२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पूर्वाधार निर्माणमा भारतीय अवरोध

विप्लव भट्टराई

सन्दकपुर, इलाम — सीमावर्ती सन्दकपुर क्षेत्रमा नेपालले एकलौटी संरचना बनाएको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । समस्या तत्काल नसुल्झाए नेपालतर्फ सीमावर्ती क्षेत्रमा यसअघि निर्माण थालिएका र चालु आर्थिक वर्षमा निर्माण हुने पर्यटकीय पूर्वाधारका थुप्रै कार्यक्रमलाई असर पर्ने भएको छ ।

पूर्वाधार निर्माणमा भारतीय अवरोध

प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा झन्डै एक करोडको पूर्वाधारका काम थालिएको थियो । सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १ सय मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणका क्रममा रोकिएका छन् । कन्काई माईको उद्गम स्थल र मन्दिर क्षेत्रमा भने पूर्वाधार निर्माणका काम भएका छन् ।

नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि अवरोध पुगेको छ । ३ करोड रुपैयाँको लागतमा बन्ने आवास गृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारत पक्षले सीमा यकिन नभएसम्म पूर्वाधार नबनाउन भनेको छ ।


‘पाँचथर सीमा नजिकै इलामकै क्षेत्रमा भवन बन्ने यकिन भए पनि भारतीय भनाइले काम अघि बढाउन अप्ठ्यारो भएको छ,’ सहरी विकास तथा भवन निर्माण कार्यालयका प्राविधिक प्रशान्त राईले बताए । ‘गुगल म्याप देखाएर भवन बनाउन लागिएको क्षेत्रमा काम अघि नबढाउन भनेका छन्,’ उनले थपे, ‘पानी ढलो र स्थानीयको दाबीअनुसार भवन बनाउन लागिएको क्षेत्र प्रस्ट रूपमा नेपाल पर्छ ।’ हिमालय दृश्यावलोकनसहित नेपाल, भारत र भुटानका अनेक स्थान नियाल्न सकिने यो समतल क्षेत्रमा भवन बनाउन नपाए अपायक र अप्ठेरो स्थानमा बनाउनुपर्नेछ ।


सन्दकपुरमा नेपालतर्फबाट कच्ची सडक पनि निर्माण भइसकेको छ तर मुख्य पर्यटकीयस्थलमा भारतको अवरोधले नेपालतर्फबाट पर्यटकको आवागमन वृद्धि हुँदा नकारात्मक असर पर्ने स्थानीयको बुझाइ छ । नेपालतर्फ होटल, शौचालयजस्ता पूर्वाधार बनाउँदा भारततर्फ रहेको सडकबाट निर्माण सामग्री ल्याउन कडाइ गरिएको स्थानीयले बताए । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाएको उल्लेख गर्दै सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले नेपालले बनाउँदा आपत्ति उठाउनुपर्ने अवस्था नरहेको बताए । ‘एकाएक निर्माणमा अवरोध पुर्‍याएपछि हामी सशंकित बनेका छौं,’ उनले भने, ‘झुल्केघामसँगै हिमशृंखलाको दृश्यावलोकन गर्ने डाँडामा पर्यटकको पहुँच सहज बनाउन खोजेका थियौं ।’


शेर्पा च्यालेट होटल अगाडि जंगे पिल्लर रहे पनि त्यसमाथि सहायक र सानो पिलर नहुँदा सीमा यकिन छैन । यस क्षेत्रमा सीमा क्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरेको छ तर पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ ।


सन्दकपुर क्षेत्रलाई गतिलो पर्यटकीय गन्तव्य बनाउन अन्य पूर्वाधार विकासका थुप्रै काम अघि बढाउनुपर्ने भएकाले सीमासम्बन्धी समस्यालाई सरोकारवालाले तत्काल सुल्झाउनुपर्ने अध्यक्ष राईले बताए । स्थानीयले पनि सीमा विवाद सधैं बल्झिरहने भएकाले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । ‘भारतले सीमा क्षेत्रमा ३/४ किलोमिटरको अन्तरमा एसएसबी क्याम्प राखेर नियमित अनुगमन र निगरानी गर्छ,’ सन्दकपुरका छिरिङसमी शेर्पाले भने, ‘नेपालले पनि त्यसरी नै निगरानी बढाउनुपर्छ ।’


सन्दकपुरमा काममा अवरोध भएपछि पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बीओपीले स्थलगत अनुगमन गरेका थिए । भारतीय सुरक्षाकर्मीसित छलफल भए पनि निकास निस्केको छैन । सन्दकपुरसम्म अनुगमन गरेर फिरेका सशस्त्र प्रहरीका इन्स्पेक्टर शशांक कार्कीले सीमा सर्वेक्षण जरुरी रहेको बताए । वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनले बताए ।


दशगजा क्षेत्रका धेरै स्थानमा निजी पूर्वाधारसमेत बनेका छन् । सरकारी तवरबाटै भौतिक विकासका काम थालिएपछि भने भारततर्फबाट खबरदारी बढाइएको देखिन्छ । इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले यो विषयलाई तत्काल केन्द्रसम्म पुर्‍याएर समाधानको प्रयास गरिने बताए ।


पूर्वी सीमावर्ती सन्दकपुर क्षेत्रमा भारतले पर्यटनमार्फत उल्लेख्य फाइदा लिएको छ । भारत भएर आउने पर्यटकले कतिपय स्थानमा नेपाल क्षेत्रको सडक प्रयोग गर्छन् भने दृश्यावलोकनसहित विभिन्न पर्यटकीय गतिविधिका लागि नेपाली भूमि पनि प्रयोग हुन्छ । नेपालतर्फवाट जाँदा पनि कतिपय स्थानमा भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।


३७ वटा सीमास्तम्भ छैनन

रोङ गाउँपालिकाको मेची खोलादेखि सन्दकपुरसम्मको साढे ५२ किलोमिटर लामो सीमा क्षेत्र निगरानीका लागि गएको वर्षदेखि पशुपतिनगर फाटकमा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राखिएको छ तर लामो दूरी र कठिन भौगोलिक अवस्थाका कारण सबै सीमा क्षेत्रको नियमित निगरानी गर्न एउटै मात्र क्याम्प पर्याप्त छैन । भारतीय क्षेत्रमा ३ देखि ४ किलोमिटरको फरकमा एसएसबी क्याम्प छन् ।


बीओपीको पछिल्लो सर्वेक्षणअनुसार कतिपय सीमास्तम्भ हराएका छन् भने कतिपय सुधार गर्नुपर्ने अवस्थामा छन् । इलामको सीमावर्ती क्षेत्रमा ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जंगे) पिलर १७ हुनुपर्नेमा १६ सहायक पिलर, ८३ हुनुपर्नेमा ७२ र सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र छन् । ‘नेपालतर्फबाट सडकसमेत नभएकाले कतिपय स्थानमा भारतकै बाटो प्रयोग गर्नुपर्छ,’ फाटकस्थित बीओपीका इन्स्पेक्टर पवन खड्काले भने ।

प्रकाशित : आश्विन १३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?