । तर घर फर्किने भाडा कहाँबाट होस् । धर्मशालाका उनै मनकारी मुकुलले उनलाई तीन सय दिएर भने, ‘सके तिर्नू । नसके भैगो ।’


सबै कुरा उही थियो । तर नरहरिका निम्ति संसारै बदलिएको थियो । लड्दैपड्दै, छामछाम–छुमछुम गर्दै हिँडेको गाउँमा उनी ठमठमी हिँडिरहेका थिए । पाइलामा गति थियो, अनुहारमा आभा । आँगन नटेक्दै परबाटै उनलाई बाले देखिहाले । लडिहाल्लाजसरी बिस्तारै खुट्टाभन्दा हात अघि चालेर हिँड्ने छोरो ठमठमी हिँडेको देख्दा उनले लख काटिहाले– पक्कै छोराले दृष्टि पायो ।


उनले पहिलो पटक बाको अनुहार नजिकबाट हेरे । मान्छेका अनुहार फरक–फरक हुन्छन् । अनि बाको अनुहार झनै प्रिय हुन्छ भन्ने उनले त्यही बेला महसुस गरे । कसैले जवान बा, कसैले वयस्क बा देखे तर उनले देख्दा बाको अनुहारमा उमेरले धर्काहरू कोरिसकेको थियो ।


त्यो क्षण सुनाउँदै गर्दा उनको वाचाल मुख पनि टक्क रोकियो । शब्द घाँटीमै अड्कियो । आँखाको डिलभरि आइसकेको आँसु पुछ्दै भने, ‘धेरैबेरसम्म म बोल्नै सकिनँ । भावविह्वल भन्छन् नि, हो त्यस्तै भयो ।’ उनले लामो सास ताने । अनि फेरि भने, ‘दुःख भोग्नभन्दा त्यो भोगाइको कथा सुनाउन गाह्रो हुँदो रहेछ ।’


धेरै बेरपछि बाले आफूलाई सम्हाल्नुभयो र सोध्नुभयो, ‘कसरी देख्ने गराइस् त साइँला ।’ उनले सबै कुरा भने अनि मनमनै आमालाई सम्झिए । अनि भने, ‘अलि पहिल्यै उपचार पाएको भए त आमाको अनुहार पनि देख्न पाउँथेँ ।’ यति भनेर उनले पर्सबाट आमाको श्यामश्वेत फोटो निकालेर देखाए । अनि भने, ‘समयमै उपचार पाको भए फोटो हेरी चित्त बुझाउन पर्दैनथ्यो ।’


दृष्टि पाएपछि महिनौं लगाएर उनले रंगहरू चिने । अक्षरहरू काला मात्रै हुँदा रहेनछन्, रंगीचंगी हुँदा रहेछन् भन्ने थाहा पाए । किताबमा अक्षर मात्रै होइन, चित्र पनि हुँदा रहेछन् भनेर जान्न पाए । दृष्टि पाएपछिको पहिलो दसैंमा जमराको रंग चिने । अक्षता गाढा रातो हुँदो रैछ भन्ने थाहा पाए । मखमली फूल कलेजी रंगजस्तै हुन्छ, सुपारे फूल बैजनी रंगको हुन्छ भन्ने थाहा पाए । दसैं बल्ल दसैंजस्तो भयो । तिहार बल्ल झिलीमिली भयो ।


उनलाई जिस्क्याउनेहरू तर्किने भए । दया गर्नेहरू स्नेही भए । छुच्चाहरू पनि असलजस्ता भए । हेप्नेहरू नहेप्ने भए । सान्त्वना मात्रै दिनेहरू मिजासिला भए । उनले छुटेको पढाइ ९ कक्षाबाट अगाडि बढाए । एसएलसी सके । आत्मविश्वासको बलमा हिँड्नुको मज्जा लिए अनि आफ्नै बुताले हिँडेर घरदेखि दुई दिन परको उपिण्डेदहस्थित नवज्योति प्राविमा अस्थायी शिक्षकको जागिरे भए । त्यसपछि पनि प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेरै छाडे ।


यिनै नरहरि अहिले सल्यानकै दमाचौर आधारभूत विद्यालयमा स्थायी प्रावि शिक्षक छन् । दुई वर्षपछि अवकाश पाउँदै छन् । उनले सोचिसकेका छन्– डाक्टर रुइतले मलाई दृष्टि दिएर नयाँ जीवन दिनुभयो । अब मैले पनि अरूलाई यसैगरी जीवन दिएर गुनको गुन तिर्नु छ । पशुपति धर्मशालाभित्र रेस्टुरेन्ट चलाएर बसेका मुकुलकुमार जसले चिन्दै नचिनेका नरहरिलाई सहयोग गरेर दृष्टि प्राप्त गर्ने बाटोमा सहयोगी बने । आइतबार दस बजेतिर धर्मशाला पुग्दा तीस वर्षदेखि एकै ठाउँ रेस्टुरेन्ट चलाएर बसेका मुकुल खाटमा ढल्किएर आराम गर्दै थिए । उनले दुई दशकअघिको समय सम्झिँदै भने, ‘छामछाम–छुमछुम गर्दै एउटा केटो आएको थियो । भलो होस् भन्ने चिताएर मैले सहयोग गरें । लेकिन त्यो कुनै ठूलो बात होइन ।’


मुकुलले खान र बस्न नदिएको भए, विश्वास गरेर घर फर्किन भाडा नदिएको भए आफूले कति दुःख पाउँथेँ, नरहरि स्वयंलाई थाहा छैन । त्यही गुन सम्झेर पनि प्रत्येकपल्ट काठमाडौं आएका बेला नरहरि उनलाई श्रद्धापूर्वक भेट्छन् । छुट्टिने बेलामा मनकारी मुकुलले जीवनको निष्कर्ष सुनाएजसरी भने, ‘यो दुनियाँमा राम्रैराम्रा मान्छे छन् । लेकिन नराम्रा मान्छेकै धेरै प्रचार भइरहे ।’


त्यसो त मानवीय सेवाभावले भरिएका आँखाका विश्वविख्यात चिकित्सक डा. रुइतसँग भेट नभएको भए नरहरि कहाँ के गर्दै हुन्थे ? यसको उत्तर उनीसँग छैन । डा. रुइतले उनको दृष्टि मात्रै फर्काइदिएनन्, नयाँ जीवनकै बाटो देखाइदिए । त्यही नयाँ बाटो हिँडेर शिक्षक भएका नरहरि गत शुक्रबार काठमाडौं आएका थिए । डा. रुइतसँग तीन वर्षको सहकार्यपछि अस्ट्रेलियाली पत्रकार अलि ग्रिपरले लेखेको ‘द बेयरफुट सर्जन’ पुस्तकको खगेन्द्र संग्रौलाले गरेको नेपाली अनुवाद विमोचन गर्न उनी निम्त्याइएका थिए ।


पुस्तक विमोचनपछि नरहरिले भने, ‘सन्दुकले आँखाको अप्रेसन गरेपछि मेरो दोस्रो जीवन सुरु भयो ।’ नरहरिको बदलिएको संसारबारे किताबमा यस्तो लेखिएको छ– अस्पताल आउँदा उनी दुब्लापातला र कुप्रो परेका थिए । बर्खायामको एक गर्मी अपराह्न आफूलाई डोर्‍याउने मानिसको कमिजको फेर समातेर धर्मराउँदै बसबाट ओर्लेर, बडो मुस्किलले वाग्मतीमाथिको पुल पार गरेर उनी अस्पतालको गेटमा आइपुगेका थिए । त्यसबखत उनीसँग खल्तीमा पाँच रुपैयाँ र लगाएको कमिज, सुरुवाल र चप्पलसिवाय केही थिएन । नरहरिले पत्रकार अली ग्रिपरसँग कुरा गर्दै भनेका थिए, ‘डाक्टर रुइतलाई कसरी स्याबासी दिने हो, मलाई थाहा छैन । मेरा लागि यो संसारमा दुईवटा चीज छन्– भगवान् र डाक्टर रुइत । साँच्चै भनूँ भने यी दुई चीज उस्तै हुन् । डाक्टर रुइतले मलाई नेत्रज्योतिभन्दा धेरै चीज दिए । उनले मलाई अर्को जीवन दिए ।’


रामोन म्यागसेसेका साथै हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाएका डा. रुइतले कति हजार नरहरिहरूको उपचार गरे त्यसको गणना सजिलो छैन । तर अझै नथाकेका यी डाक्टरले आफूले शल्यक्रिया गरेका एक लाख बीस हजारभन्दा बढीमध्ये नरहरिलाई नै किन सम्झे ? किन उनैलाई किताब विमोचन गर्न सल्यानदेखि काठमाडौं झिकाए ?


यो प्रश्नको जवाफमा विमोचनको भोलिपल्ट डा. रुइतले प्रसन्न भावमा भने, ‘जसरी तपाईं (पत्रकार) हरू सयौं रिपोर्टिङ गर्नुहुन्छ, तर एकाध रिपोर्टिङले हृदय छुन्छन् नि, हो त्यस्तै हो । उनको कथा पनि मेरा लागि त्यस्तै हो । उनी दारुण अवस्थामा काठमाडौं आएका थिए । दृष्टि पाएपछि उनको जीवन फेरियो । उनले आफ्नो परिवारको मात्र नभई समाजकै जिम्मेवारी निभाइरहेका छन् । पहिलोपल्ट भेट्दा उनी जीवन सकियो भनेर हार मानिरहेका थिए । तर दृष्टि पाएपछि अरूलाई शिक्षाको उज्यालो बाँडिरहेका छन् । त्यही भएर पनि मैले उनैलाई सम्झेको ।’

प्रकाशित : आश्विन १४, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?