२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सीको भ्रमण सुनिश्चित गर्दै फर्कियो चिनियाँ टोली

काठमाडौँ — राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फर्केका छन् । नेकपाको स्कुल विभागसँग ‘सी चिनफिङ विचारधारा’ माथि छलफल चलाउन आएका चिनियाँ टोलीका प्रमुख सङ ताओले भ्रमणको आश्वासन दिएका छन् ।

सीको भ्रमण सुनिश्चित गर्दै फर्कियो चिनियाँ टोली

दुई पार्टीबीचको छलफललाई राष्ट्रपति सीको भ्रमणको तयारीका रूपमा लिइएको छ । सी असोज अन्तिम साता आउने तयारी छ । राष्ट्रपतिको भ्रमणअघि चिनियाँ टोली त्यसको अध्ययन गर्ने सिलसिलामा अन्य मुलुकमा पनि जाने प्रचलन छ । प्रायः विदेश विभाग प्रमुख सङ नै त्यस्तो भ्रमणको तयारीका लागि अन्य मुलुकमा जाने गरेका छन् ।


यसअघि राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जानुअघि सङ तीनपटक उत्तर कोरिया पुगेका थिए । विदेश विभाग प्रमुख सङको राष्ट्रपति सीसँग सिधा रिपोर्टिङको च्यानल रहेको छ । ‘चिनियाँ टोलीले राष्ट्रपति सी आउने सन्देश दिएको छ । कहिले, कसरी आउने भन्ने तय हुँदै जान्छ,’ विचारधारात्मक छलफलको नेपालतर्फ संयोजन गरेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले भने ।


नेकपाका नेताहरूले मंगलबार दुई पार्टीबीच सम्झौता गर्दा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको धारणा राखेका थिए । त्यसको जवाफमा सङले ‘तपार्इंहरूको आशा पूरा हुने विश्वास गर्नुहोस्’ भनेका थिए । राष्ट्रपति सीको भ्रमणका विषयमा चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो । छलफलमा उनीहरूले यहाँको सुरक्षा व्यवस्थाबारे पनि जिज्ञासा राखेका थिए । ‘सी चिनफिङ विचारधारा’ मा भएको छलफलबाट चिनियाँ टोली प्रभावित भएको नेकपाका नेताहरूले दाबी गरेका छन् ।


चीनतर्फ ढल्किएका होइनौं : पोखरेल

नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले सी विचारधारामाथि छलफलकै कारण नेपाल चीनतर्फ ढल्कियो कि भन्ने भ्रम नराख्न आग्रह गरेका छन् । ‘दुइटा पार्टीबीच वैचारिक आदानप्रदान विगतमा पनि हुँदै आएको हो । हामीले अहिले पार्टी स्कुल सुरुवात गरेका छौं । बदलिँदो अवस्था र विषयअनुसार हामी प्रशिक्षित हुँदै जान्छौं,’ उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले कान्तिपुरसँग भने, ‘यसमा कसैले रोइकराई गर्नु आवश्यक छैन । हामी सन्तुलित ढंगले सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राख्छौं ।’


उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएर संसद्मा सम्बोधन गरेको उदाहरण दिँदै छिमेकीहरूको विचार आदानप्रदानलाई कसैतर्फ ढल्कियो भन्ने ठान्नु गलत रहेको बताए । ‘हामी सबै छिमेकीलाई सम्मान र समान व्यवहार गर्छौं,’ पोखरेलले भने, ‘भोलिका दिनमा बजार अर्थ व्यवस्थाबारे बेलायत, अमेरिकाले पनि यहाँ आएर प्रवचन दिन सक्छन्, यसमा अन्यथा लिनुपर्ने अवस्था छैन ।’


उनले नेकपाले सी विचारधारालाई अँगाल्न खोजेको हो कि भन्ने आशंका पनि गलत भएको बताए । ‘हाम्रो मौलिकपथ छ, मार्क्सवादलाई हाम्रो विशिष्टताअनुसार प्रयोग गरिरहेका छौं,’ पोखरेलले भने, ‘अरू कसैको नक्कल गर्दैनौं र गरेका छैनौं ।’ उनले सिद्धान्त, दर्शनलगायतका विषयमा विश्वभरका कम्युनिस्टहरूको धारणामा निकटता हुने भएकाले एकअर्काबीचको अनुभव आदानप्रदान स्वाभाविक भएको र यस्तो शृंखला निरन्तर चलिरहने बताए । मुद्दा मिल्ने विषयमा कम्युनिस्ट पार्टीहरू अन्तर्राष्ट्रिय फोरमहरूमा मिलेर अघि बढ्नसमेत सक्ने उनले बताए । ‘नेपालको विचारबारे पनि चीनलाई आवश्यक परेका बेला यस्तै छलफल गर्न सकिन्छ,’ उनले भने ।


नेता पोखरेलका अनुसार सीपीसीसँग नेपालका कम्युनिस्टहरूको पुरानो सम्बन्ध रहे पनि बीचमा छिन्नभिन्न भएकाले धेरै घनिष्ठता थिएन । तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर शक्तिशाली नेकपा बनेपछि सम्बन्ध विशेष ढंगले विस्तार भएको पोखरेलले बताए । ‘दुई पार्टीबीच मंगलबार भएको सहमति पनि सम्बन्धलाई घनिष्ठता बढाउने उद्देश्यसँग जोडिएको छ,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?