दुबईमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।
दुर्घटना परी अन्य ६ जना घाइते छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ।
दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा ज्यान गएको हो । दुर्घटना सोमबार बिहान ४:५४ मा भएको थियो ।
नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपाली कामदारको नाम खुलेको पनि ठेगाना खुलिसकेको छैन । मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् । ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे ।
कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो ।
दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईका अनुसार माइक्रो बसमा १३ जना सवार थिए । मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ ।
प्रकाशित : आश्विन १३, २०७६ २१:४५