बैंक ह्याकसम्बन्धी अनुसन्धान सुरु
सिरहा — ह्याकर समूहले लहानस्थित कृषि विकास बैंक शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरेको देखिएपछि प्राविधिक विशेषज्ञ टोलीले मंगलबार रातिदेखि लहानस्थित कार्यालयबाट अनुसन्धान सुरु गरेको छ ।
बैंकको प्रविधि दुरुपयोग गरी अवैद्यरुपमा रकम झिकिएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अपराध अनुसन्धान अधिकृत सहित सूचना प्रविधि विशेषज्ञसहित ३ जनाको टोलीले मंगलबार राति १२ बजेबाट छानबिन सुरु गरेको बैंकका क्षेत्रीय निर्देशक धनेन्द्र अधिकारीले जानकारी दिए ।
लहानस्थित शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर भएको घट्ना मंगलबार बाहिरिएसँगै टोली आइपुगेको हो । टोलीमा संलग्नको नाम भने सार्वजनिक गरिएको छैन । कार्यालय समयमा सेवाग्राही रकम कारोबारका लागि पुगेपनि बैंकले छानबिन भइरहेको भन्दै केहीघण्टाका लागि सेवा बन्द गरेको जनाएको थियो ।
टोलीले लहानस्थित बैंकमा कार्यरत कर्मचारीलाई समेत कार्यकक्षमा जान नदिइकन अनुसन्धान गरेको थियो । आवश्यक परेका बेला बोलाउने गरेको कर्मचारीले बताए । बैंक स्रोतका अनुसार अनुसन्धानका क्रममा लहान शाखाले प्रयोग गर्दै आएका ७ वटैं कम्प्युटर हेरिएको थियो । सात वटै कम्प्युटरलाई शिलबन्दी गरेको बैंकका शाखा प्रबन्धक रामसेवक यादवले जानकारी दिए ।
स्रोतका अनुसार अनुसन्धानका क्रममा लहान शाखाको पासवर्ड प्रयोग बैंककै विभिन्न ५ वटा अन्य शाखाबाट प्रयोग भएको देखिएको तर प्रारम्भिक अनुसन्धानमा लहान शाखाबाट पासवर्ड प्रयोग भएको देखिएको छैन । बैंकका अनुसार प्रविधि दुरुपयोग गरी बैंकको ४ करोड ७८ लाख बाहिर ट्रान्सफर गरेको देखिएको र १९ लाख रुपैयाँ झिकिएको छ । अनुसन्धान टोली साँझ फर्किएका छन् । शाखा प्रबन्धक यादवले अनुसन्धानका क्रममा रहेकाले घटनाबारेमा थप जानकारी नभएको बताए ।