उपकुलपति भण्डारीको राजीनामा माग गर्दै प्रदर्शन
दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगिता भण्डारीको राजीनामा माग गर्दै शनिबार घोराहीमा प्रदर्शन गरेको छ ।
प्रतिष्ठानमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, उपकुलपति भण्डारीले मनोमानी गरेको र प्रतिष्ठानको अवस्था बिग्रदै गएको भन्दै अभियानले नागरिक प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘आधारभूत स्वास्थ्य सेवा ग्यारेन्टी गर्, प्रतिष्ठान ध्वस्त पार्न पाइदैन, स्वास्थ्य सेवा बन्द गर्न पाइदैन, उपकुलपति भण्डारी राजिनामा दे’ जस्ता नारा लगाएका थिए । प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक नहुँदा एक महिनादेखि बिरामी भर्ना हुन सकेका छैनन् ।
प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा अलपत्र परेको हो । स्वास्थ्य सेवा बन्द हुँदापनि उपकुलपति भण्डारीले केही कदम नचालेको, मनोमानी तरिकाले काम गरेको, चिकित्सकहरुलाई काम गर्ने वातावरण नदिएको र प्रतिष्ठानको नेतृत्व गर्न नसकेको भन्दै अभियानले उनको राजीनामा माग गर्दै आएको छ ।
प्रदर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक विकिरण गौतमले उपकुलपति भण्डारीकै असक्षमताका कारण प्रतिष्ठानको अवस्था बिग्रदै गएको बताए । स्वास्थ्य सेवा बन्द हुँदा पनि कुनै चासो नदिएको, चिकित्सकहरुलाई दुर्व्यवहार गरी मनोबल गिराएको, अनियमितता गरेको र पदको मर्यादामा बस्न नसकेका कारण राजीनामा माग गरेको उनले बताए ।
प्रतिष्ठानमा कार्यरत २३ डाक्टरहरुले काम गर्ने वातावरण नभएको भन्दै भदौ ७ मा सामूहिक राजीनामा दिएका थिए । कुनैपनि डरधम्की र मानसिक यातना नदिई बिरामी जाँच गर्ने वातावरण बनाउन र अस्पतालका सम्बन्धित विभागका प्रमुखहरुसँग नियमित परामर्श नगरी एकलौटी निर्णय गर्ने परिपाटी बन्द गर्न चिकित्सकहरुले माग गरेका थिए ।
भण्डारीले उनीहरुसँग छलफल गर्नुको सट्टा उक्त दिन नै सबैको राजीनामा स्वीकृत गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानको स्वास्थ्य सेवा अलपत्र परेको हो ।
यो पनि पढ्नुहोस्:
राप्ती स्वास्थ्य प्रतिष्ठान : चिकित्सक आन्दोलनले एक महिनादेखि ठप्प
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवादै विवाद
प्रकाशित : आश्विन ११, २०७६ १६:४७