कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विपन्न जेष्ठ नागरिकलाई मात्रै विमान चढ्दा ५० प्रतिशत छुट

सुरज कुँवर

काठमाडौँ — वायुसेवा संचालक संघ (आवन) मा आवद्ध सातवटा एयरलाइन्स (बुद्ध, यति, तारा, समिट, सिता, सिम्रिक र सौर्य) ले ७० वर्षदेखि माथीका जेष्ठ नागरिकलाई सर्तसहित हवाई भाडामा ५० प्रतिशत छुट दिन सहमत भएका छन् ।

विपन्न जेष्ठ नागरिकलाई मात्रै विमान चढ्दा ५० प्रतिशत छुट

यो सुविधा सबै जेष्ठ नागरिकलाई भने खुला गरिएको छैन । आफुलाई विपन्न भनेर स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई मात्रै एयरलाइन्सहरुले यो छुट उपलब्ध गराउने भएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको २६ औं दिन भदौं ९ गते मन्त्री योगेश भट्टराईले १ सय ४१ वटा कार्ययोजनासहितको एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम ल्याएका थिए । तर, वायुसेवा संचालक संघको शुक्रबार बसेको बैठकले सबै जेष्ठ नागरिक नभई विपन्न जेष्ठ नागरिकलाई मात्रै हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।


यो निर्णय आइतबारदेखि लागू हुने छ । ‘७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालयमा आई स्वयंले आफु विपन्न भएको व्यहोरा स्वघोषणा गर्नु पर्नेछ,’ आवनको निर्णयमा उल्लेख छ ।

यो सुविधा ‘अपर लिमिट’ सबभन्दा मंहँगो भाडा दरमा मात्रै लागु हुने छ । वायुसेवा कम्पनीले छुटको सिट भने सिमितमात्र तोकेका छन् । सुगम रुटमा एउटा एयरलाइन्सले प्रति दिन दुई जनालाई मात्रै छुट दिने छ भने दुर्गम पहाडी रुटमा प्रति सेक्टर एक जना विपन्न यात्रुले मात्रै छुट पाउने छन् ।

यसअघि आवनले मन्त्रीले आफुहरुसँग छलफल नै नगरी यो कार्यक्रम ल्याएको भन्दै तत्कालिन अध्यक्ष पवित्रकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले भदौं १० गते (भोलीपल्ट) नै असहमती पत्र लेखेको थियो ।


पर्यटन मन्त्रीको यो कार्यक्रममा समर्थन जनाउदै राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र आवनको सदस्यता नलिएको निजी क्षेत्रको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई छुट दिने प्याकेज सार्वजनिक गरिसकेका छन् ।

श्रीकै काउन्टरबाट टिकट खरिद गर्ने दुई जनालाई छुट दिने भनेको छ भने निगमले असोज १ गते ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट लागू गरिसकेको छ ।

प्रकाशित : आश्विन १०, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?