१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

गणेश राई

काठमाडौँ — दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् । माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो । सबिन कम्प्युटर विषय पढाउँछन् । उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन् ।

‘बिहान कलेज पढ्न जान्छु, दिउँसो खाली समय स्कुलमा पढाउँछु,’ ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) सातौं सेमेस्टरमा आफैं पनि अध्ययनरत उनले भने, ‘कम्प्युटर नै पढेकाले यही विषय पढाउन सजिलो छ ।’ एउटा विषय पढाउने भएकाले उनले अरू शिक्षक जसरी विद्यालयमा लामो समय बस्नु पर्दैन । ‘नेवारी बोल्न, लेख्न, पढ्न जानेकाले मैले यो अवसर पाएँ,’ उनले भने, ‘खाली समय सदुपयोग र पकेट मनी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ ।’ पूर्वविद्यार्थीहरू मनीष भनिने मनिराज मानन्धर, आशिष मानन्धर र बबिता मानन्धरलगायतले यही विद्यालयमा पढाउँदै आएका छन् । पूर्वविद्यार्थीले एल्मुनाई ‘न्हू पलाः’ (नयाँ पाइला) संस्था गठन गरेका छन् । ‘हामीले हरेक महिनाको कार्यक्रम तालिकासहित विद्यालयका भाइबहिनीहरूमाझ सिर्जनशील काम गर्दै आएका छौं,’ भाषा र लिपि पढाउँदै आएका मनीष भन्छन्, ‘भाषा, लिपि, संस्कृतिबारे अभ्यस्त पार्ने, खेलकुद, नाच, ह्यान्डिक्राफ्ट, स्विमिङ, हाइकिङ लैजाने गराएका छौं ।’


विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म सबैले एक विषय नेपाल भाषा पढ्नैपर्ने नियम छ । विद्यालय परिसर, कक्षाकोठामा प्रत्येक शिक्षक र विद्यार्थीबीच नेवारीमै कुराकानी हुन्छ । प्रधानाध्यापक सुनिता मानन्धरका अनुसार विद्यालयमा अहिले दुई सयजना विद्यार्थी छन् । ‘नर्सरीदेखि कक्षा ८ सम्म सबै विद्यार्थीका लागि एक विषय नेपालभाषा पढ्न अनिवार्य छ,’ उनले भनिन्, ‘पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा चाहिँ गणित वा नेपालभाषा भनेर एकै समूहमा राखेपछि अनिवार्य विषय बनाउन सकेनौं ।’ केन्द्रले कक्षा १ देखि ५ सम्म नेपालभाषाका ‘लुँ हिती’ (सुनधारा) पाठ्यपुस्तक प्रकाशन गर्दै आएको छ । विद्यालयले ‘पलेस्वाँ’ (कमल फूल) पाठ्यक्रम तथा

पाठ्यपुस्तक निर्माण गरेको छ ।


प्रअ मानन्धरका अनुसार विद्यार्थीसँग मासिक शुल्क न्यूनतम १३ सयदेखि १७ सय रुपैयाँसम्म लिने गरिएको छ । आंशिकसहित २२ जना शिक्षक र ३ कर्मचारी छन् । ‘स्रोतको कमी छ । त्यसैले विद्यालय व्यवस्थापन समितिले न्यूनतम ४ हजारदेखि अधिकतम १३ हजार रुपैयाँसम्म शिक्षकको तलब तोकेको छ । यो विद्यालयको साख बचाउन पूर्वविद्यार्थीको महत्त्वपूर्ण भूमिका छ,’ उनले भनिन् । यहाँका शिक्षकको तलब सरकारी विद्यालयसरह नरहेको उनले बताइन् । ‘सुरुदेखि अहिलेसम्म सरकारको कुनै निकायबाट आर्थिक सहयोग लिएका छैनौं,’ उनले भनिन्, ‘अब संविधानअनुसार प्रदेश र स्थानीय सरकारले नयाँ नीति जारी गर्न लागेको बुझिएको छ । सरकारले हाम्रोजस्तो मातृभाषाका माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई प्राथमिकतामा राख्ला भन्ने लागेको छ ।’


विद्यालयका संस्थापक संयोजक अनाररत्न वज्राचार्यले स्थापना कालमै संस्थापक सदस्य तथा दाताहरूबाट संकलित रकमबाट सहुलियत मूल्यमा जग्गासमेत करिब डेढ रोपनी जग्गा खरिद गरेको बताए । निजी गुठीअन्तर्गत सञ्चालित विद्यालयको दुईवटा तीनतले भवन छन् । भवनमा १४ कक्षा कोठा, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय र नेवारी संग्रहालय र सभाहल छन् । विद्यार्थीलाई नेपालभाषा पढाइसँगै नेवार संस्कृति, १२ महिनाभित्र मनाइने चाड र पर्वहरू, इन्द्रजात्रालगायत जात्राहरू, बजाइने बाजा र नाचिने नाचहरूको प्रत्यक्ष अवलोकन गराउने गरिएको छ ।


प्रकाशित : आश्विन १२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?