कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कतारमा नेपालीलाई पौने ३ करोड क्षतिपूर्ति

होम कार्की

काठमाडौँ — झन्डै ५ वर्षअगाडि कतारमा दुर्घटना भई हिँड्डुल गर्न र स्पष्ट बोल्न नसक्ने भएका दाङका २६ वर्षीय युवकले क्षतिपूर्तिबापत ९ लाख रियाल (झन्डै २ करोड ७० लाख रुपैयाँ) पाएका छन् ।

कतारमा नेपालीलाई पौने ३ करोड क्षतिपूर्ति

कतारमा नेपाली कामदारले पाएको क्षतिपूर्ति अहिलेसम्मकै बढी हो ।


कतारको श्रम कानुनअनुसार कामदारको ज्यान गए र शतप्रतिशत अशक्त भएमा २ लाख रियाल (६० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ । ती युवकको विशेष अवस्था रहेको भन्दै झन्डै ५ सय प्रतिशत बिमाको रकम दिलाइएको हो । ५ वर्षदेखिको उपचार खर्च पनि कम्पनीकै जिम्मेवारीमा परेको छ ।


कतारस्थित नेपाली दूतावासले पीडित परिवारले पाउने गरी असार २९ गते नै परराष्ट्र मन्त्रालयमा क्षतिपूर्ति रकम पठाइसकेको छ । कतारमा काम थालेको दुई वर्षपछि ९ अप्रिल २०१४ मा उनी सनैयामा सडक दुर्घटनामा परी कोमामा गएका थिए । उनी ३१ मे २०१२ मा कुकको काम गर्न कतार पुगेका थिए ।


उनको अपांगतासम्बन्धी अन्तिम स्वास्थ्य रिपोर्ट तयार भइनसकेकाले स्वदेश नपठाएको दूतावासले जनाएको छ । उनी अमनहाउस पुनःस्थापना केन्द्रमा उपचाररत छन् । झन्डै ३ वर्ष पूर्णरूपमा कोमामा गएका उनी ह्विलचियरमा बस्न र अस्पष्ट वार्तालाप गर्न सक्ने अवस्थामा छन् ।


पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको हो । दूतावासले नेपाल फर्केपछि निरन्तर अनुगमनका लागि मात्रै अस्पताल जानुपर्ने अवस्था रहेको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

उनलाई नेपाल ल्याएपछि वैदेशिक रोजगार कल्याणकारी कोष र म्यादी जीवन बिमाबापत थप क्षतिपूर्ति पाउने कानुनी प्रावधान छ । कतारको अस्पातलले उपचारपछि दिने अन्तिम स्वास्थ्य प्रतिवेदनका आधारमा क्षतिपूर्ति पाउने स्थिति छ ।

प्रकाशित : आश्विन १३, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?