नौबिसे–नागढुंगा सडक मर्मत : जामका कारण काखमै गुम्यो छोरा

गोरखा र धादिङबाट बिरामी बोकेका एम्बुलेन्स चितवनतिर
हरिहरसिंह राठौर

(महादेवबेंसी, धादिङ) — कति बेला उनले छोरालाई काखमा सुताउँथिन् । कति बेला पछ्यौरीले गुटुमुटु पार्थिन् । कति बेला भोकप्यास लागे–नलागेको सोध्थिन् । मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाँदै गरेकी रौतहटको गरुडा नगरपालिका ८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म पनि गर्न पाइनन् । बिरामी छोरालाई लिएर काठमाडौं हिँडेकी उनले जामका कारण हस्पिटलसमेत पुर्‍याउन पाइनन् । काखको काखमै छोरा गुमाउनुपर्‍यो ।

काठमाडौंमा छोराको उपचार गराउँला र उसैमार्फत आफ्नो भविष्य सपारौंला भन्ने उनको उद्देश्य पूरा हुन पाएन । ३५ वर्षीय छोरा रुपलाल साहलाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवी रौतहटबाट बिहीबार साँझ ना ७ ख ५३६४ नम्बरको बस चढेकी थिइन् । आमाछोरासहित यात्रु लिएर हिँडेको बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे–२ हुलाकडाँडामा शुक्रबार बिहान जाम छिचोल्न नसक्दा रुपलालको मृत्यु भएको हो ।


जनकपुरमा दुवै मिर्गौला फेल भएर गम्भीर बिरामी भएका साहको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिँदै थियो । यसअघि पनि सुमेरु अस्पतालमा उनको उपचार गराइएको थियो । मध्यरातमा थाक्रे–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववबेंसी बजारनजिकै हुलाकडाँडामै जाममा फसेको थियो ।


जाममै रहेका बेला बिहान ३ बजेतिर बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात् गम्भीर बनेपछि चालक र यात्रुले एम्बुलेन्स खोज्दै थिए । तर बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले जानकारी दिए ।


‘जहाज चढ्ने रकम छैन, रौतहटबाटै एम्बुलेन्स भाडामा लिने अवस्था पनि नभएकाले बसमा आएका हौं,’ आमा सिर्जनदेवीले भनिन्, ‘एम्बुलेन्स पनि बसभन्दा धेरै महँगो हुँदो रहेछ । त्यसैले सबैको सल्लाहले नाइट बस समातेका हौं ।’


एम्बुलेन्स नै ल्याएको भए पनि जामका कारण बाटो छिचोल्न गाह्रो रहेको उनको भनाइ छ । कैयौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेको देखेको सिर्जनदेवीले बताइन् ।


बसको सिटमै मृत्यु भएपछि यात्रुले महादेवबेंसीस्थित प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाई रामबाबु साह पनि घटनास्थल आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ ।


दसैंका बेला सवारीसाधनको चाप बढेसँगै सडक मर्मत थालिएपछि पृथ्वी राजमार्गको धादिङ–नागढुंगा खण्डमा लामो जाम हुन थालेको छ । असारमै सक्नुपर्ने सडक मर्मतको काम बल्ल आएर सुरु भएको छ । राजमार्गमा ३० किलोमिटरसम्म जाम हुने गरेको छ ।


गोर्खा बारपाक सुलिकोट ७ धारापानीका ६० वर्षीय अम्बरबहादुर भट्ट गोरु चराउन जाँदा भिरबाट लडेर गम्भीर घाइते भए । एम्बुलेन्समै मुग्लिङ ल्याइएका अम्बरलाई काठमाडौं लैजान सवारी जाम छिचोल्न सक्ने अवस्था नदेखेपछि चितवन लगिएको छ । धादिङ, गोरखा, लमजुङ आदि स्थानबाट आएका एम्बुलेन्स पनि चितवनको भरतपुर लगिएको छ ।


प्रकाशित : आश्विन १०, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षार्थीको हातमा उत्तरसहितको प्रश्नपत्र

हरि गौतम

(रुकुम पश्चिम) — शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा प्रश्नपत्रको साटो उत्तर पनि उल्लेख गरिएको ‘की’ परेको छ । शुक्रबार भएको मावि तहको अध्यापन अनुमति पत्रको परीक्षाको क्रममा परीक्षार्थीको हातमा उत्तर की पुगेको हो ।

मुसीकोट नगरपालिका–१, स्थित त्रिभुवन जनता माविको परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षार्थीलाई उत्तर प्रष्ट भएको प्रश्न ‘की’ बाँडिएको थियो ।

४० पूर्णाङ्कको वस्तुगत प्रश्नमा ‘प्रश्न की’ बाड्नुपर्नेमा ‘उत्तर की’ बाँडिएको थियो । केही परीक्षार्थीलाई उत्तर की परेको थियो । परीक्षा सुरु भएको डेढ घण्टापछि मात्रै उक्त कुरा पत्ता लागेको थियो ।

प्रश्न की को सट्टामा उत्तर की परेपछि कक्षा निरीक्षकले परीक्षार्थीबाट उक्त की मागेर फेरि अर्को प्रश्नपत्र दिएका थिए । शिक्षक सेवा आयोगबाट आएका प्रश्न पत्र बाँड्दा आफू सहित केही परीक्षार्थीलाई उत्तर की परेको एक परीक्षार्थीले बताए । यसलाई उक्त की नभनेर सहि उत्तरलाई बोल्ड गरेको वा हाइलाइट गरेको पनि भनिएको छ ।

वस्तुगत प्रश्न पत्रको ४ सेट मध्य एउटा सेटका दश प्रश्नको उत्तर प्रष्ट बुझिने गरी लेखिएको थियो । परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केही त्रुटी भेटिएको र तत्कालै सच्च्याइ सकिएको बताए ।


प्रकाशित : आश्विन १०, २०७६ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×