कारागारमा भाइरल : डेढ सयभन्दा बढी कैदीबन्दी बिरामी

इलाम/ताप्लेजुङ — अचानक फैलिएको भाइरल ज्वरोले इलाम कारागारका डेढ सयभन्दा बढी कैदीबन्दी बिरामी परेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कारागारमा २ सय ६० मध्ये १ सय ५७ जना थलिएका हुन् । उनीहरूमा टाउको दुख्ने, छाती दुख्ने, बान्ता हुने, ज्वरो आउने स्वास्थ्य समस्या देखिएको छ । असोज सुरुदेखि देखिएको भाइरल संक्रमणबाट कारागार प्रमुख र कर्मचारीसमेत बिरामी परेका छन् ।

कारागारमा भाइरल : डेढ सयभन्दा बढी कैदीबन्दी बिरामी

‘बिरामीको उपचारमा सहयोग गर्दागर्दै आफैं बिरामी परियो,’ कारागार प्रमुख प्रदीप श्रेष्ठले भने, ‘भाइरल फैलिएपछि प्रायः सबै कर्मचारी बिरामी भए ।’ सिकिस्त ३० जनालाई इलाम अस्पतालमा पुर्‍याएर उपचार गरिएको छ । अन्यको स्वास्थ्यकर्मी ल्याएर कारागारमै उपचार गराइएको हो ।


धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोलीलाई कारागारमै डाकिएको हो । सय पुरुष र २५ महिला क्षमताको कारागारमा अहिले २ सय ३७ पुरुष, २१ महिला र २ नाबालक छन् ।


इलाम अस्पतालका मेडिकल सुपरिटन्डेन्ट पवनजंग रायमाझीले कारागारमा फैलिएको प्रकोप भाइरल ज्वरो र टन्सिलेजाइसन भएको बताए । ‘ठूलो संख्यामा धेरै बिरामी परे पनि डेंगु वा स्क्रफ टाइफाइसको लक्षण देखिएको छैन,’ उनले भने ।


कारागारका कैदीबन्दीको नियमित उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी हुन्छ । तर स्रोत अभावमा सबैलाई छुट्टै स्थानमा राखेर उपचार गर्न नसकिएको कर्मचारी बताउँछन् । दरबन्दीमा रहेका स्वास्थ्यकर्मीको कर्मचारी समायोजनपछि अन्यत्र जानुपरेपछि बिहान/बेलुका समय मिलाएर तिनै कर्मचारीले उपचार गरिरहेका हुन् । कैदीबन्दी बिरामी पर्दा अस्पताल पर्‍याउन सवारी साधनसमेत नभएकाले ठूलो संख्यामा बिरामी पर्दा समस्या परेको श्रेष्ठले बताए ।


कारागारमा पानी पर्दा छाना चुहिनेलगायत समस्या छन् । कारागारबाट निस्कने ढललाई परिसरमै जमाइएको छ । त्यसले सिंगो टोलमै दुर्गन्ध फैलिएको छ । कारागार निर्माणदेखि नै स्थानीयले समस्याको स्थायी समाधान गर्न आग्रह गर्दै आएका छन् । सदरमुकाम इलाम बजारको गडीथुम्कामा रहेको कारागार द्वन्द्वकालमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको हो ।


डेंगु पनि भेटियो

लामो समयदेखि जिल्लामा फैलिएको भाइरल ज्वरोसँगै डेंगुसमेत देखिएको छ । इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये ५ जनालाई डेंगु देखिएको हो । त्यस्तै ३ जनामा स्क्रब टाइफस भेटिएको अस्पतालले जनाएको छ । डेंगु संक्रमित सबैको उपचार जिल्ला अस्पतालमा गरिए पनि स्क्रब टाइफसका बिरामी रिफर भएका छन् । अस्पतालमा यसको इन्जेक्सन नभएकाले बिरामीलाई अन्यत्र पठाइएको मेडिकल सुपरिटेन्डेन्ट रायमाझीले बताए ।


ताप्लेजुङ र पाँचथरमा पनि समस्या

ताप्लेजुङ कारागारमा पनि ३५ कैदीबन्दी एकै पटक बिरामी परे । कारागारका स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) धनीराम सिंह रुँघेरै बसेर औषधि उपचार चलाए । उनका अनुसार भाइरल ज्वरो कारागारका कैदीहरूमा फैलिएको थियो । ‘उमालेको पानी खान, आराम गर्न प्रोत्साहित गर्ने र औषधि चलाउने काम गरे,’ कारागारका चौकिदार पासाङ शेर्पाले भने, ‘अहिले धेरैजसो बिसेक भइसकेका छन् ।’ सिंहका अनुसार अधिकांशमा रुघाखोकी र भाइरल ज्वरो बढेको थियो । २५ जनाका लागि बनाइएको कारागारमा १ सय ३३ जना छन् । यो क्षमताभन्दा पाँच दोब्बर बढी संख्या हो । संख्या बढेसँगै सरसफाइ, शौचालय, पानी र सुत्ने ठाउँको समस्या हुँदा संक्रमण हुने गरेको छ ।


पाँचथर कारागारका बन्दी पनि भाइरल ज्वरोले बिरामी परेका छन् । कारागार शाखाका विमल ढुंगानाका अनुसार २५ जना क्षमताकै यो कारागारमा १ सय ५० पुरुष र १८ महिला छन् । दिनहुँजसो दुई/तीन जनालाई अस्पताल लैजानुपरेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?