विमानको सिट नपाएर अलपत्र परेका बिरामीको संसदीय टोलीद्वारा उद्धार  

मधु शाही

(बाँके) — संसदीय टोलीले शुक्रबार ताल्चा विमानस्थलमा बिरामी परेका दुईजनाको उद्धार गरेको छ । ताल्चादेखि नेपालगञ्ज उपचार गर्न आउने क्रममा तारा एयरलाइन्समा सिट नपाएका ५ वर्षे प्रिन्स बोहरा र १८ वर्षे हस्तबहादुर सैजुवाललाई संसदीय टोलीले मानवीयताका आधारमा उद्धार गरेका हुन् । 

विमानको सिट नपाएर अलपत्र परेका बिरामीको संसदीय टोलीद्वारा उद्धार  

संसदीय टोली मध्ये एकजना सदस्य निस्किएर बिरामीलाई स्थान दिएको कालीकोट सांसद जीवन बुढाले बताए । उनका अनुसार छायानाथ नगरपालिका–१३ का बोहरा ऐपेन्डीसाइटिसले छटपटिएका थिए । त्यस्तै, १८ वर्षका हस्तबहादुर पनि गम्भीर बिरामी थिए ।

सांसद बुढाका अनुसार हस्तबहादुर भने एक समुह कुटपीटमा परेर घाइते थिए । एकजना नानीलाई रेप गर्न लागेको देखेर त्यसको प्रतिकार गर्न खोज्दा हस्तबहादुर कुटिएको सांसद बुढाले बताए ।

‘दुवै बिरामी गम्भीर थिए,’ उनले भने, ‘बिरामी छोड्न सकेनौं । बरु हाम्रै मान्छे त्यहाँ छोडेर बिरामीलाई उपचार गर्न ल्यायौं । संसदीय टोलीका फोटोग्राफर सालीग्राम तिवारीलाई त्यही छाडेर बिरामीलाई नेपालगञ्ज ल्याइएको सांसद बुढाले सुनाए ।

बिरामीका छिमेकी सुर्यबहादुर सावतले समयमै अस्पताल आउन नपाएको भए उनीहरुको ज्यानै जाने खतरा रहेको बताए । ‘अहिले दुवै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ’, उनले भने ।

राष्ट्रिय सम्पदा र पिछडिएको क्षेत्रको सम्पत्तिकको संस्थगत अध्ययनका लागि ६ गते देखि जुम्ला, सिन्जा हुँदै मुगु पुगेको संसदीय टोलीले बिरामी उद्धार गरेको हो ।

उक्त टोलीमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीना लगायतकाहरुको सहभागीता रहेको थियो ।


प्रकाशित : आश्विन १०, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?