बदलिँदै बाघका बानी

अब्दुल्लाह मियाँ

काठमाडौँ — बाघका डमरुहरू वयस्क हुँदै जाँदा आफू हुर्केको क्षेत्र छाड्छन् । विचरणका नयाँ क्षेत्र खोज्छन् । पुगेको नयाँ ठाउँमा त्यहाँका भालेसँग लडाइँ पर्छ । जसले जित्छ, उसैले त्यहाँका बघिनीसँग संसर्ग गर्छ । हार्ने घाइते हुन्छ, मारिन्छ । एउटै पोथीसँग सहवास गर्न चाहने धेरैवटा भालेबीच पर्ने झगडा थुप्रै बाघका लागि घातक हुन्छ ।

बदलिँदै बाघका बानी

नेपालका संरक्षित क्षेत्रमा त्यस्ता लडाइँमा वयस्क बाघ मारिने क्रम संरक्षणकर्मीका लागि चिन्ताको विषय छ । संख्या थपिएको अनुपातमा एकातिर बाघको विचरण क्षेत्र घट्नु, अर्कातिर त्यहाँ उपलब्ध हुनुपर्ने आहारा प्रजातिको वृद्धि दर पनि अपेक्षित नहुनुले चिन्ता बढाएको हो ।


नौ वर्षअघि रुसको पिटर्सबर्गमा भएको बाघ पाइने १२ देशका प्रमुखहरूको सम्मेलनले सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर पार्ने संकल्प गरेको थियो । त्यसअनुसार १० वर्षमा नेपाल त्यो प्रतिबद्धतामा पुग्न १५ वटामात्र थपिन बाँकी छ । नेपालमा अहिले बाघको संख्या २ सय ३५ छ । तर, बाघ थपिन विचरण क्षेत्र र आहारा प्रजाति घट्दा वर्तमान संख्यामा सन्तोष मान्ने अवस्था छैन ।


चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा वयस्क बाघको संख्या १ सय २० थियो । ५ वर्षपछि सन् २०१८ मा त्यो संख्या ९३ मा सीमित भयो । बाघ गणनामा खटिएका विशेषज्ञले ५ वर्षमा २७ वटा बाघ घटेको बताएपछि वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र जैविक विविधता तथा वातावरण महाशाखाका तत्कालीन प्रमुख महेश्वर ढकाललगायतले तथ्यांकप्रति शंका गरे ।


बाघको संख्या घटेको तथ्य बताएपछि विश्लेषणमा खटिएका विशेषज्ञहरूले सचिव ओलीको खप्की खाए । बाघ पाइने पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म क्यामेरा ट्र्यापिङबाट खिचिएका हजारौं तस्बिर विश्लेषण गर्दै दर्जनभन्दा बढी विशेषज्ञहरूले संख्या घटेको यकिन गरेका थिए । विश्वमा मान्यताप्राप्त विधिहरूको प्रयोग गरी विश्लेषण गर्दा पनि चितवनमा २७ बाघ घटेकै सावित भयो ।


चितवनमा बाघको संख्या घट्नुका कारण प्रस्ट्याउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मन्त्रालयले ढाकछोप गर्नेतिर बढ्ता ध्यान दियो, प्रतिवेदन गुपचुप नै राख्यो । सञ्चार माध्यामबाट प्रतिवेदन बीचमै चुहाएपछि भने ढिलो गरी तथ्यांक सार्वजनिक गर्न मन्त्रालय बाध्य भयो ।


‘५ वर्षका बीचमा विविध कारणले धेरै बाघ मरेका थिए,’ बाघको आनीबानीबारे अध्ययन गरेका एक विशेषज्ञले भने, ‘संख्या बढ्नैपर्छ भन्ने मानसिकताबाट मात्र मन्त्रालयका अधिकारीहरू अभिप्रेरित भए, त्यो सोच गलत थियो । जुन प्रमाणित हुन सकेन ।’ चितवन निकुञ्जमा सन् २०१० देखि २०१८ सम्मका ८ वर्षमा ३३ वटा वयस्क बाघ मरेका छन् । बाघ पाइने पाँच निकुञ्जमध्ये चितवनमै बढी मरेको पाइएको हो । मर्ने सबै बाघ वयस्क छन् । सीमित आहार, साँघुरिँदो बासस्थान र एकापसमा जुधाइ मर्नुका मुख्य कारण हुन् । त्यसबाहेक अवैध चोरी सिकारी, कालगति र सडक दुर्घटनामा परेर पनि बाघ मरेका छन् । ‘एउटा बाघलाई एकपटकमा ५ देखि २५ किलो मासु आवश्यक पर्छ,’ वन्यजन्तुविद् अच्युत अर्यालले भने, ‘हाम्रा बाघले त्यो परिमाणमा खानेकुरा पाएका छैनन् । त्यसैले बाघ मानवबस्तीमा आउने क्रम पछिल्ला वर्षमा बढेको छ ।’ सीमित आहारमा भर पर्नुपर्ने भएकाले जंगलका राजा बाघ छिट्टै कमजोर बन्दै गएर नरभक्षी बन्न बाध्य भएकोसमेत अनुसन्धानकर्ताहरूको विश्लेषण छ ।


अध्ययनअनुसार सन् २०२२ सम्म दोब्बर पारिने संकल्प गरिएको २ सय ५० वटा बाघका लागि एक वर्गकिमि क्षेत्रमात्रै १ सय ५१ वटा आहार प्रजातिका जन्तु आवश्यक पर्छन् । अहिले मुस्किलले एक वर्गकिमिमा ५६ आहार प्रजातिको उपलब्धता छ । अध्ययन भन्छ, ‘त्यति बाघका लागि यो संख्या निकै कम हो ।’ मृग, लगुना, चित्तल, बँदेल, जरायो र घोरललगायत बाघका मुख्य आहार प्रजातिका जन्तु हुन् । आहार प्रजाति बढ्नका लागि घाँसे मैदान आवश्यक पर्छ ।


पछिल्ला दशकमा ‘माइकेनिया माइक्रान्था’ जस्ता मिचाहा प्रजातिका झारले वन्यजन्तुका बासस्थान ढाकेको छ । यसले गर्दा मृग प्रजातिले रुचाउने घाँसे मैदानको आकार खुम्चिँदै गएको छ । ढिलै भए पनि घाँसे मैदानको विस्तार र व्यवस्थापनमा ध्यान दिइएको राष्ट्रिय निकुञ्ज विभागले जनाए पनि कार्यान्वयन प्रक्रिया ढिला हुनुको असर वन्यजन्तुको संख्या वृद्धिमा परेको छ ।


खानेकुरा मात्र होइन, बासस्थान अभाव बाघका लागि ठूलो चुनौती छ । एउटा बाघका लागि ४० देखि ६० वर्गकिमि बासस्थान आवश्यक पर्छ । बाघ पाइने पाँचवटै निकुञ्जमा आवश्यक बासस्थान नहुँदा आहारको खोजीमा जंगल बाहिर आउने घटना बढेका हुन् । २ सय ५० वटाले विचरण गर्नका लागि बाघ पाइने निकुञ्जहरूमा १३ हजार ५ सय वर्गकिमि क्षेत्र आवश्यक पर्छ । जो अहिले उपलब्ध छैन ।


राष्ट्रिय प्रकृति संरक्षण कोषमा बाघलगायतका जन्तुमा अध्ययनको काम गरेका नवराज चापागाईँ भन्छन्, ‘एउटा भाले बाघले आफूले चर्चेको क्षेत्रभित्र अर्को भालेको उपस्थिति रुचाउँदैन । त्यस्तो अवस्थामा दुइटाबीच फाइट पर्छ ।’ त्यस्ता लडाइँमा जसले जित्छ, त्यसले त्यो क्षेत्रमा कब्जा जमाएर बस्छ । ‘अर्को बाघ भाग्न बाध्य हुन्छ,’ उनी भन्छन्, ‘त्यसरी भागेको बाघ गम्भीर घाइते भएको हुन्छ । धेरै चोट लागेको भएन भने पनि सहजताको खोजीमा भौंतारिँदै मान्छेका बस्तीमा पुगेको हुन्छ र जे भेट्छ, त्यही खान्छ ।’


प्राकृतिक बासस्थलभित्र बाघका लागि आहार कम हुनु संरक्षण योजनाका लागि ठूलो चुनौती रहेको वन्यजन्तुविद् अच्युत अर्याल बताउँछन् । ‘आफ्ना बासस्थानमा सजिलै नपाएपछि बाघ अल्छी हुन्छन्,’ बाघको आहार र बासस्थानबारे अध्ययन गरेका उनले भने, ‘अनि जे भेटिन्छ त्यसैलाई आक्रमण गर्छन् ।’ बाघ नरभक्षी हुनुको मुख्य कारण पनि आहार कमी र साँघुरिँदो बासस्थान नै भएको उनले बताए । ‘त्यस्तो अवस्थामा भित्रबाट बाहिर आउँदा जनावर र मान्छेमाथि नै आक्रमण गर्छन्,’ उनले भने, ‘अहिले बाघ पाइने सबै निकुञ्जको मध्यवर्ती क्षेत्रमा यो विकराल समस्या छ ।’ आहारको खोजीमा भौंतारिएर मानवबस्तीमा आएका बाघले जे भेट्यो, त्यसैलाई आक्रमण गरेको हुन्छ । ‘ऊ आफैं पनि कमजोर हुने भएकाले सहज आहारको खोजीमा रहनु अस्वभाविक पनि होइन,’ उनले भने ।


निकुञ्जभित्रबाट बाहिर आउँदा मान्छे र बाघ दुवैलाई असुरक्षा उत्तिकै छ । आक्रमण गरेपछि आक्रोशित मान्छेले बाघ मार्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार करेन्ट लगाएर पनि बाघ मारेका घटना छन् । ‘विष हालेर पनि बाघ मारिएको छ,’ उनले भने, ‘बाघको संख्या बढेसँगै तिनको मर्ने क्रम पनि बढेको छ । संरक्षणमा यो ठूलो चुनौती हो ।’ त्यही भएर आहार र बासस्थान व्यवस्थापनमा बढी जोड दिइएको उनले बताए ।


अनुसन्धानकर्ताहरूका अनुसार आफ्नै कारणले पनि बाघ मरिरहेका छन् । एउटा भाले बाघको विचरण क्षेत्रमा सरदर तीनवटा बघिनी बसेका हुन्छन् । त्यस्तो अवस्थामा एउटा भालेले अर्को भालेलाई रुचाउँदैन । ‘अर्को भाले बाघ त्यो क्षेत्रमा आयो भने दुईबीच लडाइँ पर्छ,’ संरक्षणकर्मी चापागाईं भन्छन्, ‘कब्जा जमाएर बसेको क्षेत्रमा अर्को बाघ आयो भने सेक्सुअल डिजायरमा हस्तक्षेप गर्‍यो भन्ने ठानेको हुन्छ र आपसमा झगडा हुन्छ ।’ त्यसकारण जुधेर मर्ने बाघमा भालेको संख्या बढी देखिएको उनले बताए ।


भाले बाघले यौनाकांक्षा छिटो मेट्न डमरुलाई मारिदिने गरेको पाइन्छ । एउटा वयस्क बघिनीले २–२ वर्षमा एकपटकमा २ देखि ३ वटा डमरु जन्माउँछे । ३ देखि ४ वर्षको भएपछि बघिनी प्रजननयोग्य हुन्छन् ।


अर्का अनुसन्धानकर्ता सिभिस भण्डारी पनि सहवासका लागि प्रतिस्पर्धा हुँदा बाघ जुधेर मर्ने घटना प्राकृतिक चक्र भएको बताउँछन् । ‘धेरैवटा बाघले एउटै बघिनीसँग सहवास गर्न चाहेका हुन्छन्, त्यस्तो बेलामा बलियोले मात्र त्यो चाहना पूरा गर्न सक्छन्,’ उनी भन्छन्, ‘त्यस्तो बेलामा भाले–भालेबीच द्वन्द्व हुन्छ । त्यस्तो बेलामा हार्नेले भागेर जाने क्षेत्र ठूलो भए अन्त कतै जान सक्छ । अन्यथा जुधेर बाघ मरेका घटनालाई नौलो मान्न सकिँदैन ।’


वन्यजन्तु संरक्षण विभागले बाघ गणनामा जोड दिने गरे पनि मर्ने कारणबारे खासै अध्ययन गरेको छैन । ‘मर्ने संख्या बढिरहे पनि हामीले विस्तृत अध्ययन गर्न सकेका छैनौं,’ सूचना अधिकारी श्रेष्ठले भने । पछिल्लो ८ वर्षको अवधिमा बर्दियामा १४, पर्सामा ४ र शुक्लाफाँटा निकुञ्जमा ४ वटा बाघ मरेका छन् । बाँके निकुञ्जमा भने बाघको संख्या उल्लेख्य रूपमा बढिरहेको छ । त्यहाँ मरेको भेटिएको छैन । करिब १० वर्षमा उक्त निकुञ्जमा वयस्क बाघको संख्या २१ पुगेको छ । बाँकेभन्दा निकैअघि स्थापना भएको शुक्लाफाँटा निकुञ्जमा संख्या बल्ल १६ पुगेको छ । बाघ पर्यटकीय आकर्षण बनेका छन् । बर्दियामा बाघको संख्या झन्डै चितवनको नजिक पुगेको छ । बर्दियामा ८७ वयस्क बाघ छन् । बर्दिया निकुञ्जमा पर्यटकले सहजै बाघ देख्न सक्छन् ।


सबै निकुञ्जमा बाघ मर्ने कारण उस्तै छैन । ‘ठाउँ अनुसार फरकफरक कारण देखिन्छ,’ वन्यजन्तुविद् अर्याल भन्छन्, ‘आहार, बासस्थान अभाव र मानव–वन्यजन्तु द्वन्द्वमध्ये कारण देखिन्छ ।’


गणनामा संख्या बढेको देखिए पनि चुनौती कडा भएकाले सफलता ठान्न नहुने बुझाइ विशेषज्ञहरूको छ । ‘बासस्थान क्षयीकरण, अतिक्रमण, ठूला आयोजनाका लागि हुने क्षति र मानवीय चहलपहल मुख्य चुनौती बनेको छ,’ अनुसन्धानकर्ताहरू भण्डारी, अर्याल र उत्तमबाबु श्रेष्ठ अन्तर्राष्ट्रिय जर्नलमा विश्लेषण गर्छन्, ‘यी सबैको निराकरणका लागि सरकार, सहयोगी निकाय र स्थानीय सरकार–जनताबीच बृहत् सहकार्य आवश्यक छ ।’ घर वरपर नै बाघ आएर मान्छेमाथि आक्रमण गरेपछि स्थानीय आक्रोशित हुन्छन् । त्यस्ता घटनामा सरकारी राहत र क्षतिपूर्तिको व्यवस्था भए पनि प्रक्रिया लामो र असहज भएकाले जनता निकुञ्जप्रति नकारात्मक बन्ने गरेका छन् । बाघलगायतले ज्यान लिएका परिवारलाई राहतस्वरूप सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ ।


सरकारसँग हाम्रा निकुञ्जले कति बाघ धान्ने क्षमता छ भन्ने तथ्यांक कतै पनि छैन । विभागका इकोलोजिस्ट उपसचिव हरिभद्र आचार्यका अनुसार गत वर्षदेखि चितवन निकुञ्जको कति बाघ र गैंडा धान्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) छ भन्ने बारेमा अध्ययन भइरहेको छ । बाघ र गैंडा मध्यवर्ती क्षेत्रका बस्ती र सहरी क्षेत्रसम्मै आउजाउ गर्ने क्रम बढेपछि विभाग चितवन निकुञ्जले गैंडा र पाटे बाघको ‘क्यारिङ क्यापासिटी’ खोतल्न लागिपरेको हो । ‘कम्तीमा हाम्रो निकुञ्जले यति बाघ र गैंडा धान्न सक्छन् भन्ने थाहा हुन सक्यो भने तिनको व्यवस्थापन योजना बनाउन सहज हुन्छ,’ उनी भन्छन् ।


त्यसका लागि नेपाली विज्ञसहित जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का विज्ञ राजन अमिन र प्यान्थेरा संस्थाका अभिषेक हरिहरलगायत अध्ययनमा छन् । जेडएसएल नेपालले आर्थिक सहयोग गरेको छ । आचार्यले बाघका आहार प्रजाति, तिनको उपलब्धता, बायोलोजिकल आवश्यकताबारे पनि अध्ययन भइरहेको बताए । सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने संकल्प पूरा हुने देखिए पनि बाघलगायतका वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणमा ध्यान दिनुपर्ने विशेषज्ञहरूको सुझाव छ ।

प्रकाशित : आश्विन १२, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?