२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बाजुराको स्याउ पहिलो पटक बजारमा 

अर्जुन शाह

(धनगढी) — बाजुरामा उत्पादित स्याउ धनगढीको बजारमा पुर्‍याइएको छ । यसअघि बजारमा पुर्‍याउन नसकेर सडेर जाने स्याउ पहिलो पटक बजारमा पुगेको हो । बाजुराकै एक सहकारी संस्थाले बुधबार बिहान धनगढी ल्याइपुर्‍याएको उक्त स्याउ यहाँको बजारमा यसअघि बिक्रि भइरहेको मूल्यभन्दा सस्तोमा उपलब्ध हुने सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

बाजुराको स्याउ पहिलो पटक बजारमा 

विगतका वर्षहरुमा बजार नपाएर बारीमै कुहिने अवस्था थियो । यो वर्ष कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएर जुकोटमा उत्पादित स्याउ बजार पुर्‍याउने व्यवस्था मिलाएको हो । ज्ञान केन्द्रले ६ सय क्विन्टल स्याउ ढुवानीका लागि प्रति किलो १८ रुपैयाँ अनुदान दिएको हो । जुकोटदेखि पीलुचौरसम्म खच्चडमा ढुवानी गराएर त्यहाँदेखि कालिकोट, सुर्खेत हुँदै धनगढी पुर्‍याइएको सहकारी संस्थाका अध्यक्ष मेघराज शाहीले बताए । उनले काठमाडौं पनि पुर्‍याउने योजना रहेको बताएका छन् ।


पहिलो लटमा ६० क्विन्टल स्याउ धनगढी पुर्‍याइएको छ । प्रतिकिलो एकसय रुपैयाँमा उक्त स्याउको बिक्रि मूल्य रहेको शाहीले बताए । आफ्नै पहाडमा फलेको ‘अर्ग्यानिक’ स्याउ सस्तोमा किन्न पाएपछि धनगढीमा उपभोक्ताहरु बिहानैदेखि ट्रककै वरिपरि झुम्मिएका थिए ।


बजारमा भारतबाट आउने स्याउको मूल्य डेढ सय प्रतिकिलो रहेको छ ।

स्याउको भण्डार मानिने स्वामीकार्तिकको जुकोटर साप्पाटामा फलेको स्याउ बारीमै पुगेर कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले ग्रेडिङ गरेर ढुवानी व्यवस्था मिलाएपछि किसानहरु पनि खुसी भएका छन् ।


जुकोटका रमबहादुर शाहीले भने, ‘यस अघि ढुवानी व्यवस्था नहुँदा पशु चौपायालाई ख्वाउनुपर्ने अवस्था थियो । पहिलोपटक किसानहरुले आफ्नो उत्पादनबाट आम्दानी पाएका छन् ।’ कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत जैशीका अनुसार यहाँका किसानले २ सय ३० हेक्टरमा स्याउ लगाएका छन् । यो वर्ष १ हजार ५० टन स्याउ उत्पादन भएको उनले बताए ।


प्रकाशित : आश्विन ८, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?