लमजुङमा पहिरोले जिप पुर्‍यो, मनाङ जाने सडक अवरुद्ध

आश गुरुङ

(लमजुङ) — बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

लमजुङमा पहिरोले जिप पुर्‍यो, मनाङ जाने सडक अवरुद्ध

पहिरोले काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको बा१६च ५०६८ नं. को स्करपियो जीप पुरेको छ । स्थानीय नरबहादुर गुरुङका अनुसार शनिबार साँझ मिर्मिरेमा पहिरो खसेको हो । पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएको उनले बताए ।


‘पहिरो गयो भनेपछि दौडेर गएँ । पहिरोबाट आएको ढुंगाले गाडी थिचिएछ । यात्रु बाहिर निस्किसकेछ । कसो जोगिएछ,’ उनले भने । उनका अनुसार पहिरोले विद्युतको पोल जोखिममा पारेको छ ।


‘मनाङ जाने बाटो नै अवरुद्ध भयो,’ उनले भने । डीएसपी रबिन्द्रमान गुरुङले चालकसहित ५ जनाको टोली मनाङतर्फ जाँदै गरेको स्करपियो जीप पहिरोमा परेको बताए । ‘जिप पनि पुग्ने र पहिरो पनि खस्ने भएछ । जिपको अगाडिको भाग पहिरोमा परेपछि पछाडिका यात्रु निस्किएछन् । कसो मान्छेलाई केही भएन,’ उनले भने । पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए ।


प्रकाशित : आश्विन १२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?