कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रातको अर्कै काठमाडौं

राजधानीमा करिब तीन सयको हाराहारीमा सडक बालबालिका छन्, जसमध्ये झन्डै आधा संख्या बालिकाको छ 
जनकराज सापकोटा

काठमाडौँ — सिमसिमे पानीसँगै साँझ ढल्किएपछि बुधबार रात नपर्दै काठमाडौं सुनसान बनिसकेको थियो । गन्तव्यतर्फ लम्किरहेका सवारीको हल्लाखल्ला र सटर बन्द गर्दाको कर्कस आवाजसँगै रात पर्दै थियो । धेरै मान्छे न्यानोको खोजीमा घर पसिसकेका थिए ।

रातको अर्कै काठमाडौं

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अधिकारी भने यही झरीमाझ सडक छेउछाउमा रात गुजारिरहेका, सडक पेटी र गल्लीमा भौंतारिरहेका र यौन गतिविधिमा संलग्न बालबालिकालाई उद्धार गर्न हिँडेका थिए ।


राष्ट्रिय बाल अधिकार परिषद् (साविकको बाल कल्याण समिति) का अधिकृत र बालबालिका खोजतलास केन्द्रका प्रहरी अधिकारीसहितको २५ जनाको टोली झन्डै साढे आठ बजे भृकुटीमण्डपबाट पुतलीसडक हुँदै बागबजार घुमेर रत्नपार्कछेउ पुग्यो । त्यतिबेला सिमसिम पानीमा रुझ्दै दुई किशोरी युवकसँग मोलतोल गरिरहेका थिए । सादा पोसाकको प्रहरीले गतिविधि प्रमाणित गरेलगत्तै उनीहरूलाई समात्यो । पक्राउलगत्तै १८ वर्षमुनिका दुई किशोरी जोडजोडले चिच्याए । एउटीले भनिन्, ‘मेरो बच्चा छ । छाड्दे ।’ खोजतलास केन्द्रको भ्यानभित्र राखिसक्दा पनि उनीहरूको चिच्याहटमा कमी आएको थिएन ।


केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले सुनाए, ‘यी दुवै पहिला पनि पक्राउ परेर तीन महिना सुधार गृहमा बसीवरी सीपमूलक तालिम लिएर निस्केका किशोरी हुन् । उनीहरू फेरि पहिलेकै जीवनशैलीमा फर्केछन् ।’ पक्राउ पर्ने, छुट्ने र फेरि पुरानै गतिविधिमा संलग्न हुने निरन्तरको चक्रको कारण के हो ? उनले भने, ‘यौन गतिविधिबाट छिटो हुने आम्दानी र स्वतन्त्र जीवनशैलीका कारण यस्तो भइरहेछ ।’ उनको अनुभवले भन्छ, राजधानीमा करिब तीन सयको संख्यामा सडक बालबालिका छन्, जसमध्ये करिब आधा बालिका छन् । उनीहरूमध्ये धेरैजसो यौनजन्य गतिविधि र लागूऔषध दुर्व्यसनमा फसिरहेका छन् । रत्नपार्कलाई केन्द्र बनाएर हुने यौन गतिविधिमा किशोरीको पनि संलग्नता देखिने दाहाल बताउँछन् । केही दिनअघि मात्र केन्द्रले गरेको यस्तै कारबाहीमा यही क्षेत्रबाट किशोरीहरू पक्राउ परेका थिए । केन्द्रका एक अधिकारीले केही समयअघि रत्नपार्क छेउबाटै समातिएकी एक किशोरीको गोजीभरि कन्डम भेटेका थिए । ती किशोरी पनि केन्द्रले पक्राउ गरेर सुधार गृहमा तीन महिना बिताएर निस्केकी रहिछन् ।


न्युरोड गेट कटेर अघि बढेको टोलीले फोहोर बोक्ने ठूलाठूला बोराको थैली बोकेर हिँडिरहेका ससाना बालबालिकालाई च्याप्पै समात्यो । तिनीहरू चर्कोसँग कराउँदै उम्किने प्रयत्न गरे तर अधिकारीहरूले तिनलाई भ्यानभित्र राखिहाले । एकैछिनमा भूगोल पार्कछेवैको गल्लीमा बोरामा फोहोर टिपिरहेका भारतीय मूलका महिलाहरू चर्कोसँग कराउँदै आइहाले । अघि समातिएका तिनैका छोराछोरी रहेछन् । उनीहरूले रुँदै कराउँदै छोराछोरी छाडिदिन बिन्ती बिसाए । शान्त बन्दै गरेको न्युरोडको मूल बाटोमा रुवाइ र अलापविलापको चर्को आवाज फैलियो । अनिता गुप्ता आफ्ना छोराछोरीलाई छाडिदिन बिन्ती बिसाउँदै धेरै बेरसम्म चर्को चर्को स्वरमा रुँदै कराउँदै गरिरहिन् । अर्की एक महिलाले भने बच्चाको बाबु नभएको र घरमा राख्न नमिल्ने भएकै कारण आफूसँग फोहोर टिप्न हिँडेको तर्क गरिन् ।


केन्द्रका अधिकारी सन्तोषचन्द्र अधिकारीले तिनीहरूलाई सम्झाउँदै भोलि बिहान केन्द्रमा आएर छोराछोरी लैजान सकिने बताए । चर्कोचर्को स्वरमा रोइरहेका बालबालिका र तिनका अभिभावकको चित्कारले शान्त न्युरोडमा खैलाबैला मच्चियो । दर्जनौं कुकुर एकसाथ भुके । बालबालिकाका आमाहरू फर्केपछि सन्तोषले सुनाए, ‘यिनीहरू रोएको देख्दा छाडिदिऊँ जस्तो लाग्छ । गाडीबाट भागेरै जाऊन् जस्तो लाग्छ तर फर्केपछि फेरि यिनीहरू दुर्व्यसनमा फस्छन् । त्यत्ति सम्झेर यिनको रुवाइ भुल्नुपर्छ ।’


आमासँगै हिँडे पनि यी बालबालिका धेरै जोखिममा रहेको उनको भनाइ छ । सडकमै भेटिने डेनड्राइड (जुत्ता टाल्ने गम, जसलाई सडक बालबालिकाले लागूऔषधका रूपमा प्रयोग गर्छन्) सुँघ्छन् । अवैध धन्दामा पनि प्रयोग हुने जोखिम उत्तिकै हुन्छ । ‘हामीले जति सम्झाउँदा पनि अभिभावक टेर्दैनन्,’ अधिकारीले भने । प्रहरीका अनुसार रातको समयमा अभिभावकसँगै फोहोर टिप्ने काममा ससाना बालबालिकाको प्रयोग गर्नेमा भारतीय मूलका महिला धेरै छन् । यस्ता बालबालिका समयक्रममा सडक बालबालिकाको संगतमा पुग्ने र दुर्व्यसनमा फस्ने गरेको देखिन्छ । टोलीले वसन्तपुर, जैसीदेवल र मखनका गल्ली चहारेर झन्डै एक दर्जन बालबालिकालाई नियन्त्रणमा लियो, जसमध्ये केहीबाट प्रहरीले गाँजा र अन्य लागूऔषध पनि बरामद गर्‍यो । यसरी मध्यरातमा सडक छेउछाउ डुलिहिंडने धेरैजसो अभिभावकविहीन थिए भने केही अभिभावक भए पनि परिवारको रेखदेखबाहिर थिए । वसन्तपुरबाट उद्धार गरिएका केही बालक भने पहिला पनि उद्धार भएर परिवारको जिम्मा लगाइएका थिए ।


कालीमाटीबाट बल्खु, एकान्तकुना हुँदै टोली पाटन पुग्दा रातको ११ बजिसकेको थियो । पाटनका गल्लीहरूमा बगेको पानीमा प्लास्टिकजन्य फोहोर तैरिरहेका थिए । कुकुरको एकोहोरो भुकाइबाहेक मान्छेको चहलपहल शून्य थियो । पाटननजिकै टोलीले दुई किशोरीलाई नियन्त्रणमा लियो । ती दुवै किशोरी यौन गतिविधिमा संलग्न रहेको अधिकारीहरूको दाबी थियो । नियन्त्रणमा परेकी एक किशोरीले तुरुन्तै कसैलाई फोन गरिन् र भनिन्, ‘बोर भयो नि । हामी त मामाघर जाने भएम् ।’


पुलिसले पक्राउ गरेर थुनामा लैजाने कुरालाई उनले मामाघरका रूपमा अर्थ्याएकी थिइन् । नियन्त्रणका बेला कुनै प्रतिवाद नगरेका ती किशोरीले एकआपसमा सांकेतिक भाषामा केके कुरा साटे र भने, ‘कति केटी हामी जसरी हिँडेका छन् । हाम्लाई मात्र किन समात्या ?’ उनीहरूको प्रश्नको उत्तर सादा पोसाकका प्रहरीले दिएनन् । त्यसपछि ती किशोरीले हाँस्दै गुनगुनाइन्, ‘हामी यस्तै त हो नि हौ...।’


झन्डै १२ बजे ठमेल पुग्दा ट्याक्सी, रिक्सा र मान्छेहरूको ओहोरदोहोरले गुल्जार देखिन्थ्यो । टोलीले होटल र साँघुरा ओसिला गल्लीबाट करिब एक दर्जन किशोरीलाई नियन्त्रणमा लियो । तीमध्ये केही पहिला पनि नियन्त्रणमा परेर महिनौं लामो समय सुधार गृहमा बसेर फर्केकाहरू थिए । १८ वर्षमुनिका किशोरीहरू यौन व्यापार र यौनजन्य गतिविधिमा सामेल हुने गरेको र तीमध्ये धेरैजसो दुर्व्यसनमा फसेको प्रहरी नायब निरीक्षक सुशीला राउतले बताइन् । ‘टोली आएपछि थुप्रै भागे । नत्र यिनीहरूको संख्या धेरै नै पुग्थ्यो,’ उनले भनिन् । किशोरीहरूलाई यौनजन्य गतिविधिमा लगाउनेहरूको गिरोह नै भएको र यो अपराध तथा दुर्व्यसनको कारण रहेको उनको भनाइ छ ।


पानी धेरै दर्किएपछि टोलीले उद्धारको काम बन्द गर्‍यो । उद्धारमा निस्किएका प्रहरी र अन्य अधिकारी सबै पानीले भिजिसकेका थिए । रातको एक बजे बालबालिका खोजतलास केन्द्रमा १५ बालिका र ३० बालक जम्मा भएका थिए । केन्द्रले अघिल्लो साता मात्रै यसैगरी १८ बालक र १९ बालिकाको उद्धार गरेको थियो । ‘बुधबार उद्धार भएका १५ बालिकामध्ये ३ र ३० बालकमध्ये ६ जना पहिला पनि उद्धार भएर पुनःस्थापना केन्द्र बसेर निस्केका हुन्,’ टोलीमा सँगै रहेका राष्ट्रिय बाल अधिकार परिषद्का सडक बालबालिका व्यवस्थापन इकाई प्रमुख चित्र पौडेलले भने । अधिकारीहरूका अनुसार सडकमा हुर्किरहेका बालकभन्दा बालिका धेरै जोखिममा छन् । टोलीले सबभन्दा सुरुमा रत्नपार्कबाट नियन्त्रणमा लिएकी एक किशोरी २ वर्षअघि पनि उद्धार भएकी थिइन् । चित्रले उति बेलाको कुरा सम्झए, ‘१३ वर्षकै उमेरमा गर्भवती बनेर १४ वर्षमै आमा बनेकी यी किशोरीलाई उद्धारपछि तीन महिनासम्म पुनःस्थापना केन्द्रमा राखिएको थियो ।’ पुनःस्थापना केन्द्रको सुधार सकिएपछि उनलाई रक्षा नेपाल नामक गैरसरकारी संस्थाले राखेको थियो । सीपमूलक तालिम सिकिरहेका बेला आफू घर फर्कने बताउँदै जिद्दी गरेपछि उनलाई संस्थाले नातेदारहरूको जिम्मा लगाएको थियो । ‘पुष्प व्यवसाय गर्न भन्दै त्यति बेला जिल्ला बालकल्याण समितिले ५ हजार रुपैयाँ दिएको थियो तर उनी त पुरानै जीवनमा फर्किछन्,’ चित्रले भने ।


यसरी पुनःस्थापनाको प्रक्रिया बीचमै छाडेकी ती किशोरी फेरि यौनजन्य क्रियाकलापमा सामेल भएको देखियो । चित्रले ती किशोरीकी बहिनीसँग जोडिएको कथाको अर्को भयानक पाटो पनि सुनाए । सडकमै हुर्किरहेको एक किशोरसँगको सम्बन्धपछि छोरी जन्माएकी ती किशोरी आफ्नी १२ वर्षकी बैनीलाई छोरी सुम्पेर आफ्नो बाटो हिँडेकी थिइन् ।


उनको उद्धार भएलगत्तै प्रहरीले ती किशोरीकी बहिनीलाई दिदीकी छोरीसहित गर्भवती अवस्थामा रत्नपार्क छेउबाटै उद्धार गरेको थियो । आफ्नै भिनाजुबाट गर्भवती भएको बताएपछि ती केटालाई प्रहरीले पक्राउ गरी मुद्दासमेत चलाएको थियो । अनि किशोरीलाई तीन महिना पुनःस्थापना केन्द्रमा राखेर बाँसबारीको कोमल हृदय केन्द्र नामक गृहमा संरक्षणका निम्ति पठाइएको थियो । ‘ती बहिनीले पछि छोरा जन्माइन् । अहिले उनको र बालकको अवस्था ठीक छ,’ चित्रले भने, ‘तर सुधारको बाटोमा हिँडेकी दिदीलाई फेरि उद्धार गर्न‘पर्ने अवस्था आउनु भने दुःखको हो ।’


चित्रले सुनाएको कथाले सडक बालबालिकाहरू कसरी जोखिमपूर्ण जीवन बिताइरहेका छन् भन्ने बुझाउँछ । खोजतलास केन्द्रले २०७३ यता मात्रै काठमाडौंका सडकबाट १२ सय बालबालिकाको उद्धार गरिसकेको छ । गतवर्ष मात्रै १ सय ९८ बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो, जुन संख्या साउनयताका ६९ दिनमै १ सय ४२ पुगिसकेको छ । राजधानीमा मात्रै अनुमानित ३ सयको हाराहारीमा सडक बालबालिका रहेको र तिनीहरू जोखिममा रहेको केन्द्रका इन्स्पेक्टर मोहनविक्रमले जानकारी दिए ।


उद्धार गर्ने, पुनःस्थापना केन्द्रमा राख्ने, सीपमूलक तालिम सिकाउने र फेरि सामाजिक जीवनमै फर्काउने सरकारी प्रयत्न रहे पनि यो पूर्ण सफल देखिँदैन । उद्धार भएकामध्ये करिब २५ प्रतिशत बालबालिका फेरि सडकमै फर्किएको पाइएको मोहनविक्रमको अनुभव छ । सामाजिक भएर बस्नुपर्दाका नियमलाई उल्झन मान्ने र सडककै स्वतन्त्रतामा रमाउने प्रवृत्तिले सबै बालबालिकालाई सामाजिक रूपमा पुनःस्थापना गर्न जटिल भइरहेको उनी बताउँछन् । यसरी फर्केकाहरू फेरि लागूऔषधको दुर्व्यसनमा फस्ने, चोरी र लुटपाटको घटनामा समेत संलग्न भएको देखिन्छ । बालिकाहरू भने हुर्किंदै जाँदा यौन शोषणमा पर्ने, सानै उमेरमा गर्भवती हुने र यौनजन्य संक्रमणमा फस्ने गरेका छन् । ‘उद्धार भएकामध्ये करिब २५ प्रतिशत यौनजन्य जोखिममा छन्,’ चित्रले सुनाए ।


बालबालिकासम्बन्धी ऐन, २०७५ को दोस्रो परिच्छेदको दफा १५ मा प्रत्येक बालबालिकालाई प्रचलित कानुनबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा बालमैत्री वातावरणमा पाउने अधिकार हुने उल्लेख छ तर पनि सडक बालबालिका शिक्षा र आधारभूत मानवीय सुविधाबाट समेत वञ्चित छन् । जब कि ऐनको दोस्रो परिच्छेदमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको विकासका लागि उनीहरूमाथि हुन सक्ने दुर्घटना रोकथाम, जोखिमको न्यूनीकरणलगायत प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्बन गर्न सक्ने अधिकार उल्लेख छ । रातको एक बजे केन्द्रका कर्मचारीले उद्धार गरिएका सबै बालबालिकालाई चाउचाउ र पानी खान दिए । तिनीहरूमध्ये कोही त्यति बेला पनि डराइरहेका देखिन्थे भने दोहोरिएकाहरूले यो प्रक्रियालाई स्वाभाविक रूपमा लिइरहेका थिए । बालगृहमा लैजान सबैलाई लाइन लगाइरहेका बेला करिब ५ वर्ष उमेरका एक बालकले जिज्ञासु भएर सोधे, ‘हामीलाई कहाँ लैजान्छ ?’ केन्द्रका कर्मचारीले बालगृहमा लैजाने, त्यहाँ दाल, भात र तरकारी खान पाइने र टीभी पनि हेर्न पाइने बताए । ती बालकले फेरि सोधे, ‘टीभीमा केके आउँछ ? ’ कर्मचारीले सबै थोक आउने बताउनेबित्तिकै बालकले टाठो स्वरमा भने, ‘मोटुपत्लु र डोरेम्यान पनि आउँछ ?’ सिमसिम पानीले हल्का भिजेका उनी पातलो टिसर्टमा थर्थराइरहेका थिए तर डोरेम्यान र मोटुपत्लु हेर्न पाइने सुनेपछि उनको अनुहार धपक्क बले जस्तो देखियो । एकैछिनमा उनी दर्जनौं बालबालिकासँगै गाडीभित्र कोच्चिए । अँध्यारो रातलाई चिर्दै गाडी अगाडि बढ्यो ।


सडकमै रात गुजार्नेहरूको बिजोग

वैशाख १५ मा राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खान बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका थिए । उनले एक कदम अघि बढेर भनेका थिए, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ अगाडि बढेका छौं । त्यसैले अब कोही पनि भोको रहनेछैनन् । कोही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस्, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’


प्रधानमन्त्रीले बाचा गरेको साढे चार महिनापछि मध्यरातमा काठमाडौंको सडक चहार्दा कहर काटेर सडक पेटीमै रात गुजार्नेहरूको ठूलो संख्या देखियो । सडक बालबालिका उद्धार गर्न हिँडेको टोली राति झन्डै नौ बजेतिर रत्नपार्कलाई फन्को मारेर वीर अस्पताल हुँदै संकटा मन्दिर पुगेको थियो । सिमसिमे पानीका कारण बढ्दो जाडोले गर्दा मन्दिर वरिपरि पेटीमा गुडुल्किएर बस्नेहरूको संख्या ठूलो देखिन्थ्यो ।


त्यहाँ नौ जना थिए । धेरैजसोले बोरा र मैलो कपडा ओढेर गुडुल्की पर्दै पानीबाट ओत लाग्ने कोसिस गरिरहेका थिए । संकट हर्ने विश्वास गरिएको देउताकै सामुन्ने संकटले पुरिएर बसिरहेकाहरू टोली पुगेपछि जर्‍याकजुरुक्क उठे । तीमध्ये एक जना शारीरिक रूपमा विकलांग भएर हलचल गर्न नसक्ने अवस्थाका बिरामी थिए । तिनले आफ्नो उद्धार गरिदेलान् कि भनेर टोलीतिर पुलुक्क हेरे । संकटा मन्दिरछेउ पसल गरेका एक व्यक्तिले केन्द्रका अधिकारीलाई भने, ‘सक्नुहुन्छ भने यिनको उद्धार गर्दिनुस् । भोकै छन् । बिरामी छन् र हलचल गर्न सक्दैनन् ।’ केन्द्रका एक अधिकारीले तिनको उमेर सोधे । जवाफमा भने, ‘३७ वर्ष ।’ १८ वर्ष माथिकाको उद्धार हामीले गर्न मिल्दैन भन्ने जवाफ आएपछि ती अशक्त चुपचाप घोप्टो परे ।


टोली कालीमाटीको तरकारी बजार पुग्दा रातिको १० बजिसकेको थियो । सिमसिम पानी रोकिएको थिएन । कालीमाटीबाट कुलेश्वरतिर जाने मोडको सडक पेटीमा भरियाहरू लस्करै सुतेका थिए । तीमध्ये अधिकांश बोराभित्र घुस्रिएर गुजुल्टो परेका थिए भने केहीले मैलो र ठाउँठाउँमा च्यातिएको कम्मल ओढेका थिए । पानी दर्किएपछि पेटीमा मुस्किलले अडिएका केही ब्युँझिए ।


एक छेउदेखि अर्को छेउसम्म हिँड्दै गनेपछि थाहा भयो, पेटीमा २२ जना सुतेका रहेछन् । आधा जीउ पानीले भिजेपछि उठेका इन्द्रबहादुर तामाङले आफू भोकभोकै सुतेको बताए । ‘भोकले त निद्रा पनि नआउने रैछ,’ उनले भने । किन भोकै सुत्नुभयो त ? उत्तरमा भने, ‘दिनभरजसो पानी परेकाले भारी बोक्ने काम पाइएन । त्यही भएर ।’ मकवानपुरको पालुङ घर बताउने उनले पेटीमा सुत्ने धेरैजसो चिसोले बिरामी पर्ने गरेको सुनाए । भने, ‘छड्के पानी पर्नेबित्तिकै भिजिन्छ । यहाँको दुःख कसैले बुझ्दैन ।’

न्युरोड, जैसीदेवल र हनुमानढोका छेउछाउका मन्दिरको पेटीमा पनि दर्जनौंको संख्यामा गुजुल्टिएर सुतेकाहरू भेटिए । बालबालिका उद्धारमा रातिको समय हिँड्दा यस्ता दर्जनौं सामान्य मजदुरी गर्ने र माग्नेहरू सडकपेटीमै रात गुजारिरहेका भेटिने गरेको यथार्थ कर्मचारीहरूले सुनाए । त्यसो त प्रहरी परिसर काठमाडौंले केही महिनाअघि सडकमा कष्टप्रद जीवन बिताइरहेका वृद्धवृद्धा र माग्नेहरूलाई उद्धार गरी विभिन्न आ श्रमको जिम्मा लगाएको थियो ।

प्रकाशित : आश्विन १०, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?