स्वास्थ्य विज्ञान सम्मेलन : ‘पोलेको घाउबाट क्यान्सर हुन सक्छ’

प्रदीप मेन्याङ्बो

(सुनसरी) — बाल्यकालमा आगाले पोलेर बनेको घाउ निको भए पनि वयस्क अवस्थामा त्यही घाउ क्यान्सर हुन सक्ने अनुसन्धानबाट खुलेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी विभागका चिकित्सक डा. अनील काफ्लेले सानैमा आगाले पोलेर निको भएको घाउ वयस्क वा वृद्ध अवस्थामा पुग्दा सार्कोमेटोइड क्यान्सरका रूपमा देखिएको बताए ।

प्रतिष्ठानको बालरोग विभागले आयोजना गरेको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको दोस्रो दिन आफ्नो अनुसन्धानपत्र प्रस्तुत गरेका डा. काफ्लेले यस्तो अनुसन्धान नेपालमा पहिलो पटक भएको जानकारी दिए । उनका अनुसार आगाले पोलेर निको भइसकेको घाउ क्यान्सर बन्न सक्ने विषयमा सन् २०१४ मा जापानी चिकित्सक टिमले अनुसन्धान गरेको थियो । यस्तो क्यान्सरबारे अरू कतै पनि अभिलेख छैन ।


तीन महिनाअघि मात्र प्रतिष्ठानमा उपचारका लागि आएका ६७ वर्षीय एक वृद्धको टाउकाको बाहिरी छालामा भएको घाउको प्याथोलोजी गर्दा सार्कोमाटोइड क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर भएका ठाउँमा ती वृद्ध सानो छँदा आगाले पोलेको थियो ।


प्रतिष्ठानका सहायक अस्पताल निर्देशक एवं फरेन्सिक विभागका एडिस्नल प्रोफेसर डा. विकास साहले नियमित वा कहिलेकाहीं मात्र रक्सी पिउनेको पिसाबथैली फुट्ने जोखिम बढी हुने शोधपत्रमा उल्लेख गरेका छन् । रक्सी धेरै पिउने व्यक्तिले पानी धेरै पिउँछन् । पानी बढी पिउँदा पिसाब धेरै लाग्छ । रक्सी पिएका बेला केही महिनाअघि २४ वर्षीय युवकको यसरी नै मृत्यु भएको घटनाका आधारमा उनले अनुसन्धानपत्र तयार गरेका थिए । डा. साहका अनुसार लामो समयदेखि नियमित रक्सी पिउनेको कलेजोमा क्षति पुग्छ । उनले अनुसन्धान गरेका युवाको कलेजो बिग्रने समस्या थिएन । उनले दिउँसो धेरै मदिरा पिएका थिए । राति सुत्न जाँदा केही पेट दुखेको महसुस भए पनि उनले ख्याल गरेनन् । बिहान ४ बजेतिर तिर्खा लागेपछि पानी पिउने क्रममा एक्कासि बेहोस भए र केही समयपछि मृत्यु भयो । ‘पोस्टमार्टम गरेर हेर्दा पिसाबथैली फुटेको पाइयो,’ डा. साहले भने । उनको अनुसन्धानले पिसाबै नलागी पनि थैली फुट्न सक्ने संकेत गरेको छ ।


डेन्टलको प्रोस्थोडोन्टिक्स विभागकी डा. मीरा सिंहले खैनी–सुर्ती सेवनले हुने मुखको क्यान्सरको उपचार तथा शल्यक्रियापछि मुखभित्रको तालुमा बन्ने खाल्टोलाई प्लेट र कृत्रिम दाँत हालेर सहज बनाउन सकिने शोधपत्र प्रस्तुत गरिन् । प्याथोलोजीकी डा. गार्गी बास्तोलाले घाँटीभित्रको सामान्य तन्तु असामान्य स्थानमा बस्दा बच्चाको श्वासप्रश्वास प्रक्रियामा समस्या देखिने गरेको शोधपत्र प्रस्तुत गरिन् । उनको निष्कर्ष थियो, ‘यस्ता असामान्य ठाउँमा बसेका तन्तु बेलैमा पहिचान गरेर शल्यक्रियाबाट फाल्नुको विकल्प छैन ।’


कलेज अफ नर्सिङका एसिस्टेन्ट प्रोफेसर कृति चौधरीले गर्भवतीमा एचआईभी एड्सबारे शोधपत्र प्रस्तुत गरेकी थिइन् । सम्मेलनमा प्रतिष्ठानभित्रकै चिकित्सक, नर्स, चिकित्साशास्त्र अध्ययरत विद्यार्थीले अनुसन्धान गरेका २ सय १० वटा वैज्ञानिक शोध अनुसन्धानपत्र प्रस्तुत गरिँदै छ ।


प्रकाशित : आश्विन १०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?