परराष्ट्रमन्त्री ज्ञवालीद्वारा साउदी र बहराइनका विदेशमन्त्रीसँग भेटवार्ता, नेपालीको श्रम अधिकार प्रत्याभूति गराउन आग्रह

देवेन्द्र भट्टराई

न्यूयोर्क — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुक साउदी अरेबिया र बहराइनका विदेशमन्त्रीलाई अलगअलग भेटवार्ता गर्दै दुबै देशमा रहेका नेपाली श्रमिकको सेवासुविधा तथा श्रमिक अधिकार प्रत्याभूतिका लागि आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा साउदी र बहराइनका विदेशमन्त्रीसँग भेटवार्ता, नेपालीको श्रम अधिकार प्रत्याभूति गराउन आग्रह

बुधबार अपरान्ह साउदी अरेबियाका विदेशमन्त्री इव्राहिम अब्दुलाजिज अल असफसाग न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि कार्यालयमा भेटवार्ता गर्दै मन्त्री ज्ञवालीले द्विपक्षीय श्रम समझदारीका थाती रहेका प्रक्रियालाई अघि बढाउन आग्रह गरेका छन् । झण्डै ६ लाख नेपालीले साउदीमा पाइरहेको रोजगारी अवसरप्रति कृतज्ञता जनाउँदै मन्त्री ज्ञवालीले नेपालमा आएको राजनीतिक स्थिरतासँगै विभिन्न क्षेत्रमा लगानी तथा स्रोत पहिचानको जरुरी भएको समकक्षी अल असफलाई बताएका थिए । ‘अब बढी आर्थिक साझेदारीतिर लाग्न जरुरी छ । नेपालमा पर्यटन, कृषिको आधुनिकीकरण र मानव संशाधनको विकासमा साउदी लगानीको अपेक्षा गरिएको छ,’ भेटवार्तापछि मन्त्री ज्ञवालीले भने—‘नेपालमा लगानीको अनुकूल वातावरण बनेको छ, आन्तरिक बजार पनि फराकिलो बनेको छ भनेर अवगत गराएँ ।’


कुराकानी क्रममा साउदी अरेबिया सरकारले साउदी फन्ड फर डेभलेपमेन्टमार्फत नेपाल सरकारको आर्थिक समुन्न्ती अभियानमा पुर्‍याएको सहयोगको चर्चा भएको थियो । साउदी अरेबिया आगामी वर्ष मानव अधिकार परिषद्को चुनावमा एशिया प्यासिफिक क्षेत्रबाट सदस्यमा उठ्न लागेकाले साउदी विदेशमन्त्री अल असफले नेपालको ‘फेभर’ चाहेका थिए । अर्कातिर, हाल परिषद्मा सदस्य रहेको नेपालले आगामी बर्ष पनि सदस्यतामा पुन उम्मेदारी दिन लागेको स्थितिमा परस्पर सहयोगको उपाय पहिल्याइने सहमति भएको छ ।


यसैगरी, बहराइनका विदेशमन्त्री खालिद बिन अहमद अल खालिफासँगको भेटवार्तामा मन्त्री ज्ञवालीले द्विपक्षीय संवादको नियमित संयन्त्र गठनका लागि आग्रह गरेका छन् । बहराइनले भने नेपालबाट उच्चस्तरीय बिजिनेस डेलिगेसन पठाउन मन्त्री ज्ञवालीसँग आग्रह गरेको छ । नेपालमा लगानीको सम्भावना पहिल्याउन र आवश्यक क्षेत्र पहिचानमा सहजीकरणका लागि डेलिगेसन पठाउनका लागि आग्रह गरिएको हो । बहराइनमा झण्डै १० हजार नेपाली श्रमिक छन् ।


यसैबीच, नेपालले पश्चिम अफ्रिकी मुलुक घानासँग दौत्य सम्बन्ध कायम गरेको छ । परराष्ट्रमन्त्री ज्ञवाली र घानाकी विदेशमन्त्री सर्ली अयोरकोर बोट्च्वेबीच दौत्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा बुधबार अपरान्ह हस्ताक्षर भएको छ । पछिल्लो राष्ट्रसहित गरेर नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकको संख्या १६८ पुगेको छ ।


दुबै देशका विदेश मन्त्रीसँगको भेटवार्ता क्रममा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका प्रवक्ता उपसचिव लोकबहादुर पौडेल क्षेत्रीसमेत उपस्थित थिए । मन्त्री ज्ञवालीले भेनेजुएलाका समकक्षी जोर्ग अलबर्टो एरेजिया मोन्टोसेराट र नर्वेका अर्न्तराष्ट्रिय विकासमन्त्री ड्याग इन्गे उलेस्टेइनसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।


प्रकाशित : आश्विन ९, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?