३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मिटर ब्याजी प्रदेशी पुर्पक्षका लागि करागार चलान

ओमप्रकाश ठाकुर

(सर्लाही) — ठगी आरोपमा पक्राउ परेका सर्लाही पिपरियाका श्याम प्रदेशी भनिने श्यामकृष्ण साहलाई जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

मिटर ब्याजी प्रदेशी पुर्पक्षका लागि करागार चलान

जिल्ला अदालतका एक नम्बर जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले प्रदेशीलाई पुर्पक्षका लागि रौतहट करागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिए ।


प्रदेशीसँग शुक्रबार नै बयान लिइएको थियो । भोलि शनिबार सार्वजनिक बिदा परेको र आइतबार देखि अदालतमा दसैं बिदा सुरु हुने भएकाले शुक्रबार नै बयान लिएर पुर्पक्षका लागि कारागार चलानको आदेश दिइएको अदालतले जनाएको छ ।


मुद्दाको गम्भिरता हेरेर पुर्पक्षका लागि कारागार चलान गरिएको श्रेस्तेदार आचार्यले बताए । ‘मुद्दाको प्रकृति हेरेर धरौटीमा छोड्ने, तारेखमा छोड्ने वा थुनामा राख्ने तीनवटा प्रावधान हुन्छ,’ आचार्यले भने, ‘प्रदेशीको गम्भीरता हेरेर थुनामा राख्ने देखेर माननीय न्यायाधीश ज्यूले थुनामा पठाउनु भयो ।’


ठगी मुद्दामा पक्राउ परेका प्रदेशीले बन्दुकको आडमा नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको ब्याजको दर भन्दा निकै बढी दरमा ऋण प्रवाह गरेको, महिला तथा बालिकालाई अभद्र व्यवहार गरिएको जस्ता आरोप लगाइएको छ । विभिन्न आरोप सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले गत भदौ १५ गते साँझ सदरमुकाम मलंगवाबाट प्रदेशीलाई पक्राउ गरेको थियो ।


प्रदेशीलाई प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । ठगी मुद्दाको आरोप लगााउँदै जिल्ला प्रहरी कार्यालयले बिहीबार जिल्ला अदालतमा मद्दा दर्ता गरेको थियो । अदालतले शुक्रवार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाले प्रदेशीलाई रौतहट सदरमुकाम गौरस्थित कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए ।


सर्लाहीमा कारागार भवन नरहेकाले यहाँ विभिन्न अभियोगमा पक्राउ परेकाहरुलाई अदालतको आदेशपछि छिमेकी जिल्लाका कारागारमा चलान गरिँदै आएको छ ।


प्रकाशित : आश्विन १०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?