अचाक्ली महँगो भयो तरकारी, २० दिनमै बढ्यो २८९ % 

राजु चौधरी

काठमाडौँ — चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् । 

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशतले बढेर होलसेलमै १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । बोडी (तने) को २ सय २७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । मकै बोडीको मूल्य १ सय ५८ प्रतिशतले बढेर ९८ रुपैयाँ, घिउ सिमीमा १ सय ३८ प्रतिशत बढेर ९५ रुपैयाँ, तीते करेला १ सय ५८ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ ।

हरियो प्याजको मूल्य १ सय ९ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ, रायोको मूल्य १ सय ६४ प्रतिशत बढेर १ सय ४५ रुपैयाँ, लौका १ सय ७ प्रतिशत बढेर ५८ रुपैयाँ पुगेको छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा पनि मनपरी मूल्यमा बिक्री भइरहेको छ । होलसेल र खुद्रामा प्रतिकिलो ५०/६० रुपैयाँ फरकमा बिक्री भइरहेको छ ।
जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरूले अनुगमनमा चासो दिएका छैनन् ।

कालीमाटी तरकारी बजारको नियमन गर्ने मुख्य दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्नुपर्छ । अनुगमन मौसमी हुँदा वर्षाको कारण देखाउँदै बिचौलियाले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘किसानबाट उपभोक्तासम्म आइपुग्दा ५ तहमा मूल्य तोकिन्छ । यी विषयमा कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव दुवै जानकार छन्,’ उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले भने, ‘मन्त्रीहरू बिचौलियासँग मिले । उनीहरूसँग मिल्दा किसान र उपभोक्तालाई मार पर्‍यो ।’

बानियाँले बजार मूल्य बिचौलियाकै कारण बढेको दाबी गरे । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले पनि चाडबाड लाग्नेबित्तिकै व्यापारीले मूल्य बढाउने गरेको बताए । ‘वर्षाले केही असर गरे पनि केही व्यापारीले चलखेल गरे,’ उनले भने, ‘मूल्य बढ्नुको अन्य मुख्य कारण केही छैन ।’

आपूर्तिमन्त्री यादवले पनि मूल्यवृद्धि वर्षाका कारण भएको दाबी गरे । ‘तरकारी भण्डारण गरेर राख्न मिल्दैन । वर्षाका कारण तरकारी बिग्रिएको छ, यसले मूल्यवृद्धि भएको हो,’ उनले कान्तिपुरसित भने, ‘अरू कारण छैन ।’ मन्त्री यादवले अस्वाभाविक मूल्यवृद्धि गरी बेच्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । यसका लागि आपूर्ति विभागलाई निर्देशन दिएको उनको भनाइ छ । ‘अस्वाभाविक मूल्य बढाउनेलाई छाड्दैनौं,’ उनले भने, ‘सबैतिर अनुगमन गर्छौं ।’

समितिका अनुसार भदौ २० गते ७८ रुपैयाँमा बिक्री भएको काउली असोज १० मा ९५ रुपैयाँ पुगेको छ । भन्टा लाम्चो १ सय २३ प्रतिशतले बढेर ७८ रुपैयाँ, रायो १ सय ६४ प्रतिशतले बढेर १ सय ४५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य २८ रुपैयाँबाट बढेर ५८ रुपैयाँ, घिरौला ३३ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

समितिका सूचना अधिकारी श्रेष्ठले तरकारीको सिजन सकिन लागेकाले पनि मूल्य बढेको बताए । ‘बजारमा कम उत्पादन आउन थालेको छ,’ उनले भने, ‘त्यसले पनि असर गरेको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि कालीमाटी बजारमा अनुगमन भइरहेको बताए । ‘दुई दिनअघि मात्रै अनुगमन गरेका थियौं । व्यवसायीहरूले वर्षा र भारतबाटै मूल्य बढेको जनाएका छन्,’ उनले भने, ‘विभागले पनि मूल्य विश्लेषण गरिरहेको छ । पुनः अनुगमन हुन्छ ।’

उत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्लाबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वर लगायत तरकारी बजारमा बिक्री हुन्छ । सरकारी निकायले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि जथाभावी मूल्य बढाउने व्यवसायीलाई कानुनी दायरामा ल्याउन सकेको छैन । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले खपत बढेकाले केही मूल्य बढेको बताए ।

‘खपत ह्वात्तै बढेको छ । तर आपूर्ति सामान्य नै छ,’ उनले भने, ‘यही मौकामा व्यापारीले पनि एक/दुई रुपैयाँ बढाए ।’ मूल्यको सन्दर्भमा आपूर्ति विभागले अनुगमन गरिरहेको उनले बताए । कृषि मन्त्रालयले पनि बिलबिजक सम्बन्धमा अनुगमन गर्ने उनले बताए ।

खुद्रा तरकारी पसलमा अनुगमनको सुरुवातै गरिएको छैन । तरकारी बजारलाई व्यवस्थित गर्न ६ वटा प्रतिवेदन बने पनि ती दराजमै थन्किएका छन् । किसान र उपभोक्ता ठगी गर्ने बिचौलियालाई कारबाही गरिएको छैन । जसले गर्दा बजार अराजक बन्दै गएको जानकारहरू बताउँछन् । ‘व्यापारीले सरकार चलाएको छ । सरकार कारबाहीको दायरामा ल्याउने हैसियतमा छैन, उपभोक्ताप्रति उत्तरदायी छैन,’ कृषि विज्ञ पौडेलले भने ।

प्रकाशित : आश्विन ११, २०७६ ०७:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

समानन्द हत्या प्रकरण : आरोपितलाई थुना आदेश, पीडित परिवारलाई कुटपिट

विनु तिम्सिना

(विराटनगर) — समानन्द यादव हत्याका ओरापी विराटनगर १४ का २७ वर्षिय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलसाले हत्या प्रकरणमा पक्राउ परेका यादवलाई पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ बमोजिम यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको जिल्ला अदाल मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् ।

समानन्द हत्या प्रकरणमा तीनजना जनप्रतिनिधीसहित नौं जना फरार छन् । दिपेश विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवका भतिज हुन् । वडा अध्यक्ष यादवलाई पनि यो मुद्दामा प्रतिवादी बनाएको छ । उनी अहिले फरार छन् ।

सरकारी वकिलको कार्यालयले अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो । अभियुक्त यादवको अदालतमा बयान सकिएपछि शुक्रबार थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसमा वादीकोतर्पबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्याधिवक्ता मनोजकुमार आचार्यले बहस गरेका थिए ।

अदालतले हत्या प्रकरणमा फरार रहेकाहरुको हकमा पक्राउ पूर्जी सहितको म्याद जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । शुक्रबारको बहसपछि अदालतले पक्राउ पूर्जी सहितको २१ दिने म्याद जारी गरेको हो ।

यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउापालिका–१ नम्बर वडाध्यक्ष प्रदीपचन्द यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव फरार छन् ।

आफुले खाजेको केटिसंग विवाह नगरेको भन्दै जेठ ३२ गते वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको उपचारको क्रममा असार २७ गते मृत्यु भएको थियो ।

पीडित परिवारलाई कुटपिट
अदालतको बहस सुन्न आएका मृतक समानन्द यादवका परिवारका सदस्य बाटोमा कुटिएका छन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवका आफन्तहरुले शुक्रबर बहस सुन्न अदालत गएकी मृतक सामानन्दकी श्रीमती किन्दलादेवी यादवमाथि बाटो छेकेर कुटपिट गरेका हुन् ।

मुद्दाको बहस सुन्न आउँदै गर्दा बाटो छेकेर आफुमाथि कुटपिट भएको उनले बताइन् । बाटो छेकेर कुटपिट गरेकाहरुले अदालत परिसरमा पनि समानन्दको श्रीमतीमाथि कुटपिट गर्न खोजेका थिए । दुई पक्षबीच झडप हुने स्थिति बनेपछि प्रहरीले दुबै पक्षलाई रोकेको थियो ।

प्रकाशित : आश्विन १०, २०७६ २१:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×