३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जिम्मा दिइएका जन्तु असुरक्षित

पर्वत पोर्तेल

(काँकडभिट्टा) — भदौ २५ मा मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वन क्षेत्रको संरक्षणमा राखिएका ८ मध्ये ३ वटा चित्तल मृत भेटिए । एक घाइते थियो । त्यो पनि उपचारका क्रममा मर्‍यो । 

डिभिजन वन कार्यालय झापाको प्रारम्भिक अनुसन्धानमा स्थानीय कुकुरको आक्रमणबाट चित्तल मारिएका हुन् । चित्तल तारजालीभित्र संरक्षण गरेर राखिएको थियो तर कुकुरले तारजाली नाघेर आक्रमण गरेको देखिएको वन कार्यालयले जनाएको छ । ‘कुकुरले घाँटीमा टोकेको देखिन्छ’, सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले भने, ‘त्यही कारण चित्तल मरेको हाम्रो अनुमान हो ।’


बाँसबारीनजिकै अर्को सामुदायिक वन छ, कालिका । त्यहाँ पनि केही समयअघि ८ वटा बँदेल मरे । भारतबाट अवैध रूपमा ल्याइएको बँदेलका १० वटा पाठा प्रहरीले बरामद गरी डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । वन कार्यालयमा पाल्ने स्थान अभावका कारण कालिका सामुदायिक वनलाई संरक्षणका लागि दिइएको थियो । ‘१० मध्ये ८ वटा पाठा संरक्षणकै क्रममा मरे,’ डिभिजन वन कार्यालयका डीएफओ विष्णुलाल घिमिरेले भने, ‘के कारणले मरे थाहा भएन ।’ केही वर्षअघि दक्षिणी झापाको जलथल क्षेत्रका स्थानीयले एउटा अजिंगर उद्धार गरेर वन कार्यालयलाई बुझाए । वनले कन्काई नगरपालिकामा रहेको जामुनबारी सामुदायिक वनलाई संरक्षणका लागि दियो तर घाइते अवस्थाको अजिंगर केही समयपछि मर्‍यो । सोही वनमा रहेको एउटा अस्ट्रिचसमेत मरेको थियो ।


सामुदायिक वनहरूले संरक्षणका नाममा वन्यजन्तुलाई सास्ती दिइरहेको माथिका घटनाले पुष्टि गर्छ । जिल्लाका जामुनबारी, बाँसबारी, कालिका, जुखेखाडी, थोप्लेविरानलगायत सामुदायिक वनले पर्यापर्यटनको योजनासहित वन्यजन्तु र पन्छीसमेत राखेका छन् । तिनलाई देखाएर आम्दानी पनि गरेका छन् तर ती वन्यजन्तुको खासै संरक्षण भएको देखिँदैन । सामुदायिक वनलाई वन्यजन्तु पाल्ने कानुनी अधिकार छैन । ‘उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तु र पन्छी वन कार्यालयमा वुझाइन्छ,’ डीएफओ घिमिरेले भने, ‘कार्यालयमा संरक्षण गरेर राख्ने सुरक्षित स्थान छैन, त्यही भएर सामुदायिक वनलाई जिम्मा दिन्छौं ।’


वन कार्यालयका अनुसार सामुदायिक वनलाई पर्यापर्यटन क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसाथ भर्खरै वन्यजन्तु संरक्षण गर्ने कार्यविधि बनेको छ । जिल्लाको एउटा सामुदायिक वनलाई चाहिँ प्रदेश १ कै मिनी चिडियाघरका रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले अघि सारेको वन कार्यालयले जनाएको छ । ‘पर्यापर्यटनका नाममा जुनसुकै सामुदायिक वनले वन्यजन्तु पाल्न थाल्दा समस्या भयो,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘अब जिल्लामा एउटा सामुदायिक वनलाई मात्रै अधिकार दिने र अरूको कटौती गर्ने गृहकार्यमा छौं ।’


जामुनबारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार अजिंगर, मृग, मलसाँप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पन्छी पालिएको छ । यी जनावर हेर्न बर्सेनि हजारौं आन्तरिक पर्यटक

जामुनबारी पुग्छन् ।


प्रकाशित : आश्विन १२, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?