औषधि भन्दै ‘न्युट्रास्युटिकल’

विश्वमै प्रतिबन्ध लगाइएका २९ वटा अवयव हालिएका न्युट्रास्युटिकल नेपालमा बिक्रीवितरण भइरहेका छन् । पोषणका लागि भन्दै डाक्टरले नै सिफारिस गर्ने यस्ता उत्पादनमाथि नियमन हुनुपर्ने विज्ञहरूले बताएका छन् ।
अतुल मिश्र

काठमाडौँ — बाख्राको दूध, चियापत्तीको रस, क्रेनबेरीको बोक्राको धूलो र गोलभेंडामा पाइने लाइकापिनलगायत उत्पादन औषधि भन्दै बिक्रीवितरण भइरहेको छ । बजारमा पाइने यस्ता करिब ८० प्रतिशतजति वस्तु कहाँबाट आएका हुन् र खपतको अवस्था के छ भन्ने पत्ता लगाउने संयन्त्र छैन । यति मात्र नभई करिब ५० प्रतिशतभन्दा बढी बिरामीलाई डाक्टरले तागत दिलाउने भन्दै यस्ता ‘न्युट्रास्युटिकल’ सिफारिस गरिरहेको सर्वेक्षणले देखाएको छ ।

औषधि भन्दै ‘न्युट्रास्युटिकल’

विश्वमै प्रतिबन्ध लगाइएका २९ वटा अवयव हालिएका न्युट्रास्युटिकल नेपालमा बिक्रीवितरण भइरहेको पाइएको छ ।

विश्व फार्मेसी दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित न्युट्रास्युटिकलको तर्कसंगत उपयोग र वितरण विषयक अन्तरक्रियामा विशेषज्ञले यस्ता न्युट्रास्युटिकल सरकारको औषधि व्यवस्था विभागले नियमन गरेर मात्र उपयोग हुनुपर्ने बताए । अझैसम्म नेपालीलाई औषधि र आहारपूरक तत्त्वमा भिन्नता थाहा नभएको भनाइ उनीहरूले राखे ।


पोषण र औषधि शब्द मिलेर बनेको न्युट्रास्युटिकल एक प्रकारको खाद्य उत्पादन हो, जसले रोगको रोकथाम र उपचारसँगै चिकित्सकीय लाभ पुर्‍याउने दाबी गरिन्छ । ‘यी न्युट्रास्युटिकलहरू मुलुकमा खाद्यान्न भनेर आउने गरे पनि औषधिका रूपमा बिक्रीवितरण भइरहेको छ,’ फर्मासिस्ट विवेकसिंह महत भन्छन्, ‘डाक्टरको एउटा पुर्जामा ४–५ वटासम्म यस्ता पोषक दाबी गरिने पदार्थ प्रस्ताव गरिएको हुन्छ ।’


यतिसम्म कि एकजना आयातकर्ता र प्रस्तावक डाक्टरबाट समेत कतिपय न्युट्रास्युटिक कम्पनी चलिरहेको दाबी सिंहको छ । करिब २५ प्रतिशत न्युट्रास्युटिकल मात्र डाक्टरले प्रस्ताव गर्ने भए पनि ७५ प्रतिशत बिरामीले औषधि पसलमै पाउने गरेको आरोप नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले लगाए । न्युट्रास्युटिकल सप्लाइ गर्ने कम्पनीहरूले चुनावमा राजनीतिक दललाई सहयोग गर्ने गरेको उनले बताए । ‘कारबाही नहुने भएर यस्तो विकृति बढेको हो,’ उनले भने ।


औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले डाक्टरले पुर्जामा लेखेर न्युट्रास्युटिकल बेच्न बाध्य पारेको बताए । केही डाक्टरले ६ वटा औषधि लेख्दा ३ वटा न्युट्रास्युटिकल लेखिरहेको उनको भनाइ छ । अनावश्यक न्युट्रास्युटिकल बेचबिखन गर्न नपाइने औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । विभागले यस्ता न्युट्रास्युटिकलको बिक्रीवितरण गर्न नपाइने सूचना ५ वर्षअघि नै गरेको र त्यसविरुद्घ पुनरावेदन अदालतमा परेको मुद्दामा समेत विभागकै पक्षमा निर्णय भएको उनले जानकारी दिए । त्यसयता व्यापारीले यस्ता न्युट्रास्युटिकल खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता गराएर भित्र्याउन थालेको ढकालको दाबी छ । यस्ता उत्पादनलाई औषधिका रूपमा लिएर सोहीबमोजिम नियमन हुनुपर्ने उनको भनाइ छ ।


मुलुकमा न्युट्रास्युटिकल व्यापारिक कारणले भित्रिएको उल्लेख गर्दै डा. अरुणा उप्रेतीले भनिन्, ‘धेरै मूल्य पर्ने न्युट्रास्युटिकलमा पैसा खर्च हुँदा पुर्जामा लेखिएको एन्टिबायोटिक भने दुई दिनका लागि मात्रै किन्न बिरामी बाध्य छन् ।’ उनी कुपोषितलाई पोषित बनाउन न्युट्रास्युटिकल नचाहिने बताउँछिन् ।


अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले सन् २००७ देखि २०१६ सम्म गरेको अध्ययनमा त्यहाँ बिक्रीवितरण भइरहेका ७७६ वटा आहारपूरकमा अप्रमाणित अवयव भेटिएको फर्मासिस्ट महतले बताए । ‘आहारपूरक (डाइटरी सप्लिमेन्ट) सुरक्षित छैनन्,’ उनले भने, ‘भिटामिन बी६ र बी१२ उच्च मात्रामा लिइए फोक्सो क्यान्सरको जोखिम तेब्बर हुने विभिन्न अनुसन्धानले औंल्याएका छन् ।


न्युट्रास्युटिकलको उपयोगले औषधि पसललाई फाइदा र डाक्टरलाई सुविधा हुने गरेको औंल्याउँदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले भने, ‘यो खेल अर्थ मन्त्रालयको कारण जारी छ । उद्योग र अर्थ मन्त्रालयले गर्दा स्वास्थ्यअन्तर्गत यो उत्पादनलाई राख्न सकिएको छैन ।’ अझ डाक्टरले ५ वटा औषधि लेखे पनि बिरामी वा आफन्तले खोइ तागतको औषधि भनेर लेख्न कर गर्ने, नलेखे फार्मेसीबाट सिधै लैजाने गरेको पाइएको उनले बताए ।

कतिपय न्युट्रास्युटिकल नेपालमै बने पनि ब्याच नम्बर भारतको रहेको वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि व्यवस्था विभागले यस्ता न्युट्रास्युटिकलको नियमन गर्नुपर्ने बताए । नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालका अनुसार न्युट्रास्युटिकलअन्तर्गतको पूरक आहार खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले एवं भिटामिन, मिनरल आदिको औषधि व्यवस्था विभागले नियमन गर्नुपर्छ ।

प्रकाशित : आश्विन १०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?