त्रुटि भएपछि एमबीबीएस प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशित

रासस

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ ।

त्रुटि भएपछि एमबीबीएस प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशित

असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै शनिबार पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।


विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए । विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।


त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौं विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत ४ हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।


मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क रहेको छ ।

प्रकाशित : आश्विन ११, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?