१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘कुकुरले टोके पर्खेर नबस्नू’

अतुल मिश्र

काठमाडौँ — पहिले भन्ने गरिन्थ्यो, कुकुरले टोके १० दिनसम्म हेरौं, कुकुर मर्‍यो भने सुई लाऔं, जिउँदै रहे केही नगरौं । तर अब यसो भन्नु गलत हुनेछ । घरपालुवा, सामुदायिक वा जुनसुकै कुकुरले टोके, चिथोरे, खोस्रे तुरुन्त अस्पताल गएर सुई लगाउन चिकित्सकहरू सल्लाह दिन्छन् । उनीहरूका अनुसार समयमै खोप लगाए रेबिजबाट बच्न सकिन्छ ।

‘कुकुरले टोके पर्खेर नबस्नू’

‘अब हामी कुकुरले टोक्दा १० दिन पर्खन भन्दैनौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा, जुनोसिस तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका डा. हेमन्त चन्द्र ओझाले भने । डा. ओझाले नयाँ दिशानिर्देश (गाइडलाइन) सुनाउँदै कुकुरले टोके, चिथोरे, खोस्रे प्रभावित ठाउँलाई राम्ररी साबुनपानीले धोई अस्पताल गएर चिकित्सकीय सल्लाहमा ३ पटक सुई लगाउनुपर्ने बताए । कुकुरको र्‍याल मात्र छालामा परेको छ भने पनि सुई लगाउने वा नलगाउने निर्णय गर्ने जिम्मा चिकित्सकलाई दिनुपर्छ । रेबिज रोग लागेको जनावरले घाउ, चोटपटक लागेको छालामा चाटे वा र्‍याल पर्न गए रोग सर्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मानिसमा हुने करिब ९९ प्रतिशत रेबिजका लागि कुकुरलाई जिम्मेवार मानिन्छ ।


सरकारी अस्पतालमा निःशुल्क पाइने यो सुई कुकुरले टोकेपछि पहिलो पटक लगाएको तेस्रो दिन र त्यसपछि सातौं दिन गरी तीनपटक लगाइन्छ । यस्तै कतिपय अवस्थामा एन्टिरेबिज खोपसँगै टोकिएको स्थानमा इम्युनोग्लोबिनको सुईसमेत लगाइने गरिन्छ । एन्टिरेबिज सुई लगाएपछि भविष्यमा रेबिज आदिको डरबाट मुक्त भइन्छ । एन्टिरेबिज सुई समयमा नलगाउँदा करिब ३ महिनाअघि छाडा कुकुरले ‘आँखीभौं’ टोकेर रेबिज भएका नुवाकोटको ७ वर्षे बालक हाल मृत्यु कुर्दै छन् । शतप्रतिशत प्राण घातक रोग रेबिजको लक्षण शरीरमा देखिएपछि उपचार सम्भव छैन । मुलुकमा बर्सेनि सयभन्दा बढी मानिसको रेबिजले मृत्यु हुन्छ भने करिब ५० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइको सिकार हुन्छन् । रेबिज रोग लाग्ने समय केही दिनदेखि केही महिना हुँदै एक वर्ष वा योभन्दा बढी समयसम्म पनि हुन सक्छ । शरीरमा रेबिजको लक्षण देखिएपछि मृत्युसम्मको अवधि एक दिनदेखि एक सातासम्म हुन सक्छ ।


हाल छाडा कुकुर मात्र नभई घर पालुवा कुकुरको टोकाइबाट समेत रेबिज देखिएको डा.ओझाले बताए । ‘लाख रुपैयाँसम्मको कुकुर पाल्छन् तर नियमित एन्टिरेबिज खोप लगाउँदैनन्, एक/दुई पटक लगाए पनि पछि छोड्छन्,’ उनले भने । कुकुरलाई लगाउने यस्ता एन्टिरेबिज खोप उचित तापक्रममा राखिएर पूर्ण क्षमतायुक्त हो वा होइन भन्नेबारे समेत थाहा नहुने हुँदा कुकुरलाई रेबिजविरुद्घको खोप लगाएर समेत ढुक्क हुने स्थिति नरहेको उनी औंल्याउँछन् । अझ बहुसंख्यक समुदायबीच छाडा छाडिएको, भुस्याहा कुकुरमा मात्र रेबिज हुने मान्यतासमेत रहेको, सुकिलो देखिने घर पालुवा कुकुरमा यो रोग हुन नसक्ने बुझाइले पनि रेबिजले मानिसलाई प्रभावित गरिरहेको विशेषज्ञहरू बताउँछन् ।

सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र २३ हजार ७ सय २६ जनालाई कुकुरले टोकेकामा ३२ जनाको रेबिजले मृत्यु भएको थियो । तर इडिसिडीका डा. ओझा नै यसलाई यकिन तथ्यांक भन्दैनन् । ‘यो ३२ वटा मृत्यु रिपोर्टेड हुन्, जो हाम्रो सिस्टममा आए, अस्पताल पुगे,’ डा.ओझाले भने, ‘तर समुदायमा धामीझाँक्री कहाँ पुगेका वा घरमै रहेका अस्पताल आउन नपाएका केस यसमा समावेश गरिएको छैन ।’


शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा हाल दिनहुँ एक सयदेखि डेढ सय व्यक्ति कुकुर टोकाइमा परेर उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दिनहुँ आउने बिरामीमध्ये करिब ६० प्रतिशत घरपालुवा र ४० प्रतिसश छाडा कुकुरको टोकाइमा पर्ने गरेका छन् । २०७६ सालमा हालसम्म ३० भन्दा बढी व्यक्ति रेबिज भएर आएको डा.शेरबहादुर पुनले बताए । उनका अनुसार मुलुकमा आधा जनसंख्या रेबिजको उच्च र एक चौथाइ जनसंख्या मध्यम जोखिममा छन् ।




प्रकाशित : आश्विन १२, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?