कांग्रेसको गुट–उपगुट अधिवेशनसम्म मात्र : शशांक 

डम्बरसिं राई

खोटाङ — कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसभित्रको गुटको कलह आगामी अधिवेशनसम्मका लागि मात्र रहने बताएका छन् ।

कांग्रेसको गुट–उपगुट अधिवेशनसम्म मात्र : शशांक 

बुधबार बिहान प्रेस युनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले गुट–उपगुट कमजोरहरुले मात्र गर्ने भएकाले अब आगामी अधिवेशनले त्यसको अन्त्य गर्ने बताएका हुन् ।


कांग्रेस जनताको अपेक्षा बोकेको पार्टी भएकाले अन्तर कलहले पार्टीलाई क्षति पुर्‍याउने भएकाले यसको अन्त्य गर्न पार्टी नेतृत्वको जिम्मेवारी हुनुपर्ने बताए । ‘कमजोरहरुले गुट–उपगुट चलाउँछन् ।’ उनले भने,‘आउने अधिवेशनसम्म त्यसको अन्त्य हुन्छ ।’


वर्तमान सरकार काण्डै काण्डमा फसेकाले विकासको कुनै काम गर्न नसकेको नेता कोइरालाको भनाइ छ । ‘निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड जस्ता काण्डले भरिएको छ ।’ कोइरालले भने,‘यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्‍यो ।’


वर्तमान सरकारले संविधानको समेत रक्षा गर्न नसक्ने अवस्था आएकाले त्यसका लागि कांग्रेसले खबरदारी गरिरहेको कोइरालाले बताए । ‘दुई तिहाईको दम्भ पालेर संविधानमाथि नै संकट पैदा गरेको छ ।’ कोइरालाले भने,‘संविधानको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी भएकाले भद्र तरिकाले प्रस्तुत भइरहेको छ ।’


कोइरालाले थपे, ‘जनताले भरोसा गरेको पार्टी भएकाले प्रतिपक्षमा बसेर रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन ।’ कोइराला जागरण अभियानका लागि मंगलबार खोटाङ आएका हुन् ।

प्रकाशित : आश्विन ८, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?