कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देहीका ८ सय ५० जनामा डेंगुको संक्रमण

अमृता अनमोल, मनोज पौडेल

(बुटवल/कपिलवस्तु) — तीजलगत्तै बुटवल ९ कैलाशपथकी सुजता पोखरेललाई हनहनी ज्वरो आयो । शरीर दुख्ने, वाक्वाकी लाग्ने र चिलाउने समस्या भयो । मेडिकलमा गएर ज्वरो घटाउने औषधि ल्याएर खाइन् । ज्वरो घटेन । शिथिल हुन थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा गइन् ।

रूपन्देहीका ८ सय ५० जनामा डेंगुको संक्रमण

रगत परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भयो । दुई पोका रगत चढाउनुपर्‍यो । एक साता भर्ना भएर उपचार गरेपछि उनी घर फर्किइन् । त्यस्तै लक्षण उनकी बहिनी नम्रतामा देखियो । अस्पताल गइन् । बेड अभाव देखाएर अस्पतालले भर्ना लिन मानेन । उनी अहिले अस्पताल र घर गरिरहेकी छन् । उनकी दुई वर्षीया छोरीमा पनि डेंगु संक्रमण भेटिएको छ ।


एक महिनायता रूपन्देही र आसपासका जिल्लामा डेंगु संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो पटक परिवारका सदस्य एकपछि अर्को थलिन थालेका छन् । बुटवल–९ ज्ञवालीपथका सुशील शर्माको घरमा पाँच जना बिरामी छन् ।


‘अस्पतालले बेड छैन भनेर भर्ना लिन्न,’ पोखरेलले भनिन्, ‘घरका सबै सोत्तर भएपछि स्याहार्ने मान्छे छैन ।’ ज्वरो घटे पनि वाक्वाकी लाग्ने, वान्ता हुने, खाना नरुच्ने र शरीर शिथिल हुँदा समस्या भएको उनले बताइन् । यहाँका संघसंस्था र सरकारी कार्यालय पनि संक्रमणबाट आक्रान्त छन् । इलाका प्रशासनमा कार्यरत ४ जनामा डेंगु भेटिएको छ ।


संक्रमित लामखुट्टेले धेरै जनालाई टोक्दा परिवारै संक्रमणमा पर्ने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन चिकित्सक नन्दु पाठकले बताए । ‘संक्रमित लामखुट्टेले २ सय मिटरसम्म उडेर टोक्छ,’ उनले भने, ‘त्यसले गर्दा एउटै घर, कार्यालय र परिवारका सबैजसोमा संक्रमण देखिएको हो ।’


स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ८ सय ५० जनामा डेंगु संक्रमण पहिचान भएको छ । यसमध्ये करिब १ सय बालबालिका छन् । साउन ३१ मा प्रादेशिक अस्पतालमा पहिलो पटक डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसयता बिरामी बढेका छन् । पछिल्ला तीन दिनमा २ सय २५ नयाँ बिरामी पहिचान भएका छन् । ‘सफा पानीमा लामखुट्टे फैलिँदो रहेछ,’ स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले भने, ‘अघिल्लो साता केही कम भएको डेंगु यो साता ह्वात्तै बढ्यो ।’


रूपन्देहीका ७ अस्पतालमा डेंगु परीक्षण हुन्छ । लुम्बिनी अस्पताल, बुटवल हस्पिटल, सिद्धबाबा, मर्सिसिटी र चौराहाका साथै मणिग्रामको क्रिमसन र भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पनि डेंगु परीक्षण हुन्छ । सबै अस्पतालले नियमित रूपमा डेंगुबारे विवरण उपलब्ध गराउँदैनन् । यसले पनि सबै डेंगु संक्रमितको जानकारी नआएको हुन सक्ने शाहले बताए ।


धेरै चाप प्रादेशिक अस्पतालमा छ । शुक्रबार मात्र २ सय २० जनाले उपचार गराइरहेको अस्पतालका मेडिकल रेकर्डर चन्द्रकान्त महतोले जानकारी दिए । अस्पतालमा दुई सातायता डेंगु परीक्षणको किट छैन । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको १ सय ५० वटा किट सकिएपछि अन्तबाट जोहो भएको छैन । यस्तोमा नजिकका अन्य अस्पतालमा प्लेटलेट्स जाँच गर्न पठाएर उपचार गर्ने गरिएको वरिष्ठ फिजिसियन डा. पाठकको भनाइ छ ।


कपिलवस्तुमा ३९ जनामा संक्रमण

तीन सातायता कपिलवस्तुमा ३९ जनामा डेंगु देखिएको छ । त्यसमध्ये पिपरा अस्पतालमा ३५ र कपिलवस्तु अस्पतालमा ४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


पिपरामा वाणगंगा नगरपालिकाका २७, बुद्धभूमि नगरपालिकाका ७ र रूपन्देहीको सैनामैना नगरपालिकाका एक जना बिरामीमा संक्रमण भेटिएको वाणगंगाका स्वास्थ्य शाखा प्रमुख कमल ज्ञवालीले बताए । जिल्लामा अहिले डेंगु परीक्षण किट अभाव छ । स्वास्थ्य कार्यालयले माग गरेको एक महिनाभन्दा बढी भए पनि विभाग र प्रदेशबाट किट नआएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत उदयचन्द्र चौरसियाले जानकारी दिए ।


गत वर्षको मौज्दात ३०/३५ वटा किट तौलिहवा अस्पताललाई दिइएको ज्ञवालीले बताए ।


वाणगंगा नगरले पिपरा अस्पताललाई ४ सय किट उपलब्ध गराएको छ । ‘दैनिक १८/२० जनालाई परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘मौज्दात सकिन थालेको छ ।’


प्रकाशित : आश्विन १०, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?