कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नागढुंगा–नौबिसेमा १२ घन्टासम्म जाम, यात्रुलाई चरम सास्ती

तत्काल जाम खुलाउन संसदीय समितिको निर्देशन
विमल खतिवडा

काठमाडौँ — दसैं नजिकिदैं गर्दा राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकको नागढुंगा–नौबिसे खण्डमा यात्रुले आवागनममा सास्ती भोगिरहनु परेको छ । सडक जाम हुँदा उपचार नपाएर एम्बुलेन्समा चल्न नपाएर बिरामीको ज्यानसमेत गएको छ ।

नागढुंगा–नौबिसेमा १२ घन्टासम्म जाम, यात्रुलाई चरम सास्ती

उपत्यका भित्रने र बाहिरिने सवारी साधन यही खण्डमा आएर १२ घन्टासम्म जाममा पर्ने गरेका छन् ।


लामो समयको जामले चरम सास्ती भोग्नु परेको गुनासो यात्रुहरूको छ । जब चाडबाड आए सडक मर्मत थालिँदा जाम हुन थालेको गुनासो यात्रुहरूको छ । बिहीबारभन्दा शुक्रबार कम जाम भएको महानगरी ट्राफिक प्रहरी महाशाखाका एसपी रवि पौडेलले दाबी गरेका छन् ।


गत वर्ष यही समयमा नागढुंगादेखि पिपलामोडसम्म सडक मर्मत गर्दा यात्रुले यस्तै चरम सास्ती खेप्नु परेको थियो । ठीक एक बर्षपछि त्यही समस्या दोहोरिएको छ । सडक विभागले सडक मर्मत गर्न थालेको दुइ साता हुँदै छ । तर अझै पूरा भएको छैन । विभागले भने सडक मर्मतले गर्दा जाम नभएको दाबी गरेको छ । आवागमन कम हुने रातिको १२ बजेदेखि ३ बजेसम्ममात्र सडक मर्मतको काम भइरहेको दाबी विभागको छ ।


‘नागढुंगा–नौबिसे खण्डमा एकदमै जाम भएको छ, बढी सवारी साधन गुड्ने यो सडकलाई बर्षेनी टालटुल गर्दै चलाउनु पर्ने बाध्यता छ,’ सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘पानी पर्न थालेपछि मर्मतको काम भएको छैन, मर्मत गरिएको सडकसमेत पानीले बगाएको छ ।’


उनले सडक मर्मतका कारण नभई लरी (१८ चक्के सवारी साधन) बिग्रिएका कारण जाम भएको बताए । यो काठमाडौं भित्रने मुख्य नाका हो । यो खण्ड भएर दैनिक ८ हजारभन्दा बढी साना/ठूला सवारीसाधन ओहोर/दोहोर गर्छन । चाडबाडको समयमा यो संख्या दोब्बर हुन्छ । ‘क्षमता भन्दा बढी सामान बोकेर आउने सवारी साधनका कारण यो खण्डमा बढी जाम हुने गरेको छ,’ उनले भने, ‘अहिले भएकै त्यही हो, जाम घटाउनका लागि सरोकारवाला निकाय लागिपरेका छौं ।’ यो खण्ड समस्याको रूपमा देखा परेको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी पौडेलका अनुसार बुधवार राती १८ चक्के लरी बिग्रँदा जाम भएको हो । ‘पानी परिरह्यो, त्यसलाई राती नै निकाल्न सक्ने अबस्था भएन’ उनले भने, ‘विहिवार विहान पानी कम भएपछि निकाल्यौं, यो निकाल्नासाथ फेरी ६ वटा गाडी बिग्रिँदा समस्या भयो ।’ विहिवार विहानदेखिको जामले गर्दा समस्या भएको हो । राजधानीबाट बाहिरिने सवारी साधनका लागि समस्या छैन । बाहिरबाट राजधानी भित्रिने सवारी आवागमन शुक्रवार राती अवेरसम्म सहज बनी सकेको छैन ।


‘बाहिरबाट आउँदा सडक उकालो छ, ठूला गाडी लाइनमा छन्, विस्तारै गुड्छन्’ उनले भने, ‘त्यसैले जाम भएको हो ।’ सडक मर्मतले समस्या नभई सवारी साधन बिग्रिएकै कारण जाम भएको उनले दाबी गरे । चाडबाडलाई लक्षित गर्दै शुक्रबारबाट प्रहरी निरिक्षकको कमाण्डमा १० जना ट्राफिक प्रहरी खटाइएको छ ।


‘प्रहरी टोली बढी जाम हुने नागढुंगा खण्ड हेर्नकै लागि खटाइएको हो’ उनले भने, ‘चारवटा मोटरसाइकल पनि पठाएका छौं, मोटरसाइकलमा २/२ जना बसेर सडक हेर्ने छन् ।’ तत्काल गाडी बिग्रिए २ वटा ४० टनसम्मका तौल भएका गाडीलाई उचालेर सडक छेउमा लगेर यातायात सुचारु गर्ने र्‍याकरसमेत परिचालन गरिएको छ ।


उनका अनुसार जाम हुन नदिन ओभरटेक गर्ने सवारी चालकलाई कारबाही गरिने छ । ओभरटेकले गर्दा समेत जाम हुने गरेको छ । ‘यति भएपछि केही सहज हुनेछ,’ उनले भने,‘ अहिले भएको जाम शुक्रवार राती अबेरसम्म हटाउने छौं ।’


यसैबीच प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले नागढुंगा–नौबिसे खण्डमा यात्रुले भोग्नु परेको समस्या समाधानप्रति तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण भएको जनाएको छ । ‘हामीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई शुक्रवार पत्र लेखेर पठाएका छौं’ समितिका सचिव रोजनाथ पाण्डेले भने, ‘तीन दिनभित्रमा लिखित जवाफ मागेका छौं ।’


‘चाडपर्वको समयमा नागढुंगा–नौबिसे सडक खण्डमा यात्रुको आवत/जावत बढी हुन्छ । यो सडक उपत्यका भित्रने र बाहिरिने लाइफलाइन हो,’ उनले भने, ‘जामले गर्दा एम्बुलेन्स पनि चल्न नपाएर बिरामीको मृत्यु भएको कुरा आएको छ, सडक खुलाउन र व्यवस्थित गर्नका लागि के योजना छ, मन्त्रालयले के गरिराखेको छ र किन यस्तो समस्या भइरहेको छ भनेर कारणसहित जवाफ मागेका हौं ।’


प्रकाशित : आश्विन १०, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?