किन भयो कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास ?

गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद हुँदा असन्तुष्ट पक्षले आह्वान गरेको बन्दको बेवास्ता गर्दै भवन शिलान्यास गर्न पुगेका थिए रिजाल 
प्रताप रानामगर

दमौली — कांग्रेस नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालमाथि आइतबार नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका भवन शिलान्यास गर्न आएका उनीमाथि ऐरीचौतारीमा नेकपा कार्यकर्ताले ढुंगामुढासहित सिसाको बोतल प्रहार गरेका हुन् । 

रिजाल आउने सुनेपछि नेकपा कार्यकर्ताले ऐरीचौतारीलगायत शृंगपथ सडकका विभिन्न स्थानमा रूख ढालेर आवागमन अवरुद्ध गराएका थिए । झन्डै ४ घण्टासम्म रोकिएपछि पैदलै कार्यक्रमस्थलमा जाने क्रममा रिजालमाथि ढुंगामुढा र बोतल प्रहार भएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बताए । घटनामा रिजाललाई चोटपटक भने लागेको छैन । साढे १२ देखि सवा ४ बजेसम्म उनलाई अवरोध गरिएको थियो ।

गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा कांग्रेस र नेकपासहितका अन्य दलहरूबीच लामो समयदेखि विवाद छ । कांग्रेसले वडा ६ को पोखरीभन्ज्याङ र अरू दलले सोही वडाको ढुंगागाडे वा चालिसेमा राख्नुपर्ने माग गर्दै आएका थिए । तर गाउँकार्यपालिका बैठकले पोखरीभन्ज्याङमा केन्द्र बनाउने निर्णय गरेपछि आइतबार भवन शिलान्यास कार्यक्रम थियो । अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका ८ वटै वडामा कांग्रेसले जितेको छ ।

नेकपालगायत पार्टीले शिलान्यास कार्यक्रमलाई बिथोल्न आइतबार ऋषिङ गाउँपालिका बन्द आयोजना गरेका थिए । बन्द अवज्ञा गरेको भन्दै रिजालमाथि अवरोध भएको हो । पोखरीभन्ज्याङमा केन्द्र बनाउन नहुने भन्दै भूपालसिंह थापाको संयोजकत्वमा गठित ऋषिङ गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समितिले बन्दको
आह्वान गरेको थियो ।

सवा ४ बजे अवरोध हटेपछि रिजालले केन्द्रमा पुगेर भवनको शिलान्यास गरे । त्यसक्रममा उनले आक्रमण आफूमाथिमात्रै नभइ कांग्रेस र लोकतन्त्रमाथि नै भएको बताए । ‘यो घटनाले नेकपाको दुई तिहाइ सरकारको चरित्र उदांगो भएको छ,’ उनले भने, ‘सरकार अधिनायकवादतर्फ लागेको पुष्टि हुन्छ ।’ सरकारले संविधान र लोकतन्त्रविरोधी गतिविधि गरेको आरोप उनले लगाए । नेकपाका कार्यकर्ताले आफूमाथि आक्रमण गर्दा प्रहरी प्रशासन मूकदर्शक भएर बसेको उनले गुनासो गरे ।

अवरोध र आक्रमणमा संघर्ष समितिका संयोजक भूपालसिंह थापा, नेकपा ऋषिङ अध्यक्ष गन्जसिंह गुरुङ, नेकपा नेताहरू मदन आले, राजेश्वर ढकालसहित ६० जनाको सहभागिता कांग्रेसले जनाएको छ । नेकपा ऋषिङका अध्यक्ष गन्जसिंह गुरुङले भने रिजालमाथि कुनै पनि आक्रमण नभएको दाबी गरे । ‘नेकपाका कार्यकर्ताले कसैमाथि आक्रमण गरेका छैनन्,’ उनले भने, ‘आक्रमण गरेको भए घाउचोट लाग्थ्यो होला ।’ संयुक्त संघर्ष समितिमा नेकपा, लोकतान्त्रिक पार्टी, कांग्रेस बीपी, नेकपा क्रान्तिकारी, नेकपा मालेलगायत आबद्ध छन् ।

कांग्रेसद्वारा भर्त्सना
कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य रिजालमाथि भएको आक्रमण प्रयासप्रति भर्त्सना गरेको छ । ‘खुकुरी, भाला, लाठी, ढुंगा, बियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि बेवास्ता गर्नु चिन्ताको विषय हो ।’

कांग्रेसले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र देखाएको भन्दै निन्दा गरेको छ । ‘सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटना दोहोर्‍याएर व्यक्तिको स्वतन्त्रतामाथि प्रहार गरिरहेको घटनाप्रति सतर्क रहन आग्रह गर्छौं,’ कांग्रेसले भनेको छ, ‘मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारविरुद्ध कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’ लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलका रूपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गरी गाउँपालिका भवन शिलान्यासका लागि अतिथिलाई कुरेर बसेका जनतामाथि अपमान गर्दै नेकपा कार्यकर्ताले ‘मण्डले’ शैलीमा अवरोध गरेको जनाएका छन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

बाघ व्यवस्थापनका समस्या

सम्पादकीय

काठमाडौँ — सरकारले एकोहोरो रूपमा बाघको संख्या बढिरहेको बताइरहेका बेला त्यससँगै समस्या पनि बढ्दै गएको देखिन्छ । यी समस्या समाधानका उपाय अवलम्बन गर्न र बढेका बाघलाई स्वस्थ राख्न गर्नुपर्ने काममा ढिलाइ भइसकेको छ । बाघको आनीबानी र बाघका आहार प्रजातिबारे अध्ययन गरेका विशेषज्ञहरूका भनाइमा बाघको संख्या बढ्नुमात्र उपलब्धि होइन ।

संख्याअनुसार बाघलाई पर्याप्त बासस्थान, आहार र स्वतन्त्रता चाहिन्छ । पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्म हेर्ने हो भने बाघका लागि पर्याप्त बासस्थान मुख्य समस्याका रूपमा देखा परेको छ । बाघ पाइने अन्य मुलुकहरूले गुणस्तरीय बासस्थान र आहारमा जोड दिइरहँदा हामीकहाँ भने त्यसबारे बहससमेत हुन सकेको छैन ।

नेपाल भित्रिने झन्डै ६० प्रतिशत पर्यटक वन्यजन्तु र मनोरम हिमशृंखला अवलोकनका लागि संरक्षण क्षेत्र जाने गरेको देखिन्छ । गत वर्ष करिब आठ लाख पर्यटक निकुञ्जसहितका संरक्षण क्षेत्रमा भित्रिएका थिए । त्यसैले पर्यटन प्रवर्द्धनमा मुख्य सहयोगी बनेका बाघ, गैंडा, हात्ती, हिउँचितुवा, रेडपान्डाजस्ता आकर्षक वन्यजन्तुको स्वस्थ संरक्षणमा सरकार र सरोकारवाला निकायले जोड दिनु अपरिहार्य छ । सरकारले भ्रमण वर्ष-२०२० घोषणा गरेको छ । तराईका निकुञ्जमा वन्यजन्तु पर्यटन फस्टाइरहेको छ । कालान्तरमा वन्यजन्तुलाई मुख्य आकर्षण बनाइराख्न तिनको दिगो संरक्षण र आइपरेका समस्या समाधानमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

एउटा बाघलाई चलखेल गर्न ५४ वर्ग किलोमिटर प्राकृतिक बासस्थान आवश्यक पर्छ । अहिले यो परिमाणमा बासस्थान उपलब्ध छैन । अझ गुणस्तरीय बासस्थानको परिमाण त नाजुक छ । भएकै बासस्थानको पनि क्षयीकरण भइरहेको छ, नयाँखाले मिचाहा झार/बिरुवाका कारण घाँसे मैदान ढाकिँदै गएको छ । घाँसे मैदान त्यसरी ढाकिँदा मृग प्रजाति संकटमा परिरहेका छन् । बाघको बासस्थान बढाउनेतिर खासै ध्यान दिइएको छैन । भएकै बासस्थानमा पनि विज्ञानमा आधारित व्यवस्थापन गर्न सकिएको छैन, जसका कारण घाँसे मैदानका अभावमा बाघका आहार मानिने मृग प्रजातिको प्रजनन दर घटिरहेको छ । मृग प्रजाति घट्दा समस्या तिनै बाघलाई पर्छ । स्वस्थ र पर्याप्त आहारको अभावमा बाघको वृद्धिदरमा असर परिरहेको छ ।

हुन त सुरक्षित बासस्थानको अभाव बाघ पाइने १२ वटै देशको साझा चुनौती हो । सबभन्दा बढी बाघ भएको भारतले यस्ता बासस्थान बढाउन मानवबस्ती उठाउनेदेखि परम्परागत सडक र रेलमार्ग विस्थापित गर्ने कामसमेत गरेको छ । अरू देशले पनि बाघको बासस्थान जोगाउन ठूला विकास निर्माणलाई थाती राख्नेदेखि वन्यजन्तुमैत्री विकासमा जोड दिइरहेका छन् । हामीकहाँ भने बाघको बासस्थान बढाउनेतिर ध्यान दिइएको छैन । नौ वर्षअघि बाँके निकुञ्जको स्थापना र पर्सा निकुञ्ज थोरै विस्तार गर्नेबाहेक नयाँ क्षेत्र बढाइएको छैन । त्यही सीमित क्षेत्रमा बढेका बाघको संख्या प्रचार गर्न मात्र सरकारले बढ्ता ध्यान दिएको छ । सन् २०१८ को गणनाअनुसार पाँचवटा निकुञ्जमा वयस्क बाघको संख्या २३५ छ ।
संख्या बढे पनि बासस्थान र आहारको अभावले दिनहुँजसो बाघ मानवबस्ती आसपास आउने क्रम बढ्दो छ । यसले मानव-बाघ द्वन्द्व बढेको छ । संरक्षणकर्मीहरू द्वन्द्व बढ्नु राम्रो संकेत नभएको तर्क गरिरहेका छन् । बाघले समस्या निम्त्याउने गरेपछि मान्छेले रिस पोख्ने क्रममा बाघ मारिएका छन् । यसको व्यवस्थापन गर्नेतिर सरकारले बेलैमा ध्यान नदिने हो भने मध्यवर्ती क्षेत्रका लाखौं जनता वन्यजन्तुको विरुद्धमा उत्रिनेवाला छन् । त्यसैले भएको बासस्थानलाई भरपुर उपयोग गर्ने, पानीका घोल र सिमसार व्यवस्थापन र मानव-वन्यजन्तु द्वन्द्व घटाउने कार्यक्रममा लगानी गर्न ध्यान दिनुपर्ने देखिन्छ । वन्यजन्तु संरक्षणमा काम गर्ने दातृ निकायले पनि आफूलाई अनुकूल हुने क्षेत्रमा मात्र लगानी गरिरहेको देखिन्छ । सरकारले त्यस्ता निकायहरूलाई जल्दोबल्दो समस्या समाधान गर्ने क्षेत्रमा लगानी गर्नेतिर डोर्‍याउनु अत्यावश्यक छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT