चौधरी परिवारले जित्यो 'कान्तिपुर करोडपति सिजन–३' को एक करोड

विमल खतिवडा, तस्बिर : इलिट जोशी

काठमाडौँ — कान्तिपुर करोडपति सिजन–३ अन्तर्गत पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका १२ का गयाप्रसाद चौधरीको परिवारले एक करोड जित्न सफल भएको छ । आइतबार सुन्धारास्थित सिभिल महलमा गोला प्रथाबाट ग्राहक नम्बर छान्दा छोरा अनिलको नाममा रहेको रसिद नम्बर ८५६३९ निस्किएको थियो ।

प्रकाशित : आश्विन १२, २०७६ २०:४८

चौधरीले सुनवलको भूमही चोकमा ‘चौधरी फ्रेस हाउस एन्ड किराना पसल’ चलाउँदै आएका छन् । ‘सुरुमा कान्तिपुरबाट बधाई दिँदै फोन आयो, पत्याउन सकिँन,’ अनिलले टेलिफोनमा भने,‘ त्यसपछि एक करोड जितेकोमा बधाई छ भन्दै एकोहोरो फोन आइरह्यो, त्यसपछि साँच्चिकै पुरस्कार जितेछौं भन्ने भएको छ ।’

फोन आउँदा अनिल र उनका बुवा गया पसलमै थिए । अनिल मासु बिक्रि गर्दै थिए भने बुवा किराना पसलमा थिए । एक करोड पाएसँगै परिवारमा खुशी छाएको छ । अनिलका अनुसार परिवारमा बुवा, दीदी र आमासहित चार जना छन् । ‘कान्तिपुरको ग्राहक बनेको १० वर्ष भइसकेको छ,’ बुवा गयाले भने,‘ तर पुरस्कार नै पाइन्छ भनेर ग्राहक बनेको थिइन, देशविदेशका समाचार पढ्न ग्राहक बन्दा पनि यति ठूलो पुरस्कार पाइदोरहेछ, पुरस्कार पाएको खुशीयालीमा आफन्त सबैलाई फोन गरेर सुनाए ।’ उनले उक्त रकम व्यवासयमै लगानी गरेर ठूलो बनाउने बताए ।

उनी कान्तिपुर क्षेत्रीय कार्यालय भरतपुर अन्तर्गत ग्राहक बनेका थिए । गोलाप्रथा कलाकार हरिवंश आचार्यले निकालेका थिए । उनले करोडपति घोषणा गर्दै पाएको पुरस्कार राम्रो ठाउँ सदुपयोग होस् भन्दै विजेतलाई बधाई दिएका थिए । यसअघि चन्द्रागिरी नगरपालिका ४ स्थित थानकोटका विनय श्रेष्ठ र कलंकिका सरोजकुमार श्रेष्ठले १/१ करोड नगद जितिसकेका छन् । विनय पहिलो र सरोजले दोश्रो सिजनमा करोड जितेका हुन् ।‘पुरस्कार नै पाइन्छ भनेर ग्राहक बनेको थिइन,’ पहिलो करोडपति बिजेता विनय श्रेष्ठले भने,‘ नसोचेको कुरा पाए, यसरी पाएको नगदबाट केही परिवारकालागि खर्च गरे, अरु पैसा शेयर र जग्गामा लगानी गरे ।’ उनी किराना पसल चलाउंदै आएका छन् । उनको चार जनाको परिवार छ ।

‘कान्तिपुरको मात्र ग्राहक बनेको थिइन,’ उनले भने,‘ अंग्रेजी सुधार गर्न र सिक्न दि काठमाण्डु पोष्टको पनि ग्राहक बनेको थिए ।’ त्यस्तै महाबिक्रेता उपहार योजना अन्तर्गत रसिद नम्बर ०१५ का धरानस्थित मैनाली न्युज सेन्टरले एजेन्सीले गाडी जित्न सफल भएको छ । धरानस्थित छापा चोकमा रहेको सेन्टरले ड्याटसनको ‘गो’ कार जित्न सफल भएको हो । सेन्टरका सञ्चालक गोविन्द र शान्ता मैनाली हुन् । ‘कान्तिपुरबाट फोन गरेर बधाई दिदाँ सुरुमा छक्क पर्‍यौं,’ शान्ताले भनिन, ‘यसरी गाडी पर्ला भन्ने लागेको थिएन, अहिले सम्म चिठ्ठामा केही नपरेकाले पर्छ भन्ने आशै थिएन ।’ गाडी परेपछि घरमा फोन मार्फत बधाई आइरहेको उनले बताइन् ।

उनका अनुसार एजेन्सी चलाउन थालेको १६ बर्ष भएको छ । कार्यक्रममा कान्तिपुर पब्लिकेशन्स् प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, कान्तिपुरका प्रधान सम्पादक सुधिर शर्मा, दि काठमाण्डु पोष्टका प्रधान सम्पादक अनुप काफ्ले लगायतको उपस्थिती थियो । करोडपति घोषणा कार्यक्रममा गायक सुगम पोखरेलले आधा दर्जन गीत मार्फत उपस्थित दर्शक/श्रोतालाई मनोरञ्जन दिलाएका थिए । कान्तिपुरको बार्षिक ग्राहक योजना अन्तर्गत ‘करोडपति सिजन–३’ चैतबाट सुरु भएको हो ।योजनामा कान्तिपुर र द काठमाडौं पोष्टका वार्षिक ग्राहक बन्नेलाई लक्की ड्र मार्फत मासिक १० लाख र साप्ताहिक लक्की ड्रबाट १ लाख नगद प्रदान गरिएको थियो । ग्राहक बन्नसाथ शिखर इन्स्युरेन्सबाट ५ लाखको दुर्घटना बीमा सहित स्वास्थ्य बीमामा ७ सय ५० रुपैयाँ छुट पाउने व्यवस्था गरिएको थियो । वितरण विभागका प्रमुख मनोज बस्नेतका अनुसार यो सुविधा कान्तिपुरको ग्राहक बनेका धनुषा महेन्द्रनगरका पपेन्द्र कुमार गिरीको दुर्घटनामा परी मृत्यु भएपछि ५ लाख रुपैयाँको दुर्घटना बीमाबापतको रकम श्रीमती जुना कार्कीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
पठाउनुहोस्

भारतले प्याज निकासी रोक्यो

भारतले निकासीमा रोक लगाए पनि खुला सिमाका कारण चोरी पैठारी हुने सम्भावना छ । यसले उपभोक्तालाई भन्दा बिचौलियालाई फाइदा पुग्नेछ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले प्याजको मूल्य दिन प्रतिदिन अकासिँदै गएपछि निर्यातमा प्रतिबन्ध लगाएको छ । आइतबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको हो ।

यस वर्ष भारतका महाराष्ट्र र कनार्टकलगायतका राज्यहरूमा प्याज उत्पादनमा कमी आएपछि मूल्य अकासिएको हो । यी दुई भारतमा सबैभन्दा बढी प्याज उत्पादन राज्य हुन् । अघिल्लो वर्षको खडेरी र दुई महिनाअघि भएको अत्याधिक वर्षा र त्यसपछि आएको बाढीले यी दुवै राज्यमा प्याज खेतीमा नराम्रोसँग असर पुगेको थियो ।

यसले प्याजको माग र आपूर्तिमा असन्तुलन हुन गई मूल्य बढेको सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय भारतीय बजारमा प्याजको थोक मूल्य नै प्रतिकेजी भारु ४० भन्दा माथि पुगेको छ । खुद्रा मूल्य प्रतिकेजी भारु ७० भन्दा माथि उक्लिएको छ ।

भाउ बढ्दै गएपछि दुई साताअघि मात्र प्याजको मूल्य नियन्त्रण गर्न भन्दै न्यूनतम निर्यात मूल्य प्रतिटन ८५० डलर कायम गरेको थियो । त्यसले पनि प्याजको मूल्य नघटेपछि केन्द्र सरकार निकासीमै रोक लगाउने निर्णयमा पुगेको हो । आइतबार सरकारका तर्फबाट वैदेशिक व्यापार विभागका महानिर्देशकले सूचना निकाल्दै निकासीमा रोक लगाउने आदेश जारी गरेका छन् ।

भारतीय कदमले चाडपर्वका मुखमा नेपालमा प्याजको मूल्य बढ्ने आशंका गरिएको छ । विगत केही सातादेखि चर्को मूल्य वृद्धि खेपिरहेका नेपाली उपभोक्तालाई भारत सरकारको प्रतिबन्धले थप चोट दिने निश्चित छ । नेपालमा खपत हुने प्याजको ठूलो हिस्सा भारतबाट पूर्ति हुन्छ ।

नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । भारतले निकासीमा लगाए पनि खुला सीमा भएका कारण भारतबाट यसको चोरी पैठारी हुने सम्भावना पनि उत्तिकै छ । त्यसले आम उपभोक्तालाई भन्दा पनि बिचौलियाहरूलाई बढी फाइदा पुग्ने देखिन्छ ।

भारतमा निर्यात प्रतिबन्धसँगै खुद्रा र थोक व्यापारीका लागि कोटासमेत तोकिएको छ । उपभोक्ता मामिलासम्बन्धी मन्त्रालयले खुद्रा व्यापारीका लागि बढीमा एक सय क्विन्टल र थोक व्यापारका लागि ५ सय क्विन्टल कोटा तोकेको छ ।

‘प्याजको बढ्दो मूल्यलाई ध्यानमा राख्दै केन्द्र सरकारले मूल्यमा नियन्त्रण गर्न, व्यापारीलाई अनावश्यक स्टक राख्न राख्न नदिन, निर्यातमा रोक लगाएको छ र प्रदेश सरकारले कालोबजारी रोक्न कठोर कदमहरू चाल्नेछन्’ मन्त्रालयले भनेको छ । यो निर्णयसँगै घरेलु बजारमा प्याजको कमी नहुने र मूल्यमा कमी आउने विश्वास पनि मन्त्रालयले गरेको छ ।

केन्द्र सरकारको पछिल्लो निर्णयले प्याजको भाउमा गिरावट आउने अपेक्षा गरिएको छ । सरकारले यो निर्णय लिनुका पछाडि राजनीतिक कारण पनि रहेको छ । राजनीतिक विश्लेषकहरूले आगामी महिना महाराष्ट्र र हरियाणामा हुन गइरहेको विधानसभा चुनावलाई ध्यानमा राख्दै सरकारले पछिल्लो निर्णय लिएको दाबी गरेका छन् । भारतमा प्याजको मूल्यले घरेलु राजनीतिलाई प्रभाव पारेका पर्याप्त घटना छन् ।

विशेषगरी विधानसभा चुनावमा प्याजको मूल्य विगतदेखि नै चुनावी मुद्दा बन्दै आएको छ । विपक्षीहरूले प्याजको मूल्यमा भएको अस्वाभाविक वृद्धि होस् वा गिरावट चुनावका बेला त्यसलाई सत्ताविरुद्ध गतिलो हतियारका रूपमा प्रयोग गर्दै आएका छन् ।

सन् १९९८ को दिल्लीको विधानसभा चुनावमा प्याजको अत्यधिक मूल्यवृद्धिलाई प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कांग्रेसले प्रमुख मुद्दा बनाएको थियो । त्यही मुद्दाले भारतीय जनता पार्टीको सुष्मा स्वराज नेतृत्वको सरकारले चुनावमा हार व्यहोर्नुपर्‍यो ।

प्याजले दिन सक्ने नमिठो राजनीतिक झट्कालाई आँकलन गर्दै गत सातादेखि दिल्ली सरकारले आमउपभोक्तालाई लक्षित गर्दै प्याज बिक्रीका लागि सुपथ मूल्यको अभियान नै सञ्चालनमा ल्याएको थियो । दिल्लीमा आगामी वर्ष विधान सभाको चुनाव हुँदै छ । त्यही भएर नै पछिल्लो अभियानको नेतृत्व स्वयं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नै गरेका थिए ।

उक्त अभियानअन्तर्गत दिल्ली सहरभर त्यस्ता करिब ४ सयवटा पसलहरू बिक्री केन्द्र खोलिएका थिए । साथै मोबाइल भ्यानबाट पनि विभिन्न चोकचोकमा प्याज बिक्री गरिएको थियो । उपभोक्ता खुद्रा मूल्य प्रतिकेजी भारु २३.९० मा बिक्री गरिएको थियो । त्यति गर्दा पनि दिल्लीमै प्याजको बजार मूल्य ७० रुपैयाँभन्दा तल झरेको थिएन ।

भारतीय कदमले चाडपर्वका मुखमा नेपालमा प्याजको मूल्य बढ्ने आशंका गरिएको छ । त्यसै पनि विगत केही सातादेखि चर्को मूल्यवृद्धि खेपिरहेका नेपाली उपभोक्तालाई भारत सरकारको प्याजको निर्यातमाथि प्रतिबन्ध लगाउने निर्णयले थप चोट दिने निश्चित छ ।

नेपालमा खपत हुने प्याजको ठूलो हिस्सा भारतबाट पूर्ति हुन्छ । नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । भारतले निकासीमा रोक लगाए पनि खुला सीमा भएका कारण भारतबाट यसको चोरी पैठारी हुने सम्भावना पनि उत्तिकै छ । त्यसले आम उपभोक्तालाई भन्दा पनि बिचौलियाहरूलाई बढी फाइदा पुग्ने देखिन्छ ।

प्रकाशित : आश्विन १२, २०७६ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्